
महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएसँगै चार्ल्स तृतीय बेलायतको नयाँ राजा बनेका छन्।
आफ्ना बुबा राजा जर्ज छैटौँको मृत्यु पछि सन् १९५२ को फेब्रुअरीमा एलिजाबेथ बेलायत सिंहासन सम्हाल्ने छैटौँ रानी बनेकी थिइन्। उनले बेलायती इतिहासमा सबैभन्दा लामो समय ७० वर्षभन्दा बढी समय शासन गरिन्।
एलिजाबेथको मृत्युसँगै उनका जेठो छोरा चार्ल्स राजाको रूपमा सिंहासनमा पुगेका छन्। यससँगै चार्ल्सका जेठो छोरा विलियम सिंहासनको लागि पहिलो उत्तराधिकारी बनेका छन्।
राजा चार्ल्स तृतीय
चार्ल्स तृतीय सन् १९४८ नोभेम्बर १४ मा जन्मिएका हुन्। चार्ल्सले सबैभन्दा लामो समयसम्म सिंहासनको लागि कुरेका थिए। उनी तीन वर्षको उमेरदेखि नै उत्तराधिकारी थिए।
चार्ल्स विश्वविद्यालयको डिग्री हासिल गर्ने पहिलो शाही उत्तराधिकारी हुन्। उनी वेल्सकी राजकुमारी डायनासँग १९८१ देखि १९९६ सम्म वैवाहिक सम्बन्धमा थिए। उनीहरुका दुई छोरा छन्, राजकुमार विलियम र ह्यारी।
पढ्नुस : अब बेलायतमा गुञ्जिनेछ 'गड सेभ दी किङ', नयाँ राजा बने चार्ल्स तृतीय
सन् १९९७ मा पेरिसमा प्रेमी डोडी फयेद र चालक हेनरी पलसँगै डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि २००५ मा चार्ल्सले कोर्नवालकी डचेज कमिलासँग विवाह गरेका थिए।
राजकुमार विलियम
विलियम सन् १९८२ जुन २१ मा जन्मिएका हुन्। कर्नवालका ड्युक विलियम उत्तराधिकारीको लागि पहिलो पङ्क्तिमा छन्। उनले शाही परिवारमा उच्चतम शैक्षिक डिग्री हासिल गरेका छन्। सन् २००६ देखि २०१३ सम्म सेनामा सेवा गरेका उनले १५० भन्दा बढी हेलिकप्टर खोज तथा उद्धार कार्यमा भाग लिएका छन्।
उनले कोर्नवालकी डचेज क्याथरिनसँग २०११ मा विवाह गरेका हुन्। उनीहरुका तीन सन्तान छन् : राजकुमार जर्ज (९ वर्ष), राजकुमारी चार्लोट (७ वर्ष) र राजकुमार लुइस (४ वर्ष)।
राजकुमार जर्ज
सन् २०१३ जुलाई २२ मा जन्मिएका प्रिन्स जर्ज हाल ९ वर्षका भए। जर्ज अहिले उत्तराधिकारीको दोस्रो पंक्तिमा छन्। आफ्ना हजुरबुवा प्रिन्स चार्ल्स र बुबा प्रिन्स विलियमको शासनकाल पछि राजा बने भने उनी बेलायतको ४३औँ राजा हुनेछन्।
जब रोकियो इतिहास : तस्विरमा महारानी एलिजाबेथको शासनकाल
तर, अहिलेको लागि उनले आफ्नो शिक्षामा ध्यान दिइरहेका छन्। जर्ज हाल आफ्नी बहिनी राजकुमारी चार्लोट र भाइ राजकुमार लुइससँग विन्डसरस्थित ल्याम्ब्रोक स्कुलमा पढ्छन्।
राजकुमारी चार्लोट
राजकुमारी चार्लोट सन् २०१५ मे २ मा जन्मिएकी हुन्। उत्तराधिकारीको तेस्रो पङ्क्तिमा रहेकी राजकुमारी चार्लोटको जन्म 'अधिक न्यायपूर्ण युग'मा भएको थियो। २०११ मा बेलायती राजतन्त्रले उत्तराधिकारको लाइनमा पुरुष उत्तराधिकारीहरूलाई प्राथमिकता दिने नियमलाई खारेज गरेको थियो।
राजकुमार लुइस
राजकुमार लुइस हाल ४ वर्षका भए। लुइस सिंहासनको लागि चौथो पङ्क्तिमा छन्। शाही परिवारको लागि निकै व्यस्त समयमा उनको जन्म भएको थियो। राजकुमार ह्यारी र मेघनको विवाह हुनु केही हप्ता अघि मात्रै उनी जन्मिएका थिए।
ससेक्सका ड्युक राजकुमार ह्यारी
राजगद्दीको पाँचौँ पङ्क्तिमा रहेका राजकुमार ह्यारी सन् १९८४ सेप्टेम्बर १५ मा जन्मिएका हुन्। ह्यारीले पनि सेनाको तालिम लिएका थिए।
२००८ मा बेलायती रक्षा मन्त्रालयले ह्यारीले डिसेम्बर २००७ देखि चार महिनाको मिसनमा अफगानिस्तानमा गोप्य रूपमा आफ्नो सेनाको एकाईसँग काम गरेको जानकारी दिएको थियो।
सुरक्षाका कारण उनलाई तुरुन्तै फिर्ता बोलाइएको थियो। तर, पछि सन् २०१२ मा हेलिकोप्टर पाइलटको रूपमा उनी पुनः मिसनमा फर्किएका थिए। झण्डै एक दशकको सेवापछि सन् २०१५ मा उनले सेना छोड्ने घोषणा गरेका थिए।
ससेक्सकी डचेज मेघनसँग ह्यारीले २०१८ मा विवाह गरे। २०१९ को मेमा उनीहरुको पहिलो बच्चा छोरा आर्ची ह्यारिसन माउन्टबेटन-विन्डसरको जन्म भएको थियो। त्यसपछि छोरी लिलिबेट ‘लिली’ डायना माउन्टबेटन-विन्डसरको जन्म जुन २०२१ मा भएको थियो।
पढ्नुस : एलिजाबेथ पोखरा आउँदा सेलरोटीको स्वागत द्वार बनाएर गरिएको थियो स्वागत
२०२० को प्रारम्भमा उनीहरुले बेलायती शाही परिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफूहरु पछि हटेको घोषणा गरेका थिए। उनीहरु अहिले अमेरिकामा बस्छन्।
ह्यारीपछि बेलायती राजगद्दीको उत्तराधिकारी उनका छोरा र छोरी छन्। उनीहरु पछि राजगद्दीको उत्तराधिकार अरु सदस्यमा जान्छ।
हेर्नुस बेलायती राजपरिवारको 'फेमिली ट्री' Photo : CNN