PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

तनहुँमा गगनको त्यो 'एन्टी स्पिच' र देउवाले बाँडेको 'ललिपप' जसले बनायो स्वर्णिमको पक्षमा माहोल



नेत्र तामाङ

तनहुँमा गगनको त्यो 'एन्टी स्पिच' र देउवाले बाँडेको 'ललिपप' जसले बनायो स्वर्णिमको पक्षमा माहोल

काठमाडौं : चैत २० मा चुनावी कमान सम्हाल्न महामन्त्री गगन थापालाई नेपाली कांग्रेसले तनहुँ खटायो। पार्टीबाट गोविन्द भट्टराईले उम्मेदवारको मनोनयन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भर्खर कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका स्वर्णिम वाग्ले प्रतिस्पर्धामा उत्रिएका थिए। वाग्ले तिनै व्यक्ति हुन् जसले सधैं कांग्रेसमा गगन थापालाई 'ग्लोरिफाइ' गर्न हरदम तत्पर रहन्थे। युथ कांग्रेस र प्रोजेक्ट गभर्मेन्ट चलाउँदै अघि बढेका गगनको 'हाइहाइ' पनि चुलिँदो नै थियो। धेरैलाई लाग्थ्यो – गगनका बलिया सम्बोधनका पछाडि स्वर्णिम कारण हुन्।

गएको मंसिरमा चुनावी म्याराथनमा रहेका गगनको पक्षमा माहोल बनाउने मध्येका एक थिए स्वर्णिम। त्यतिबेला गगनले भावी प्रधानमन्त्रीका रुपमा आफ्नो दावेदारी पेश गरेका थिए। काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई आकर्षित गराउँदै थिए गगन। उनलाई साथ दिँदै स्वर्णिमले गगनलाई प्रधानमन्त्रीका रुपमा चाँडै हेर्न चाहेको बताएका थिए।

‘गगन थापा मेरो साथीमात्र होइनन्, उनी मेरो नेता पनि हुन्,’ युथ कांग्रेसको कार्यक्रमलाई गत कात्तिक ६ गते सम्बोधन गर्दै वाग्लेले भनेका थिए, ‘उहाँ यो देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्छ भन्ने मत राख्ने मान्छे हुँ।’

मंसिरको निर्वाचनमा स्वर्णिमले टिकट पाएनन्। यसपटक उपनिर्वाचनमा उनले टिकटको अपेक्षा गरेका थिए कांग्रेसबाट। उम्मेदवार समेत बन्न पाउने छाँट नदेखिएपछि चैत १६ गते उनी कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवामाथि कडा आक्षेप लगाउँदै कांग्रेसबाट बाहिरिए। रोक्न खोज्नेले नभेटुन् भनेर मोबाइल नै स्वीच अफ गरे। त्यस अघि उनले डा शेखर कोइराला, महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मालाई कांग्रेस छाड्नुको पृष्ठभूमिसहितको म्यासेज पठाएका थिए - ‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।’

अप्रत्यासित सन्देश पाएपछि धेरैतिरबाट खोजी भयो उनको। लगत्तै उनले फेसबुकबाट कांग्रेस छाडेको घोषणा गरे।

'विस २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,' वाग्लेले कांग्रेस छाड्दै भनेका थिए।

 

गगनको त्यो एन्टी स्पिच

उप निर्वाचनमा सबैभन्दा निकट मानिएका गगनलाई नै उनीविरुद्ध चुनावी अभियानमा खटायो कांग्रेसले। चैत २० गते दमौलीमा गगनले स्वर्णिमविरुद्ध यस्तो आक्रोशयुक्त अभिव्यक्ति दिए कि – गोविन्दको हारको कारण बन्यो। यसो त कांग्रेसमा संस्थापनइतरका नेताहरुले गगनलाई पार्टी सभापति देउवाले आगोको भुङ्ग्रोमा झोसेको आरोप पनि लगाउँछन्। भुङ्ग्रोमै पठाएको भएर होला महामन्त्री गगनले स्वर्णिमविरुद्ध आगो ओकले। गगनका प्रिय स्वर्णिमविरुद्धको त्यो अभिव्यक्ति कसैका लागि पनि प्रत्यासित थिएन।

'यसपटक चुनावमा जाँदा सँगसँगै एउटा गीत बजेको सुन्नुहुनेछ। पुराना पार्टी खराब भए भनेर। नो नट अगेन भनेर। पहिलो पटक २० सिट ल्याएर आएको हामीले हेर्‍यौं,' गगनले भनेका थिए, 'हामी पनि एउटा सपना लिएर राजनीतिमा आएका छौं। हामीलाई पनि पार्टी बदल्न चाहना छ। नेपाली कांग्रेसभित्र जे भइरहेको छ त्यो सबै त ठीक भइरहेको छैन। तर नेपाली कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराव भनेर ढुंगा हानेर झ्याल फुटाएर कांग्रेस बदलिन्छ? कांग्रेस बदल्न त्यही भित्र बसेर संघर्ष गर्नुपर्छ। यो संघर्ष हामीले पनि गर्ने हो।'

स्वर्णिमविरुद्ध गगनको 'एन्टी स्पिच' यस्तो थियो कि जसले सिंगो कांग्रेसको मुख्य ‘टार्गेट’ नै स्वर्णिम जस्तो सुनियो। कांग्रेसमा पार्टी सभापति देउवाको कार्यशैलीको कट्टर आलोचक भएकैले चर्चा कमाएका गगनको यही एन्टी स्पिचले तनहुँमा स्वर्णिमको पक्ष माहोल बनायो।

 

देउवाको ललीपप पनि उस्तै

तनहुँ १ कांग्रेसको गढ मानिने क्षेत्र हो। यहाँबाट मंसिरमा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भए। पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँग यहाँ उपनिर्वाचन भयो। राष्ट्रपति बनाएर पठाउने तनहुँले भट्टराईलाई जिताउने कांग्रेसको आँकलन थियो। किनकि भट्टराई तनहुँमा भिजेका र अवसर नपाएका नेतामा गनिन्थे।

गगनलाई चुनावी कमान्डरका रुपमा खटाए पनि पार्टी सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ डुम्रे पुगेर चुनावी अभियानमा सहभागिता जनाए। त्यहाँ देउवाले गोविन्दलाई जिताएर पठाएमा मन्त्री बनाइदिने ललिपप बाँडे।

वैशाख ६ गते डुम्रेमा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका गोविन्दलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने वाचा गरे जसलाई जनताले पत्याएनन्।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवाको होमा हो मिलाए।

'शेरबहादुरजीले गोविन्दजीलाई मन्त्री हुनुहुन्छ भन्नुभयो, म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो अहिले। यो मञ्च लक्की। रामचन्द्रजीलाई झै अत्याधिक मतले जिताइदिनु होला। बाँकी काम शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो। म उहाँसँगै छु,' प्रचण्डले भनेका थिए।

न देउवाको बोली बिक्यो न त प्रचण्डको नै।

'यही क्षेत्रबाट चुनाव जितेर मन्त्रीमात्र हैन राष्ट्रपति नै बनिसकेका छन्। उनीहरुले केही गरेका छैनन्। अनि मन्त्रीको ललिपप जनताले कसरी पत्याउने?', तनहुँका एकजना नेपाली कांग्रेसका नेताले भने।

यसो त सभापति देउवा मत माग्न तनहुँ पुगे भने स्वर्णिम जित्ने आधार तय हुने राजनीतिक विश्लेषक पुरन्जन आचार्यले वैशाख ४ गते नै बताएका थिए। 'शेरबहादुरजीलाई तनहुँमा पठाए कांग्रेस हार्ने पर्याप्त कारण यही बन्छ,' ४ गते आचार्यले भनेका थिए

गोविन्दराज फ्याक्टर उस्तै

यस क्षेत्रमा मतदाताको बदलिँदो मानसिकतालाई बुझेर जाने भन्दै गोविन्दराज जोशीको कारबाही नेपाली कांग्रेसले फुकुवा गरेर चुनावी चालमा केही गति लिन नखोजेको होइन। अघिल्लो चुनावमा आफूलाई हराउन लागिपरेको झोकमा रामचन्द्र पौडेलको दवावमा जोशीलाई देउवाले डण्डा चलाएका थिए। शितल निवासमा पौडेलको सेफ ल्यान्डिङ गरेपछि कारबाही फुकुवा भयो। कांग्रेस अफ्ट्यारोमा परेपछि आफूमाथिको कारवाही फुकुवा भएको बुझ्न जोशीलाई कुनै आइतवार कुर्न परेन। त्यही मेसोमा जोशीले वार्गेनिङ भ्याए – आफू र छोरा दीपकराजलाई सेटल गर्नुपर्ने। यतिमात्र हैन जोशीले आफ्ना गुटका नेतालाई पार्टीमा ठाउँ दिनुपर्ने माग राखे। उनको बार्गेनिङलाई कांग्रेसले रुचाएन। जोशी अब कांग्रेसको दायराबाट फ्रि भए। जोशी खुलमखुला रास्वपाको पक्षमा लागेको नदेखिए पनि उनका छोरा दीपकराज भने खुलेरै देखिए।

तालमेलको अफवाह

तनहुँमा मतदानको अघिल्लो राति रास्वपाले एमालेसँग तालमेल गरेको समाचार एकाएक फैलियो। एमालेले उक्त क्षेत्रमा काठमाडौं ६ बाट पराजित सर्वेन्द्र खनाललाई उठाएको थियो। त्यसैले उनलाई कमजोर उम्मेदवारका रुपमा हेरिएको थियो नै। यता स्वर्णिमको पक्षमा बुथमा बस्नेसमेत नभेटिएको ‘अफवाह’ फैलियो।

यस्तो अवस्थामा गठबन्धनले बुथ कब्जा गर्नसक्ने भएकोले एमालेसँग मिलेर प्रतिवाद गर्नुपर्छ भन्ने अभिव्यक्ति रास्वपाबाट आएको खबर फैलियो। यो 'चुनावी फन्डा' भएको दाबी गर्दै रास्वपाका सभापति लामिछानेले आइतवार बिहानै मौन अवधिमै लाइभमै आएर खण्डन गरे।

'रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन। बारा, तनहुँ र चितवन तिनै ठाउँमा भोट घण्टीलाई नै हो। ठूला पार्टीका ठूला नेता ज्यु, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईंको राजनीति बन्द गर्छन्,' रविले फेसबुकमा भिडियोसहित यस्तो खण्डन गरे।

अन्तिम नतिजा नआउँदै तनहुँबाट अहिले कांग्रेस झोली तुम्बी बोकेर काठमाडौं पसिसकेको छ। तनहुँ जिल्ला सभापति जितप्रकाश आले पनि उक्त टिमसँगै काठमाडौं आउँदैछन्।

तनहुँ १ को नतिजालाई कसरी हेर्नुभएको छ?

'राम्रो छैन अहिले,' पहिलोपोस्टको प्रश्नपछि जितप्रकाशको निराश जवाफ सुनियो।

कारण के होला त?

अर्को प्रश्नमा सभापति आलेले भने, 'अहिलेको नयाँ ह्वीम नै हो। प्रारम्भीक समीक्षा यति नै है।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell