PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

कांग्रेसमा छैन चुनावी समीक्षा, जोडतोडले उठ्दै नीति अधिवेशनका कुरा



नेत्र तामाङ

कांग्रेसमा छैन चुनावी समीक्षा, जोडतोडले उठ्दै नीति अधिवेशनका कुरा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसमा नीति अधिवेशनको माग जोडतोडले उठ्न थालेको छ। १७ महिनाअघि भएको १४ औं महाधिवेशनमा विविध कारण देखाउँदै कांग्रेसले नीति तय गर्न सकेन।

त्यतिबेला महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भयो। आउने नयाँ कार्यसमितिले नीति अधिवेशन गर्ने गरी नेताहरु सहमतिमा पुगेका थिए। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ कार्यसमिति आयो। देउवाको पहिलो कार्यकाल जस्तै कांग्रेस फेरि सुस्ताउन थालेको छ।   

देउवा सरकारमा छँदै गठबन्धनमा निर्वाचनमा गएको कांग्रेसले नतिजा ९२ क्षेत्रमा उम्मेदवार उठाउँदा ५७ मा मात्र जित निकाल्यो। यो जितलाई कांग्रेसले ठूलै सफलता मान्यो किनकि अघिल्लो निर्वाचनमा कांग्रेसले २३ सिट मुस्किलले जितेको थियो। निर्वाचनमा जितेपछि ढुक्कले सरकारको नेतृत्व ताकेको कांग्रेसले केन्द्रीय समिति भने ‘फ्रिज’मा राखेको छ।

लडेपछि चोट, नीति महाधिवेनमा जोड  

कांग्रेसमा जबजब चुनावी मैदानमा लड्छ, तब तब विधि र नीतिका कुरा उठाउन थाल्छन् नेताहरु। नभए 'तैँ चुप मै चुप।'

यसपटक पनि भयो त्यस्तै। उपनिर्वाचनमा सत्ता गठबन्धनको गठजोड लगाएर चुनाव लड्दा पनि कांग्रेसले दुवै क्षेत्र जित्न सकेन। बरु बारा २ बाट उपेन्द्र यादवले आफ्नो जनमत जोगायो, कांग्रेसले तनहुँ १ पनि गुमायो। उपनिर्वाचनमा हारले कांग्रेसमा नेताहरुको बल्ल आँखा खुलेको छ।

विधि, विधान र नीतिका कुरा उठ्न थालेको छ। कांग्रेस महामन्त्री गगन थापाले यस विषयमा कांग्रेसले चाँडै मन्थन गर्ने बताएका छन्। वैशाख १८ गते नयाँ बानेश्वरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै थापाले नीति अधिवेशनको माग गरिने बताए। वैशाखको अन्तिममा बस्ने केन्द्रीय समितिमा नीति अधिवेशनको माग राखिने उनको भनाई थियो।

'वैशाख मसान्तमा गर्ने केन्द्रीय समिति बैठकबाट नीति अधिवेशनको मिति तय गर्छ। यो नीति महाधिवेशन नेपाली कांग्रेसको जीवनमा महत्वपूर्ण घटनाका रुपमा रहनेछ,' महामन्त्री थापाले भने। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि वैशाख अन्तिममा बस्ने केन्द्रीय समितिले नीति अधिवेशनको मिति तय गरिने बताएका छन्।

कांग्रेस नेता प्रकाशनमान सिंहले पनि जिल्ला दौडमा निस्कँदा यसबारे जोड दिएका छन्। दोलखा र रामेछाप पुग्दा सिंहले नीति अधिवेशनको माग गरे। नेता सिंहले तत्कालै नीति अधिवेशन गरेर देशभरका नेता कार्यकर्ताको बदलिएको परिस्थितिमा कसरी जान उपयुक्त हुन्छ गहन समीक्षा गरेर अबको बाटो तय गरिनुपर्ने धारणा राखेका हुन्।

नीति अधिवेशनबारे गत असारमै केन्द्रीय समितिमा डा शेखर कोइरालाले माग राखेका थिए। त्यतिबेला डा शेखरले पार्टीमा सभापति शेरबहादुर देउवा हाबी भएको उल्लेख गर्दै नीति अधिवेशनको माग गरेका थिए

बैठकमा शेखरले महाधिवेशनबाट नेतृत्वमात्र चयन भएको तर नीतिमाथि बहस नै नभएको बताउँदै नीति अधिवेशनको माग गरेका थिए। असारको केन्द्रीय समितिमा १२ बुँदे चासो प्रकट गर्दै कोइरालाले भनेका थिए, 'नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व मात्र चयन भयो नीतिका विषयमा कुनै काम हुन सकेन। तसर्थ यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गर्दछु। पार्टी संचालनका सम्बन्धमा मैले विगतका बैठकमा पनि भन्दै आएको छु। विधि, विधानभन्दा माथि हामी कोही छैन। पार्टी विधिसम्मत चल्नु पर्‍यो। पार्टी सबैको हुनुपर्‍यो। केन्द्रदेखि वडा तहसम्म नेतृत्वमा रहेकाले आफूलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको विकास गरियोस्।'

चुनावी समीक्षा छैन नीति अधिवेशनका कुरा!

कांग्रेसले आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो उपनिर्वाचनलाई। टाउको टेकेर लाग्दा पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्न नसकेको कांग्रेस केन्द्रले अहिलेसम्म पनि समीक्षा बैठक डाक्न सकेको छैन। पार्टी सभापति देउवाबाट आश नगरिए पनि दुई युवा महामन्त्रीले समेत यसमा नजरअन्दाज गरेको केन्द्रीय सदस्यहरु बताउँछन्।

'फर्मल समीक्षा गर्नलाई सभापतिले आह्वान गर्नुपर्ला। तर इन्फर्मल समीक्षा गर्न त हाम्रा दुईटा युवा महामन्त्री हुनुहुन्छ। केन्द्रीय कार्यालयमा पटकपटक मिटिङ राख्न सकिन्छ नि। त्यो पनि छैन,' केन्द्रीय सदस्य प्रा डा गोविन्द पोखरेलले भने। कांग्रेसमा संस्थापन इतरले पनि हारको समीक्षा गर्न नसकेको पोखरेलको भनाई छ।

'सभापतिले त गर्नुभएन। युवा महामन्त्री र डा शेखर कोइराला उहाँहरुले कमसेकम ग्रुपको मिटिङ बोलाएर समीक्षा गर्न सकिन्थ्यो नि। ग्रुपले त रिभ्यु गर्नुपर्थ्यो नि। ग्रुपले नगरे पनि दुईटा महामन्त्रीले त अनौपचारिक समीक्षा बैठक पार्टी कार्यालयमा गर्न सक्थ्यो नि,' उनले भने। त्यसैले यस्तो नेतृत्वबाट नीति अधिवेशनको आशा गर्न नसकिने पोखरेल बताउँछन्। भएमा त्यो कर्मकाण्डीमात्र हुने उनको भनाई छ।

'केन्द्रीय समिति बैठक राख्न चाख नदिनेले यो नीति अधिवेशनले कुनै उपलब्धि हासिल होला जस्तो लाग्दैन। यो कर्मकाण्डमात्र हुनेछ,' उनले भने, 'त्यही भएर नीति महाधिवेशनले अहिलेको नेतृत्वको कार्यशैलीलाई बोक्ने र समस्यालाई पर सार्नेमात्र हो।'

पार्टीका युवा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भने नीति अधिवेशनको पक्षमा छन्। यद्यपि, विधानमा नचल्ने नेतृत्वबाट नीति अधिवेशनको अपेक्षा गर्नु बेकार भएको उनको भनाई छ।

'हाम्रो सिस्टमले विधान मिच्दैन भने नीति बनाउँदा केही फरक पर्दैन,' शिवकोटी भन्छन्, 'विधानमै भएको कुरा त हामीले मानिरहेको छैनौं भने? दुई दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति ९ पुग्दा पनि बस्न सकेको छैन।'

महाधिवेशनपछि ६ महिनामै गर्नुपर्ने नीति अधिवेशन हुन नसक्नु नै अचम्म लाग्दो भएको उनको भनाई छ।

'नीति महाधिवेशन गर्नैपर्छ। अस्ति नेतृत्वमात्र चयन भयो। ६ महिनापछि गर्ने भनेको नीति महाधिवेशन खै त अहिलेसम्म भएको? १७ महिना पुगिसक्यो,' शिवाकोटी आक्रोशित सुनिए, 'विधान अधिवेशनको विपक्षमा म हैन। विधान अधिवेशनसँगसँगै लिएका नीतिहरु कार्यन्वयन नहुने, मौजुदा विधानको पालना नहुने। यसलाई पनि नजरअन्दाज गर्नुहुँदैन।'

केन्द्रीय समितिमा पूर्णता दिनै आलटाल!

नेपाली कांग्रेसमा १४ औं महाधिवेशन यता कोषाध्यक्षविहीन छ। विधानअनुसार कार्यसमितिमा एक जना कोषाध्यक्ष हुनुपर्ने हो। तर कोषाध्यक्ष चयनमा महाधिवेशन सकिएको १७ महिना पुग्दा पनि उदासीन छ नेतृत्व। 

विधानअनुसार १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा व्यवस्था छ। तर अझै देउवाले मनोनित गर्नुपर्ने कोटा पूरा गरेका छैनन्।

देउवाले तीन पटक केन्द्रीय सदस्य मनोनित गरिसक्दा पनि कोटा पूरा नभएको हो। पहिलो चरणमा सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए। पौडेलले राष्ट्रपति भएसँगै पार्टीको सदस्यता त्यगिसकेका छन्। त्यसपछि जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।

तेस्रो चरणमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ) कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा(सुनसरी) र सीता देवकोटा (नवलपुर) कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भए।

पदाधिकारीसहित १६७ जना हुनुपर्ने केन्द्रीय समिति अहिले १५६ जनामात्र छन्। कामै नभएको केन्द्रीय कमिटी बढाएर कुनै औचित्य नहुने प्राडा पोखरेल बताउँछन्। 'केन्द्रीय कमिटीको कामै छैन। आसन ग्रहण गर्ने मान्छे किन बढाउनुपर्‍यो केन्द्रीय समितिमा?,' पोखरेलले प्रश्न गरे।

केन्द्रीय सदस्यहरुको भूमिका नजरअन्दाज गरिएको शिवाकोटीको पनि बुझाइ छ।

'केन्द्रीय सदस्यहरुको काम के? खाली पूजा गर्ने नियुक्तिमात्र हो त? कार्यसम्पादन समितिमात्रै भन्या छ,' उनले भने, 'केन्द्रीय सदस्यको भूमिकालाई नजरअन्दाज वा अवमुल्यांकन गर्ने काम नहोस्।'

१२ सालको नजिर दिँदै कांग्रेसमा विशेष महाधिवेशनको माग, शिवाकोटी भन्छन् : नीति अधिवेशनले पार लाग्दैन
कांग्रेस सुधार्न गोविन्द पोखरेलका तीन सुत्र, देउवा अस्वीकृत भएको अवस्थामा नीति अधिवेशन कर्मकाण्डीमात्रै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell