PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पलदेखि सन्दीपसम्म : ६ महिनाभित्रका यी तीन केस जसले दिन सक्छ गजबको सन्देश



सविन ढकाल

पलदेखि सन्दीपसम्म : ६ महिनाभित्रका यी तीन केस जसले दिन सक्छ गजबको सन्देश

काठमाडौं : पछिल्लो ६ महिनामा हाइप्रोफाइल जोडिएका तीन वटा यौन अपराध घटना बाहिरिए जसले नेपाली समाजलाई नै तरङ्गित बनायो। यौनकै विषयका तीन फरक प्रकृतिका यस्ता अपराधका घटनाले कानुनी बहससँगै यसको संवेदनशीलता कुन हदसम्म छ भन्ने पनि चिनायो।

पहिलो घटना हो अभिनेता पल शाहसँग जोडिएको प्रकरण। पक्राउ परेको ६ महिनापछि जवर्जस्ती करणीको मुद्दा खेपिरहेका शाहले त्यसमा सफाइ पाए। तर त्यसैसँगै जोडिएको बाल यौन दुर्व्यवहारमा भने दोषी ठहरिए र साढे दुई वर्ष कैद सजाय भोग्दैछन्। त्यस्तै, गत मंगलवार मात्रै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ जिल्ला अदालत नवलपुरले।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेमजालमा पारेर करणी गरेको आरोप लागेको थियो उनीमाथि। त्यस्तै, नवलपुरमा पनि यस्तै प्रकृतिको अपराध भएको भन्दै तिनै पीडितले उजुरी दिएकी थिइन्। नवलपुर जिल्ला अदालतले फैसला सुनाए पनि तनहुँ जिल्ला अदालतमा भने मुद्दा विचाराधीन छ।

नवलपुर अदालतको फैसलाले अभिनेता शाहले जवर्जस्ती नगरेको भनेको छ तर कम उमेरकी किशोरीसँग यौन सम्बन्धराखेको चाहिँ मानेको छ। १८ वर्ष नपुगी हुने यौन सम्बन्धलाई नेपालको कानुनले दण्डनीय मानेको छ। घटना भइसकेपछि पनि पल र पीडित किशोरीको नियमित भेटघाट र घटना बारेका विभिन्न कुराकानी बाहिरिएको छ।

मानवअधिकारकर्मी तथा अधिवक्ता मोहना अन्सारी पल शाहको केसमा फैसला नै त्रुटिपूर्ण मान्छिन्। अभियोग पत्रमा माग दाबी गरेको भन्दा फरक तरिकाले फैसला आएको उनको दावी छ। करणी भनेपछि सहमतिमा नहुने उनको तर्क छ।

'यो मागदाबी भन्दा फरक फैसला आएको हो। यसमा सरकारी वकिलले थप अपिल गर्नुपर्छ,' अन्सारीले भनिन्। अभिनेता पलदेखि अन्य व्यक्तिले पीडित किशोरीलाई विभिन्न प्रलोभनमा होस्टाइल गरेको आरोप अन्सारीको छ। तर, अदालतले फैसलामा भने यौन सम्बन्ध सहमतिमैभएको व्याख्या गरिदिएको छ।

+++

पल शाहको घटना बाहिरिएको केही समयमा नै अर्को घटना सार्वजनिक भयो। आठ वर्षअघि १६ वर्षको उमेरमा बलात्कारमा परेको घटना एक युवतीले उजागर गरिन्। हदम्यादको कानुनी व्यवस्थालाई लिएर उनको मुद्दामा चर्को बहस भयो। हदम्यादकै आधारमा पीडकले उन्मुक्ति पाउने देखियो। आरोपितलाई पक्राउ गर्न नै कानुनी आधार पाउन कठिन भयो प्रहरीलाई। जनदवावले यसमा रुल गर्‍यो। अन्ततः आरोपी ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे समातिए। जिल्ला अदालतले पुर्पक्षको लागि उनलाई थुनामा पठायो। सँगै कानुन संशोधनको विषय पनि अगाडि बढ्यो। संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले यसअघि कायम रहेको हदम्याद बढाउन प्रस्ताव गरेर पठायो। यस घटनामा पनि पीडितको उमेर १८ वर्षभन्दा कम नै थियो। अभियुक्त पाण्डेले किशोरीलाई सौन्दर्य प्रतियोगिताको नाममा विभिन्न प्रलोभनमा पारेर अपराध गरेको पुष्टि गर्ने आधारहरु पनि भेटिए। बलात्कृत भएको दावी गर्ने पीडित किशोरी उक्त घटनापछि डिप्रेसनमा पुगिन्। उनले अपराधका विरुद्ध बोल्न सकिनन्। लामो समयको काउन्सिलिङपछि भने उनले सोसल मिडियाबाट आफूमाथि भएको सबै घटना बेलिविस्तार लगाइन्। सोसल मिडियाबाट आएको उनको अभिव्यक्ति र तत्कालीन अवस्थामा उनीसँग जोडिएका व्यक्तिको बयानले प्रहरीलाई अभियुक्तसम्म पुग्ने बाटो खुला गर्‍यो।

'हाम्रो समाज छोरी र बालिकामैत्री छैनन्। हेर्ने र व्यवहार गर्ने सोच नै फरक देखिन्छ। त्यही कारणले पनि विभिन्न प्रलोभन पारेर घटना गराएको देखिन्छ,' समाजशास्त्री डाक्टर मीना उप्रेती भन्छिन्,'यस्ता अपरिपक्क किशोरीलाई प्रलोभनमा पारेर अपराध भएका छन्।'

+++

सौन्दर्य प्रतियोगिताको नाममा गरिएको अपराधको घटना सेलाउन नपाउँदै अर्को हाई प्रोफाइल केस सार्वजनिक भएको छ हालै। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यस्तै कम उमेरकी किशोरी बलात्कारको प्रकरणमा मुछिएका छन्। आफ्नै फ्यानलाई नियोजित रुपमा बलात्कारको मुद्दा दर्ता भएको छ उनी विरुद्ध।

गएको भदौ ६ गते टी-२० को मैत्रीपूर्ण खेलका लागि केन्या जानु एक दिन अघि सामाजिक सञ्जालबाट जोडिएकी एक किशोरीलाई उनले बलात्कार गरेको आरोप छ। बन्द प्रशिक्षणमा रहेका कप्तान लामिछाने क्यानलाई नै झुक्क्याएर १८ वर्ष नपुगेकी किशोरीसँग रातभर बाहिर रहेको सबै हिसाबले पुष्टि भइसकेको छ। ती किशोरीले प्रहरीमा दिएको उजुरीले प्रस्ट सङ्केत गर्छ -सन्दीप आकस्मिक हिसाबमा भक्तपुरदेखि नगरकोटसम्म पुगेका होइनन्। व्यस्त सेड्युलमा पनि सन्दीप किशोरीलाई भेट्न जानु र पछि प्रहरीमा उजुरी पर्नुले उनको करिअरलाई भिरतिर धकेलिदिएको छ। नाबालिगकरणीको उजुरीसँगै नेपाली क्रिकेटका 'हिरो' एकाएक 'भिलेन'मा परिणत भएका छन्।

आफ्नो स्टारडमको फाइदा उठाउँदै उनले अपराध गरेको देखिएको छ। सन्दीपले सोसल मिडियाबाट आफूमाथिको आरोपको खण्डन गरेका छन् तर परिस्थिति उनले भनेजस्तो देखिन्न। नेपाल बाहिर नै रहेका सन्दीपको केसमा प्रहरीले अनुसन्धान गरिरहेको छ र धेरै महत्वपूर्ण प्रमाणहरू सङ्कलन गरिसकेको छ। के उनको हाइ प्रोफाइल पहिचानले उनलाई जोगाउला त?शंका गर्नेहरु छन्।

'समाजले सेलिब्रेटिको संज्ञा दिँदै बचाउमा तर्क गरिरहेको छ। यसले सामाजिक विचलन ल्याएको छ। यहाँ परिपक्क पीडकको बारेमा प्रश्न गरिँदैन बरु अपरिपक्क पीडित किशोरीलाई नै गलत देखाउन कुतर्कहरु अगाडि सारिरहेका छन्,' समाजशास्त्री उप्रेती भनिन्।

+++

६ महिना भित्रका यी तीन घटनालाई सरसर्तीकेलाउँदा स्टारडम, सहमति र प्रलोभन तीन दृष्टिकोण प्रष्ट छुटिन्छ। यी तीनवटैघटनामा १८ वर्षभन्दा कम उमेरका किशोरी परेका छन्। प्रतिकार गर्न नसक्ने उमेर समूहका भएकाले पनि यस्ता घटनामा १८ वर्षभन्दा कम उमेरका किशोरी पर्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन्।

हाई प्रोफाइल केसले के सिकायो नेपाली समाजलाई ?

समाजले सेलिब्रिटी मानेका पात्रहरु यसरी उदाङ्गिनु आफैँमा नराम्रो हो। तर,यी चर्चित पात्रहरु जसरी दोषको भागेदार बन्दैछन् त्यसले नेपाली समाजलाई राम्रो योगदान पनि गरिरहेको छ।यौन अपराधप्रति सचेत बनाउन यी प्रकरण 'माइलस्टोन' बन्न पनि सक्छन्। तर,नेपाली समाज यस्तो अपराधका विषयमा पनि संकुचित नै छ। त्यसको उदाहरण हो पल शाह पक्राउको सन्दर्भ।

पल शाह समातिएपछि उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा भएका बहस दुई धारमा विभाजित देखियो। केहीले पीडित किशोरीमाथि उल्टै प्रश्न गर्दै शाहलाई फसाएको आरोप लगाए। सहमतिमा नै भएको घटनालाई लिएर पललाई फसाएको उनीहरूको बुझाइ रहेको थियो। उनीहरूले कानुनी व्यवस्था नै गलत रहेको टिप्पणी समेत गर्न भ्याए।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेका बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्न मिल्दैन। यसरी यौन क्रियाकलाप गरेको देखिएमा जबर्जस्ती करणी मानिने व्यवस्था छ। कानुनी व्यवस्था अनुसार शाहले उन्मुक्ति पाउने अवस्था थिएन। प्रहरीले यसअघि पनि १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा भएका यौन सम्बन्धका केस सार्वजनिक गरेको थियो। अदालतले तिनलाई दोषी ठहर पनि गरेको थियो। तर, हाइ प्रोफाइल व्यक्ति मुछिएपछि मात्रै कानुनी व्यवस्थाका बारेमा धेरैले थाहा पाए।  

कानुनी व्यवस्थालाई नजरअन्दाज गर्दा हाइप्रोफाइल पीडित नै लान्छित हुने अवस्था आयो। त्यतिमात्र होइन,सेलिब्रिटी पोस्चरले पीडितलाई नै होस्टाइल बनाएका घटना सार्वजनिक भए। पलको प्रकरणमा किशोरीले मुद्दा फिर्ता लिन खोज्नु त्यसको उदाहरण हो। सन्दीपको केसमा पुन:होस्टाइल बनाउन सक्ने सम्भावना उत्तिकै छ। हाइप्रोफाइल केस भएको र क्रिकेट एसोसिएसनले यस विषयमा ढिलोगरी मात्रै आफ्नो मुख खोल्नुले सन्दीपलाई जोगाउन खोज्नेहरुले पलमाथि लागेको आरोपकै शैली नअपनाउलान् भन्न सकिन्न।   

तर, यौनका विषयमा छलफल गर्न बन्चित गर्ने सामाजिक सोचमा भने पछिल्ला तीन घटनाले हमला नै गरेको छ। अभिभावकले आफ्ना सन्तानलाई यिनै केसबाट यौन शिक्षा दिने आधार बनेको छ। कानुनको व्याख्यालाई बुझाउने आधार तय भएको छ। अपराध निरुत्साहन गर्ने आधार समेत बनेको छ।सन्दीपमाथि लागेको आरोप पुष्टि भएमाअथवा पल शाहले माथिल्लो अदालतमा दायर गरेको मुद्दाबाट पनि जिल्लाकै फैसला सदर भएमा कम उमेरमै जानजानी वा अन्जानमै भइरहेको यौन अपराध केही हदसम्म कम हुनसक्छ। कानुन सबैका लागि समान छ र हाइ प्रोफाइल भन्दैमा उन्मुक्ति मिल्दैन भन्ने स्थापित हुनु न्यायालयप्रति विश्वास जगाउने आधार बन्न सक्छ। 

'हाइप्रोफाइल मात्र होइन, उनीहरु पपुलर पनि छन्। यस्तो अपराध गरेमा सबैलेसजाय भोग्नुपर्ने रहेछ भन्ने सन्देश समाजमा सबैभन्दा चाँडो फैलिनसक्छ,' उप्रेतीले भनिन्।

सम्बन्धित समाचार

दिनभर घुमाएर राती होटेलमा पुर्‍याएर लामिछानेले पटकपटक करणी गरेको युवतीको आरोप, प्रमाणले देखिए विमानस्थलबाट नै पक्राउ पर्ने

जबर्जस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेविरुद पक्राउ पुर्जी लिने प्रहरीको तयारी

सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?

सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, अब विमानस्थलबाटै पक्राउ गर्न सक्ने

'योजनाबद्ध' देखिँदै सन्दीपको केस : कफीको बहानामा किशोरीलाई ट्रयापमा पारेर होटेलको यात्रा!

सन्दीपको प्रतीक्षामा प्रहरी : कहिले फर्किएलान् नेपाल? नफर्किए के हुन्छ 'केस'?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell