- विकास पौडेल-
काठमाडौं: प्रतिनिधासभा विघटनसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले दुई समूहमा विभाजित छ। तर दुवै पक्ष अहिले पनि नेकपाकै ब्यानरमा देशव्यापी कार्यक्रम गर्दै हिँडेका छन्। पार्टीको आधिकारिताको विवाद पनि निर्वाचन आयोगमै विचाराधीन छ।
प्रधानमन्त्री केपी ओली पक्ष प्रतिनिधिसभा विघटनको बचाउ गर्दै चुनावी अभियानमा पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपाल समूहलाई आरोप लगाउँदै दुई तिहाइ मत मागिरहेको छ। प्रचण्ड-माधव समूह ओली पक्षलाई प्रतिगामीको संज्ञा दिँदै सभा पुन:स्थापनका लागि सडक संघर्षमा छ।
अर्कातिर वामदेव गौतम पार्टीलाई पुन: एकीकरण गर्ने भन्दै मध्यमार्गी बाटो समातिरहेका छन्। विघटनपछिका दिनमा नेताहरुको जुहारी रोचक छ।
'ओलीको आक्षेप, कानुन पढाउँदै रावल'
धनगढीमा आयोजित कार्यक्रममा पुगेका केपी ओलीले भीम रावलमाथि कटाक्ष गर्दै भने, 'अछामको एउटा केटोलाई बाटोमा हिँड्दा पुलिसले समातेछ मैले राजनीतिकरण गरेर जोगाएँ। मान्छेभन्दा ठूलो कुरो नानीभन्दा नाना ठूलो अब विकासको त्यो बाधकलाई नि हटाइदिएँ।'
त्यसको प्रत्युत्तरमा प्रज्ञा प्रतिष्ठानको मञ्चबाट रावलले ओलीलाई कानुनको पाठ पढाए। 'कानुनको विद्यार्थी भएको नाताले पढाउनु पर्दा दु:ख लागेको छ। ओलीमा नैतिकता रहेन। घरको चाबी पनि साधुको लागि हो।'
रावलले त्यहाँमात्र होइन अन्य सञ्चारमाध्यममा पनि 'केटो' भनेर प्रधानमन्त्रीले भनेको टिप्पणीमाथि कटाक्ष गर्ने गरेका छन्।
'म त्यतिबेला १९ वर्षको आइए पास गर्न लागेको केटो विद्यार्थी राजनीतिमा लागेर पक्राउ परेँ। उहाँ २३ वर्षको केटो बल्ल प्रवेशिका दिँदै हुनुहुन्थ्यो,' उनले भन्दै आएका छन्।
'पुक्क लात्ताले हान्ने' भट्टराईको यस्तो जवाफ
प्रधानमन्त्री केपी ओलीले प्रदेश १ सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा योगेश भट्टराईलाई लक्षित गर्दै भने, 'आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउँछु भनेँ। मन्त्री पनि बनाइयो। एक दिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ।'
प्रत्युत्तरमा ट्वीटरमा ओलीलाई जवाफ फर्कांउँदै लेखेका छन्- 'केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो। केटो भनिपाउँदा मलाई दु:ख छैन। तपाईँको स्तर थाहा पाएँ खुसी लाग्यो।'
पूर्व माओवादी नेतामाथि प्रचण्डको कटाक्ष
नेकपा विभाजन हुँदा पूर्व माओवादीका केही नेताहरुले ओलीलाई साथ दिएका छन्।
प्रधानमन्त्री ओलीले पुस २५ गते प्रज्ञा प्रतिष्ठानमा माओवादी जनयुद्ध कुहिएको फर्सी भएको टिप्पणी गरे।
त्यसको प्रतिक्रियास्वरुप पुस २८ गते पोखरा पुगेर प्रचण्डले जवाफ दिए। उनले ओली पक्षमा लागेका पूर्व माओवादी नेताहरुलाई पनि प्रश्न गरे- 'के जनयुद्ध कुहिएको फर्सी हो?'
उनले नेकपाको राजनीतिक प्रतिवेदनमा माओवादीले चलाएको जनयुद्धको भूमिकालाई स्पष्ट उल्लेख गरिएको स्मरणसमेत गराए।
'माओवादी जनयुद्धले नेपालमा राजनीतिक जागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेल्यो। संविधान निर्माण संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्यो,' उनले भने, 'अहिले त्यसविरुद्ध बोल्दा केही साथीहरु पनि त्यहीँ हुनुहुन्छ। उहाँहरुलाई तपाईँहरुले पनि सोध्नुहोला के माओवादी जनयुद्ध कुहिएको फर्सी हो?'
राजनीतिक प्रतिवेदनमा ओलीले समेत हस्ताक्षर गरेको भन्दै उनले प्रश्न गरे- 'के उहाँले गरेको हस्ताक्षर कीर्ते हो?, मैले जालझेलमा पारेर हस्ताक्षर गराएको हो? यदि होइन भने उहाँको विचार र राजनीतिप्रति गरेको घात हो।'
त्यतिमात्र होइन उनले पूर्व माओवादी नेतामाथि पनि आक्षेप लगाउँदै आएका छन्।
'एक जना पनि नभएको मान्छेलाई लौ न त लौ भनेर स्थायी कमिटीमा छिराएँ आखिरमा उनीहरु मन्त्री पदसँग साट्न लागिपरे,' प्रचण्डले पूर्व माओवादीका नेतामाथि कटाक्ष गर्दै आइतबार प्रचण्डले भने, 'उहाँहरुले यति खरानी धस्नुभएको छ म चिन्दिनँ उहाँहरु को हो?'
त्यतिमात्र होइन आइतबार नै पूर्व माओवादीबाट मन्त्री बनेका नेताहरुलाई सुरेन्द्र पाण्डेले गोयबल्सको संज्ञा दिए। 'गोयबल्स एक दिनका लागि प्रधानमन्त्री हुन समेत तयार हुने मन्त्री थिए, तर उनको अन्त्य कसरी भयो हामीलाई थाहै छ।'
प्रचण्ड र ओलीबीच आरोप प्रत्यारोप
प्रतिनिधिसभा विघटनसँगै प्रचण्डप्रति बढी आक्रमक देखिएका छन् ओली। विघटनका दिनैबाट दोहोर्याउँदै आएको वाक्य हो, 'मेरो मान्छे नियुक्ति भएन भन्दै मलाई पार्टी भित्रैबाट काम गर्न दिइएन।'
भारत जाँदा प्रचण्डले भारतीय संचारमाध्यमलाई दिएको अन्तर्वार्तादेखि नै ओली चिढिएका थिए। अहिले त्यसको आभाष उनको भाषणमा देखिन्छ। उनले प्रचण्डलाई कमेडी सोमा जान सिफारिस गरे।
जवाफमा प्रचण्डले ओलीले नाङ्गो नाच नाचिरहेको र देश रुँदा हाँसिरहेको भन्ने आरोप लगाउँदै आएका छन्।
'नेपाली समाजमा प्राय: जन्ती जाँदा हाँस्ने र मलामी जाँदा रुने प्रचलन रहेको छ। अरु गणतन्त्रका लागि संघर्ष गर्दा बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने उनी गणतन्त्र आउँदै गर्दा रुँदै थिए। अहिले संविधान, देश संकटमा परेको छ, रुँदै मलामी जाने बेला हाँस्दै हिँड्नुभा'छ,' उनले भनेका थिए।
त्यसको जवाफ ओलीले फेरि दिए -'मैले जनतालाई हसाएँ भनेर कसै-कसैलाई चित्त बुझेन छ।'
फेरि प्रचण्डले अर्को मञ्चबाट जवाफ दिए- 'तपाईँले हसाएको देखेर इर्ष्या आएको होइन देश रोएको बेला तपाईँ हाँसेको देखेर आक्रोश आएको हो।'
ओलीले कमेडी सोमा सिफारिस गर्दा प्रचण्डले ओलीलाई राजनीतिक जोकरको संज्ञा दिए।
उनले केपी ओली राजनीतिमा नैतिकता नभएको नेता भएको बताए। 'उहाँले ११ बजे वामदेव कमरेडलाई भेटेर अबको अध्यक्ष र प्रधानमन्त्री तपाईँ नै हो भन्नुभो फेरि १ बजे माधवजीलाई भेटेर हाम्रो अभिभावक तपाईँ बनिदिनुपर्यो भन्नुभो। फेरि त्यही दिन ४ बजे मलाई भेटेर एमालेभित्र नेता नभएर तपाईँलाई ल्याएको भन्नुभो। एउटै व्यक्तिले त्यस्तो कसरी गर्न सक्छ! म त सक्दिनँ।'
ओलीले प्रचण्डको ध्यान कसरी सत्ता कब्जा गर्ने कसरी हत्याउने मात्र हुने गरेको आरोप लगाउँदै आएका छन्। सुदूरपश्चिम प्रदेशका आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डलाई सुधार्न प्रयास गरे पनि नसकेको बताए। 'कति स्याम्पू सकियो। ट्यांकीका ट्यांकी पानी सकियो। साबुन लगायो, पखाल्यो जस्ताको त्यस्तै अन्तिममा तपाईँले देख्नुभयो,' उनले भनेका थिए।
प्रचण्डले पनि जवाफ दिए। काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले गणतन्त्र विरोधीभन्दा भन्दै पनि सुधार्न सकिन्छ कि भनेर प्रयास गरेको तर नसुध्रिएको टिप्पणी गरे।
'यो तीन वर्षमा कति तेल लगाइयो। सबैभन्दा बढी त मैले नै लगाएँ। तर कुकुरको पुच्छर जति तेल लगाए पनि बांगो नै,' उनले भनेका थिए।
ओली र नेपालबीच आरोप-प्रत्यारोप
केपी ओली र माधव नेपालबीच पनि आरोप प्रत्यारोप चर्को छ। ओलीले नेपाललाई मोरङमा पढ्दै गरेको केटोलाई राजनीतिमा ल्याएको भनेर भन्दै आएका छन्।
उनले प्रहार गर्ने अर्को अस्त्र भनेको पदको भोको हो। 'मदन भण्डारी मरेर महासचिव मैले छाडेर अध्यक्ष। दुई-दुई ठाउँमा चुनाव हार्दा पनि कहीँबाट रिमोटको बटन थिचेर प्रधानमन्त्री,' ओलीले एक कार्यक्रममा भनेका थिए, 'सधैं पद चाहिने। अध्यक्ष चाहियो र उधारो हुन्न नगदै। माइतीघरमा बसेछन् अली उकालो लागेर कार्की ब्याक्वेटमा पुगेर यसो खाइपिइ गरेछन्। अनि अध्यक्ष रे।'
नेपाल पनि के कम सुरुदेखिनै ओलीप्रति आक्रामक देखिँदै आएका छन्। पुस १४ गतेको विरोध सभामा नेपालले बयलगाडाको सिद्धान्तका प्रवर्तकको संज्ञा दिए। नेपालले ओलीको 'बा प्रवृत्ति'प्रति धावा बोल्दै आएका छन्। ओली झापा आन्दोलनदेखि नै भगौडा भएको आरोप नेपालले लगाउँदै आएका छन्।
'झापा आन्दोलनका क्रममै जिम्मेवारी पूरा नगरी भागेर नैनीताल पुगेको र जेलमा छँदा पटक-पटक समस्या खडा गरेको' नेपालले सम्झाइरहेका छन्।
ओली खनाल दोहोरी
पुस १४ गतेको विरोध सभामा भृकुटीमण्डपबाट प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले ओलीमाथि प्रश्न गरे- 'धरहरा ओलीले बनाएको हो? इन्जिनियरले बनाएको हो।'
ओली पनि के कम प्रज्ञा भवनबाट जवाफ फर्काए, 'इन्जिनियरले होइन इन्जिनियरले नक्सा कोर्छ। बनाउने त डकर्मी सिकर्मीले हो। हुन त कहिले बनाउने ठाउँमा गएको भए पो थाहा हुन्छ।'
ओलीले पार्टीलाई भर्याङजस्तै बनाएको नेता खनालले आरोप लगाए सोही सभामा। ‘पार्टीलाई भर्याङ बनाएर पोजिसनमा पुगेर पार्टी नीति बिर्सनुभयो। एकलौटी ढंगले गफै गफ हाँकेर ३ वर्ष बिताउनुभयो,’ उनले अगाडि भनेका थिए, ‘पानीजहाजको कुरा गरे। घर-घरमा ग्यास चुलो पुर्याउने भने। खै घर-घरमा चुलो? आफ्नै घरमा पुर्याए होलान। जनताको घरमा त छैन। गफ र उखान टुक्काबाट देश चल्दैन। सही भिजन र नीति चाहिन्छ। ३ वर्ष खेर गयो।’
उनले समृद्ध नेपाल सुखी नेपालीको नारासमेत आफ्नो भएको दाबी प्रस्तुत गर्दै आएका छन्।
खनालको धरहरा काण्डमा नेता नेम्वाङले पनि ब्यंग्य गर्न भ्याएका छन्। प्रतिनिधिसभा विघटनपछि विरलै सार्वजनिक कार्यक्रममा देखिएका नेम्वाङले शनिबार भनेका थिए -'अहिलेको सरकारले कोरोनाको खोप नि:शुल्क वितरण गर्ने घोषणा गरेको छ। पछि यो त कहाँ ओलीले गरेको हो, डाक्टरले भन्लान्। उहाँहरुले बाटो, बिजुली मैले ल्याएको भनेर भनिरहनुभएको छ। पछि प्रतिपक्षले कहाँ तपाईँले? यो त इन्जिनिरले बनाएको भने भने निथ्रुक्क पर्ने होला?'
मध्यमार्गी वामदेव
पार्टीमा ओली समूह र प्रचण्ड-नेपाल समूहका नेताहरु सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिँदा वामदेव गौतम भने पार्टी एकतालाई जोगाउने भन्दै वक्तव्य जारी गर्न लागिपरेका थिए।
उनले वक्तव्य जारी गर्दै राजीनामा दिनुको साटो संसद् विघटनको कदम लिएर ओलीले गलत गरेको साथै प्रचण्ड समूहले पनि पार्टीमा छलफल नै नगरी अविश्वासको प्रस्ताव लैजान खोजेर गलत गरेको अभिव्यक्ति दिएका छन्।
यता माधव नेपालले राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ओलीको प्रवृत्तिलाई लिएर प्रतिवेदन बुझाउँदा हस्ताक्षर गर्ने सचिवालय सदस्यहरुमा तपाईँ पनि हुनुहुन्छ वामदेवजी भन्दै याद दिलाएका थिए।