PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बुर्काको देशमा बेल्ली डान्स, बालुवामा पैसाको वर्षा {दुबई डायरी ७}



नेत्र तामाङ

बुर्काको देशमा बेल्ली डान्स, बालुवामा पैसाको वर्षा {दुबई डायरी ७}

डिसेम्बर ४।

दुबई पुगेपछि कुन ठाउँ चाहि नछुटाउने त घुम्न? जानुअघि नै लिस्टिङमा पारेको थिएँ - डेजर्ट सफारी।

दुबईको विकासको रफ्तार देखेर चक्कर लागिरहे पनि सफारी नगई चित्त बुझ्नेवाला थिएन मेरो। हिजो राति पनि अबेरमात्र आइपुगेको थिएँ सुत्न।

इलुजन, अल सिफ हेरिटेज र गोल्ड सोक घुमाई सकेर फर्केपछिको थकाईले बिहान १० बजेसम्म निदाइएछ।

खानपिन गर्दा १२ नै बज्यो। तयारी थालें, साथीहरुसँग बुझ्दै। उत्तर आयो - बिहानै निस्कुपर्थ्यो नि। अबेर भएन र?

दुबई पुगेपछि चिनजान भएको एकजना साथीलाई समस्या सुनाएँ फोनबाट। उनले एउटा ट्राभलको नाम र फोन नम्बर दिए। त्यही फोनमा सम्पर्क गरेको। उत्तर आयो - आजको ट्रिप सकियो।

मलाई भने आज जसरी पनि पुग्नु छ सफारी। किनभने भीम भाईको बिदा आजै परेको छ। उनको अर्को बिदा आउन एक हप्ता कुर्नुपर्छ। काठमाडौं फर्कने दिन पनि नजिकिँदै छ। त्यसैले पनि म कर गर्दैछु भीम भाईलाई।

गुगल जिन्दाबाद!

'डेजर्ट सफारी इन दुबई' कतैबाट सम्भावना नदेखेपछि गुगल गरें। गुगलमा भेटियो एउटा नम्बर। त्यही नम्बर बनिदियो बुटी।

तर, बाँकी रहेछ भिआइपी टिकटमात्र। महँगो पर्ने भयो। आजै नगई नछाड्नेमा परेँ म। एकजनाको १५० दिराम तिरेर हामी जान राजी। दुई जनाको ३०० दिराम। टिकटमा हामीलाई खानेकुरा पनि भएको जानकारी गराइयो। करिब ४ बजे हामीलाई लिन लेकसाइडमा आइपुग्यो सफारी जिप।

अगाडि चार जना रहेछन्- सिंगापुरे। हामी भने पछाडि। ४ बजे हामी सफारी जाँदै छौं। सफारी जाने भनेको छु। कहाँ कुन ठाउँ लाने हो, केही पत्तो छैन। बालुवाको देश न रहेछ। कुन कुनामा लगेर 'यही हो सफारी' भनेर छाड्दिए सक्केन!

तर, म डेजर्ट सफारी पुग्दैछु भनेर मक्ख परेको छु। मनले कहाँ मान्थ्यो। कतिखेर पुगिन्छ भनी चालकलाई सोधें। एक घन्टामा पुगिने जानकारी दिए उनले।

गाडी रोकिएपछि चिसिएको मन

झन्डै ४५ मिनेटमा बालुवा नै बालुवा भएको ठाउँमा रोकियो हामी चढेको गाडी। त्यहाँ दुई चार जना मान्छे र दुई चार गाडीमात्र देखिए। अरु केही देखिएन। बस, त्यही बालुवाको संसार। हैट् यस्तै पो रहेछ सफारी भनेको? अब यतै हिँड्ने होला। यही होला सफारी भनेको - मन चिसो भयो। लत्रक्क परें। दुखी मन लिएर झरे गाडीबाट।

उराठै लाग्यो। तैपनि 'एक दुई सट फोटो खिचम न चिनो' भनेर हामीलाई ल्याउने गाडीलाई ब्याकग्राउन्ड बनाएर फोटो खिचायौँ। सिंगापुरेले फोटो खिचिदिए। 'अरे भाइसाब जल्दी करो। कार जा रही हे,' त्यहीबेला हाम्रा चालक आग्रह गर्न आए।

'कहाँ जा रही हे,' झर्केर सोधेँ। भर्खर आएको छु। एकछिन नबसी सफारी सकाएर जाने? मलाई चर्को रिस उठ्यो।

बाँकी पो रहेछ सफारी त!

'भाइसाब सफारीके लिए कार जा रही हे,' उ नम्र भएर बोल्यो। मैले सोचेको थिएँ। हाम्रो सफारी यहीँ सकियो। तर, ती चालकको कुरा सुनेपछि लाज पो लाग्यो। अनि उत्साहित पनि भएँ। सफारी त बाँकी नै पो रहेछ। सिंगापुरेहरु अघि नै कारमा बसिसकेका रहेछन्। हामी दुई भाइ पनि गयौँ र बसेँ पछाडिको सिटमा। हाम्रा चालक भने त्यही अडिए।

हामी चढेको गाडी एकैछिनमा बालुवामाथि हुइँकिन थाल्यो। गाडी कहिले दाहिने कोल्टिन्थ्यो त कहिले देब्रे। त्यसरी कोल्टिँदा हामीमाथि बालुवा बर्सिन्थ्यो। गाडी कहिले बेपत्ता ओरालो कुद्थ्यो त कहिले बेजोडले उकालो। यसरी कुद्दा आङ सिरिङ्ग हुन्थ्यो।

झन्डै १० मिनेट बालुवासँगको लुकामारीपछि गाडी रोकियो। गाडी रोकेपछि देखेँ उँट चढिरहेका मानिस। बाइक कुदाइरहेका मानिसहरु। ठीक अगाडि 'ड्रिम नाइट्स टुर' लेखेको बोर्ड रहेछ। त्यही अगाडि देखिए हाम्रा चालक। हामीभन्दा अघि नै आइसकेका रहेछन्। भित्र खानाको व्यवस्था हुन्छ भन्दै उनी गायब भए।

त्यसपछि अगाडि आइपुगे स्कार्फ व्यापारी। ३० दिराममा अघि बाटोमा स्कार्फ किन्नु भन्दै थिए चालक। तर, हामीले किनेनौं। यहाँ आइपुगेपछि सबैले लाउने रहेछन्। मलाई पनि लाउँलाउँ लाग्यो। बाहिर त ३० दिराम। यहाँ त चर्कै होला नि!

भाउ सोधें। १० दिराम रे। तुरुन्तै किनियो दुईवटा अरबी स्कार्फ। बेच्नेले नै बेरिदिए टाउकामा।

बालुवामाथि पैसाको वर्षा

साँझ पर्दैथियो। घाम अस्ताउने तर्खरमा थियो। त्यसैले हामी सीधै लाग्यौं - बाइक भएतिर। बाइक कुदाउनेहरु अलि धेरै देखेँ। त्यसैले तान्यो ध्यान त्यतैतिर। बाइक सफारीको २० मिनेट न्युनतम समय रहेछ। यसको १०० दिराम। हामीले दुईवटा लिन आँटेको त २०० दिराम रे!

बजेटमा केही कटौति गर्ने योजना बनायौं। दुबै जना एकै बाइकमा चढ्ने २० मिनेटमात्र चलाउने एउटामात्र। १५० दिराम तिरेर त्यो सुविधा पायौं। त्यसपछि शुरुमा म चढें। स्कुटरजस्तै सिस्टम र चारचक्के बाइक चलाउन खासै मुस्किल भएन। तर बालुवाको उकालोओरालोमा भने अभ्यस्त हुन सकिनँ। उकालोमा पुगेपछि छिनछिनमा बाइक सुत्थ्यो।

चलाउन थाल्दाथाल्दै २० मिनेट त सकियो। भीम भाईले केही बेरमात्र चलाउन पाए। उनी भन्दैथिए- ९ वर्ष भयो म यहाँ बस्न थालेको। तर म पनि सफारीमा पहिलोपटक हो। तैपनि दाईको टुर हो यो। तपाई नै चलाउनु।

बाइक चलाइसक्दा अध्याँरोले छोप्यो। हामी त्यसपछि ड्रिमनाइट टुर लेखिएको बोर्डतिर अघि बढ्यौँ।

त्यहाँ भित्र त फराकिलो ठाउँ रहेछ। बीचमा मञ्च। चारैतिर बस्ने ठाउँ। तिनको आडमा पसल। कोही सिसा तानिरहेका थिए। सिसा भनेको हुक्का रहेछ। कोही चिसो पिइरहेका थिए। कोही हातमा मेहन्दी लगाइरहेका। कोही अरबी कपडा लगाएर फोटो खिचाइरहेका थिए। सिसाका लागि भने बेग्लै पैसा तिर्नुपर्ने रहेछ। बीचको मञ्चमा चाहिँ चिलसँग फोटो खिचाइरहेका।

अघि नै मन लत्रक्क पारिसकेको म चिलसँग फोटो खिच्न पाउने ठाउँ देखेपछि मख्ख परेँ। २० दिराम दिएर चिललाई हत्केलामा राखें। कुममा चढाएँ अनि टाउकोमा पनि।

त्यसपछि पालो अरबी ड्रेस लगाउने। हामी दुबैजना अरबी ड्रेस लगाउन गयौं। पुरुषको दुई वटामात्र ड्रेस रहेछ। यही ड्रेस लगाएर फोटो खिचाउनेको भने चाप। मलाई भने झ्वाम्ल्वङ्ङ हुने चाहिँ पर्‍यो। त्यही लगाएर हनी सिंह पारामा हिँडेको दुई जना भारतीय आएर साथ दिइहाले। भाइले धमाधम फोटो खिचे। तर त्यही फोटो चाहिँ फोकस आउट भइदिएछ।

फोटो खिचेपछि खाजा खाने बेला भएछ। केही मानिस लाइनमा बसे। केहीलाई भने टेबलमै खान सर्भ भइरहेको थियो।। हामी लाइनमै गयौं र खाजा लिएर मञ्च नजिक आयौं।

खासमा कहाँ बस्ने हामीले केही ठम्याउन पनि सकेनौं। एकछिन अलमल्ल।

बुर्काको देशमा बेल्ली डान्स

उभिएरै खान लागेका थियौँ, त्यहीबेला एनाउन्स भयो - बेल्ली डान्सबाट सबैलाई वेलकम गरिँदैछ।

युट्युबमा बेल्ली डान्स धेरै हेरिएको थियो। एकदिन लाइभ हेर्न पाइएला त यस्तो नाच? काठमाडौंमा हुँदै कुनै बेला सोचेको थिएँ। आज पुरा हुने भो। रोटीमा बेरिएको के हो कुन्नी खाजा चपाउँदै हामी उभिरहेका थियौं।

'अरे भाइसाब,' हराएका हाम्रा चालक आइपुगे। अनि भन्न थाले - आप तो भिआइपी लोग हे। बैठो। फस्ट क्लास गेस्ट है आप लोग। उसले खाना सर्भ गरिरहेकाहरुलाई हाम्रो परिचय गराए र हामीले काटेको टिकट पनि देखाईदिए। अलि पर - सायद पहिले हामीले हलमा फिल्म हेर्दा ड्रेस सर्कल जस्तै ठाउँ खोज्दै थिए उनी। तर ती ठाउँ प्याक भइसकेको रहेछ। त्यसैले हामीलाई जहाँ सजिलो हुन्छ त्यतै बस्न सुझाए।

बेल्ली डान्स नजिकबाट हेर्ने रुचि थियो। त्यसैले हामी बढ्यौं स्पेशलतिरै - अर्थात मञ्च नजिकै। स्पेशल नजिकै पुगेपछि हाम्रा लागि खाना लिएर आएपुगे त्यहाँका वेटर। खानपिनमा मासुदेखि बिरयानीसम्म। धमाधम ल्याइदिए तिनै वेटरले।

बेल्ली डान्स। मीठा खानेकुरा। हामी मक्ख पर्दै झुम्मियौँ। झन्डै पाँच सय जना पर्यटक झुम्मिएका थिए यही डान्समा। युट्युबमा हेरेजस्तो मजा भने दिएन यो नाचले। भर्खरकी सिकारु जस्तै थिइन् तिनी। नाच उति जमेको जस्तो लागेन। त्यसपछि आयो टनुरा डान्स। रिंगटा लाग्ने गरी नाच्ने ती नर्तक फनफनी घुम्दै नाचेका थिए। यिनको नाच भने अद्भुत लाग्यो। पछि थाह पाएँ असली यस्ता नर्तकहरु ३० मिनेटसम्म फनफनी घुम्नेरहेछन्।

लगत्तै आयो फायर डान्स। खानपिन चलिरहेकै छ। आगो नाच चलिरहेकै छ। साँझ छिप्पिँदै छ। आज यतै बास भए पनि केही डर हुने देखिएन। किनभने यहाँ हरेक ठाउँमा सुरक्षा छ। मजा आइरहेको छ। हामीजस्तै गरी पर्यटकलाई बालुवामाथि राखेरै पैसा कमाइरहेको छ यो देशले। हामी दुई जनाले मात्र नेपाली १७ हजार रुपैयाँ जति खर्च गर्‍यौं। हामी ढिला पुगेकाले अलि कम खर्च भयो। नभए उँट सफारी र कार सफारीमा हाम्रो अझ खर्च हुन्थ्यो। पाँच सयबाट एकैदिनमा कति कमायो होला आज?

यही सोचिरहेको बेला एनाउन्स भयो अब अन्तिम बेल्ली डान्स शुरु हुँदैछ।

अघिल्ला भन्दा खाइलाग्दी नर्तकी मञ्चमा देखिइन्। उनको नाच भने पहिलो बेल्ली डान्सभन्दा स्वादको लाग्यो। महिलाले बुर्का लगाउने परम्परासहितको कडा नियम भएको देशमा उदार नाच चलिरहेको छ। लचकदार ज्यान भएकी नर्तकी चारैतिर फर्केर सबैलाई हौस्याइरहेकी छिन्।

मञ्च नजिकै गएर उनलाई साथ दिन पनि पाइने रहेछ। म क्यामरा पक्रिरहेकोले जान सकिनँ। मन भने जाउँजाउँ भइरहेको थियो। भिडियो खिच्दै उनको नाचको स्वाद लिएँ।

झड्का हाने झैँ कार्यक्रम सकिनै लागेको घोषणा भयो। हाम्रा चालक फेरि भन्न आए : भाइसाब जल्दी करो। म भिडियो खिचिरहेको थिएँ।

के को जल्दी?

बेल्ली डान्स नसकेसम्म खिचिरहें। अनि बल्ल उठेँ। उनी भुतभुताउँदै थिए।

त्यहीबेला पिसाबले च्याप्यो। भीम भाइलाई चालकसँगै जानु भन्दै म चाहि लागेँ ट्वाइलेट खोज्न। दुई तीन मिनेट घुम्दा पनि ट्वाइलेट पत्ता नलागेपछि म अघि चालकले बोलाएको तिर दौडिएँ। त्यहाँ पुग्दा भीम भाइ पो भेटिएन। फोन निकालेर नम्बर दबाए, मोबाइलको ब्यालेन्स सकिरहेको रहेछ। चालक मुर्मुरिँदै थिए। गाडी छुट्यो भनेर। एकैछिनमा भीम भाइ हाँस्दै आए। उनले त ट्वाइलेट भेटेछन्। बाटोमा ट्वाइलेट भएको ठाउँमा गाडी रोकिन्छ भनेर मलाई चालकले जबरजस्ती लगे।

बाहिर अध्याँरोमात्र। केही मान्छे उभिरहेका। गाडी भने थिएन। हामीले गर्दा ढिला भएको भन्दै चालकको गनगन जारी नै थियो। हामीसँगै आएका सिंगापुरेहरु हाम्रो ढिलाईका कारण छुट्टिसकेका रहेछन्। हामीले हाँसेरै टार्‍यौँ। केहीबेरमा गाडी आइपुग्यो। अनि हामीलाई शुरुमै बस्न लगाइयो। हाम्रा चालक पनि त्यही गाडीमा बसे। गाडी दौड्यो। केही बेरमा दिउँसो गाडी रोकेर राखेको ठाउँमा पुगियो। त्यहीँ रहेछ गाडी चेन्ज हुने ठाउँ। बाहिरबाट आउने गाडीलाई भित्र इन्ट्री नदिने। भित्र सफारीमा भित्रकै गाडी। यसपछि हामी तुफान फर्कियौं।

सम्बन्धित समाचार

दैनिक १६ सय युवाले देश छोड्छन्, भिजिट नेपाल २०२० मा पर्यटकलाई कसले गर्ने स्वागत? {दुबई डायरी १}

दुबईमा मिङ्मार लामा, कुलमान घिसिङ र राष्ट्रपति भण्डारीको खोजी {दुबई डायरी २}

दुबईमा भारतीय चालकको सुझाव : 'दारुमे पैसा वेस्ट मत करो'; डाक्टरको सुझाव - रक्सीको लतमा लभ डाँडामा नलड्नु{दुबई डायरी ३}

अबुधाबीको शौचालयमा सेल्फी, फिलीपिनीसँगको त्यो यात्रा : 'नो किस, नो फोटो' {दुबई डायरी ४}

यस्तो रहेछ पुरानो दुबई, सात देश एक भएपछि विकासको रफ्तार, हामी भने साततिर फर्कँदै {दुबई डायरी ५}

दुबई क्रिकबाट भ्रमको संग्रहालयभित्र पुग्दा {दुबई डायरी ६}



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell