PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोही कसैलाई किन हान्छ एसिड? आशक्तिबाट जन्मेको अपराध



सविन ढकाल

कोही कसैलाई किन हान्छ एसिड? आशक्तिबाट जन्मेको अपराध

तँलाई त्यस्तै रीस थियो त मार्न सक्थिस्?

अरू पनि थिए रीस पोख्ने तरिका। किन यस्तो गरिस्?

उनीमाथि विभिन्न प्रश्नहरू ओइरिरहेका थिए। तर, उनी चुपचाप।

मुखबाट ह्वास् रक्सीको गन्ध आइरहेका उनलाई प्रहरीले प्रश्न गरिरहेको थियो। उनी सहजै जवाफ फर्काँउने मुडमा थिएनन्।

+++

रातको करिब साढे १० बजेको थियो। केही दिनदेखि देशभर भइरहेको वर्षाले काठमाडौँ पनि अछुतो रहेन। मुसलधारे पानी परिरहेको थियो।

डल्लुस्थित आफ्नै निवासमा ४७ वर्षीय मोहम्मद आलम रक्सीको नशामा थिए। उनीसँगै अन्य केही मानिस पनि रक्सीको चुस्कीमा मस्त। एक्कासी केही पुरुष आलमको घरमा छिरे। रक्सी खाइरहेका आलमलाई लिएर हिँडे।

त्यतिखेरसम्म आलमलाई उनीहरूले कहाँ लगेका होला? लिन आउने को हुन् भन्ने भइसकेको थिएन। तर, केही घण्टा अघि उनले गरेको कुकर्मले उनको मनमा चस्का चाहिँ पसिसकेको हुनुपर्थ्यो। उनलाई सिधै स्वयम्भू स्थित प्रहरी चौकीमा पुर्‍याइयो। त्यसपछि निर्क्यौल भयो, उनलाई लिएर आउने त प्रहरी रहेछन्।

आलम अर्थात् बिहीवार साँझ बाफलमा २२ वर्षीय युवतीलाई एसिड हान्ने मुख्य योजनाकार।

+++

ओखलढुङ्गा घर भएकी २२ वर्षीय युवती माथि बिहीबार करिब रातिको ७ बजेर ५५ मिनेटमा बाफलमा एसिड प्रहार भयो। काठमाडौंमा भएको एसिड प्रहार भएकाले प्रहरीका लागि अपराधी पक्राउ गर्नु चुनौतीको विषय भइसकेको थियो। महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनाको अनुसन्धान जुटिसकेको थियो। घटनास्थल नजिकैको एउटा घरमा बाटोतर्फ फर्काएर राखेको सीसी क्यामरा फुटेज फेला पर्‍यो। पीडित युवतीको मोबाइल र कल डिटेल मिल्यो।

एउटै नम्बरबाट पटकपटक फोन आएको थियो। ७ देखि ८ बजेसम्म एउटै मानिसले धेरै पटक फोन गरेपछि प्रहरीको शङ्का तिनै कल गर्ने व्यक्तितिर तेर्सिएको थियो। कलकै आधारमा आलमको घरमा प्रहरी पुगेको हो। सिसी क्यामरामा देखिएका मानिस भने आलम थिएनन्। प्रहरीलाई यति समयसम्म सोझै आलमलाई नै अभियुक्त दाबी गर्ने प्रमाण फेला पारिसकेको थिएन।

उनलाई बकाउनु र लगातार फोनको रहस्य खोल्नु बाहेक अरू उपाय केही थिएन। उनी रक्सीको नशामा थिए। तर, केही बोल्न र छुटाउनै नसक्ने अवस्था भने थिएनन्। अन्य प्रमाण तथा पीडित परिवारको केही जानकारी पाएको प्रहरीसामु आलमले मुख नखोली धर पाएनन्।

सीसी क्यामरा देखिएका युवक उनकै कारखाना काम गर्ने मुन्ना भन्ने खुल्यो। त्यसपछि प्रहरीले मुन्नालाई पनि चौकीमा ल्यायो। यता प्रहरी अनुसन्धान चलिरहँदा युवती भने कीर्तिपुरस्थित अस्पतालको बेडमा पीडाले छटपटाइरहेकी थिइन्।

मुन्नालाई प्रहरीले केरकार गर्‍यो। उनले एसिड हानेको त स्वीकार्दै स्विकारेनन्। केही जानकारी नभएको बताइरहे। आलमले घटनाको समयमा मुन्नालाई फोन गरेका थिए। मुन्नाको मोबाइलमा आलमको फोन रेकर्ड हेर्‍यो। त्यसबाहेक केही भेटिएन। त्यसपछि मुन्नाले नै खुलाए - मुन्ना नामका त अर्का व्यक्ति पनि छन्।

अर्का मुन्नालाई 'मुन्नी कुर्थी कलकलवाला' नामले चिन्दा रहेछन्। दुवै जना आलमकै कारखानामा काम गर्ने। प्रहरी अर्का मुन्नाको कोठामा पुग्यो। उनी पनि रक्सीको नशामै। उनलाई समातेपछि प्रहरीले थप केही केलाउनै परेन। एसिडले हात जलेको अवस्थामा थिए उनी। एसिड लागेको लुगा कोठाको कुनामा मिल्किरहेको।

मुन्नालाई नियन्त्रणमा लिइसकेपछि सबै घटना खुल्यो। आलमको योजनामा मुन्नाले नै कारखानाबाट रक्सीको बोतलमा हालेर लगेको एसिड युवतीमाथि हानियो।

+++

आलम र युवतीबीच तीन वर्षदेखि नै चिनजान। पीडित युवतीकी दिदी आलमको कारखाना काम गर्थिन्। दिदीको मार्फत् युवतीले पनि आलमको कारखानामा काम गरिन्, केही समय। ओखलढुङ्गामा ‘प्लस टू’ सम्मको पढाई सकेर काठमाडौँ आएकी उनलाई राजधानीको एउटा तारे होटेलमा राम्रो काम मिल्यो।

करिब एक महिनाको अवधिमा आलम र युवतीबीच राम्रो चिनजान भएको थियो। आलम युवतीबाट आकर्षित थिए। सम्वोधनमा दाजु बहिनी वा कामदार मालिकको सम्बन्ध रहे पनि आलमले त्यतिमै सीमित हुन चाहेनन्।

उनले युवतीलाई विभिन्न प्रस्ताव राखे। घरमा श्रीमती दुई छोराछोरीका बाबुसमेत रहेका ४७ वर्षीय आलमको आग्रह युवतीले स्वीकार्ने कुरा नै थिएन। आलमले फेसबुक र फोनमा सम्पर्क बढाउन थालेपछि भने उनी थप सशङ्कित भइन्। आलमको हर्कत अश्लील बन्दै गइरहेको थियो त्यसले युवतीलाई हैरान पारेको थियो।

पछिल्लो तीन महिनादेखि त फेसबुकसमेत ब्लक गरेर बसेकी थिइन् उनी। फोन रिसिभ समेत गर्न छाडेकी थियन्। तर, उनले जति आलमलाई इग्नोर गर्दै गइन् आलम त्यति नै उनीप्रति आशक्त बन्दै गए। युवतीका हरेक गतिविधिमाथि उनले नजर राख्न थाले। काम गर्न जाने ठाउँदेखि घरसम्म पिछा गर्नेक्रम बढ्यो।

एक महिनायता आलमले युवतीलाई धम्की दिन थालेका थिए भने पिछा गर्नेक्रम जारी थियो। युवती कसैसँग बाइकमा देख्यो भने त्यसको खोजविन सुरु हुन्थ्यो।

'आलमले मलाई पछ्याएको रहेछ। उसले मलाई फोन गरेर जो पाए त्यही मान्छेसँग किन हिँडेको भनेर प्रश्न गरेको थियो। मैले जवाफ नदिई फोन काटेँ,' करिब एक साता अघिको घटना सुनाउँदै उपचाररत पीडित युवतीले भनिन्।

युवतीको इग्नोरले आलमको मनमा 'इगो'ले डेरा जमायो। 'उनलाई धम्की दिने। पिछा गर्ने। एकदमै क्रेजी भएर लाग्ने गरे। उसलाई पाउन जे पनि गर्न तयार छु भन्ने मनस्थिति बनाएको देखिन्छ,' घटनाको अनुसन्धान गरिरहेका महाशाखाका एसपी होविन्द्र बोगटीले भने।

आलमले युवतीलाई आफूतिर आकर्षण गर्न भएसम्मको प्रयास गरे। तर, उनी झनै टाडिँदै गइन्। त्यसपछि आलमले अपराधको योजना बुन्न थाले। अपराधपछिको कारबाहीको अन्दाजसमेत थिएन उनलाई।

मुन्नालाई उनले सानै उमेरमा कारखाना काम गर्न लगाएका थिए। ८ वर्षदेखि सँगै राखेर उनले कालिगड बनाएका थिए। उनको विश्वासपात्र हो मुन्ना। त्यसैले उनले युवतीलाई एसिड प्रहार गर्ने योजना तयार पारे। मुन्नालाई प्रलोभनमा पारे। एउटी केटीलाई रक्सी प्रहार गरे केही रुपैयाँ र घर पठाउने व्यवस्था मिलाउने आश्वासन दिए। लामो समयदेखि परिवारबाट टाढा भएका मुन्ना घर जान र २५ हजार रुपैयाँ पाउने भएपछि एसिड हान्न तयार भए।

'उनलाई एसिड भन्ने थाहा नभएको देखिन्छ। रक्सी हाल्ने भनेर रक्सीको बोतलमा राखेको थियो,' एसपी बोगटीले सुनाए।

बिहीवार साँझ साढे ६ बजेतिर मुन्नालाई मोटरसाइकलमा हालेर उनैले ल्याएका थिए। बीच बाटोमा मुन्नाले रक्सी भए अलिकति खान्छु समेत भनेको अनुसन्धानमा खुलेको छ। तर उनले काम तमाम भएपछि 'देशी दारु' खुवाउने बताएका थिए।

+++

आलमले युवतीलाई फोनमा धम्काएर भए पनि भेट्न बोलाए। युवती आइन्। उनले मोटरसाइकलमा राखेर खाजा खुवाउन लगे। त्यतिखेर मुन्ना बाटोमा रेकी गरिरहेका थिए। युवतीलाई फेरि केही प्रस्ताव राखे। उनले स्वकारिनन्। आलमको 'इगो' बढिसकेको थियो जुन अन्तिम निष्कर्षका लागि तयारी अवस्थामा थियो।

एसिड हान्ने योजना अनुसार मुन्ना तैनाथ थिए। पछिल्लो भेटमा युवतीले उनको कुरा मानेको भए फोनबाट नै योजना क्यान्सिल समेत गर्न सक्थे होलान्। तर, त्यसो भएन। युवतीले थाहा नपाउने गरी युवतीलाई छोड्न लागेको जानकारी मुन्नालाई दिए।

फेरि त्यही ठाउँमा पुर्‍याए बाइकमा। मुन्नाले युवतीलाई एसिड प्रहार गरे। त्यसको जानकारी मुन्नाले आलमलाई दिए। केही परबाट आलमले मुन्नालाई मोटरसाइकलमा लिफ्ट दिए र फरार भए। त्यसपछि घरमा पुगेर रक्सी पिउन थाले।

आलमले आफ्नो अपराध छिपाउन त्यस समयमा भएका सबै कल डिलिट गरेका थिए। उनलाई आफू समातिन्छु भन्ने लागेको थिएन। त्यसपछि एसिड हानेको युवतीलाई समेत फोन गरेर सान्त्वना दिएका थिए। भोलि बिहान भेट्न आउने समेत बताएका थिए। तर, बिहान आलमको हातमा हतकडीमा लागिसकेको थियो।

'एसिडले उसको अनुहार बिग्रिन्छ। अरूले बिहे तथा प्रेम गर्दैनन्। मेरो अपराध खुल्दैन। अनि उ मसित आउँछे भन्ने अपराधीको सोच भएको देखिन्छ। त्यसैले त एसिड अनुहारमा नै छ्याप्ने ट्रेन्ड छ,' एसपी बोगटीले भने।

+++

एक वर्षअघि कालोपुलमा पनि यस्तै एसिड प्रहार भयो। काभ्रे घर भएका विष्णु भुजेल समातिए। उनी पीडित महिलाका पूर्व पति थिए। एक सन्तान भएपछि विष्णु रक्सीको नशामा अरुतिर बरालिन थाले। अनि उनकी श्रीमतीले डिभोर्स दिइन।

तर, त्यसपछि पनि विष्णु आफ्नी पूर्व श्रीमतीसँग सम्बन्धमा रहन चाहिरहे। ती महिला अब उनीसँग फेरि सम्बन्ध बनाउन चाहन्न थिइन्। तर फोन, म्यासेज जारी राखे उनले। महिलाले इग्नोर गरिरहिन्। अहिलेको झैँ केस भयो त्यतिखेर पनि।

काभ्रेबाट एसिड बोकेर कालोपुलमा आएर उनले आफ्नै पूर्व पत्नीलाई प्रहार गरे। एसिड हानेर पेप्सीकोलाको एक होटेलमा गएर रक्सीमा लठ्ठिए। प्रहरीले केही घण्टामै विष्णुलाई समात्यो।

'यो घटना पनि उस्तै देखिन्छ। अनुहार बिग्रिए अरूको हुँदैन। मेरो त हो नि भन्ने हो,' दुवै घटनाको अनुसन्धान गरेका एसपी बोगटीले भने।

यो पनि

युवतीले 'इग्नोर' गरेको 'इगो' मनमा लिएका आलमले एक सातादेखि बुनेको योजना

जसले खाजा खुवाउन लग्यो, उसैले बनाइरहेको थियो एसिड आक्रमणको 'प्लट'

एक युवकले मोटरसाइलकमा लिफ्ट दिए, अर्काले हाने एसिड

काठमाडौँको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार

गाढा रङको मेहन्दीमाथि एसिडको कहालीलाग्दो धब्बा !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell