PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खुलामञ्चमा विप्लव संयोग : पाँच वर्षपछि पनि अमेरिकाविरुद्ध उस्तै आक्रोश



विधुर ढकाल

खुलामञ्चमा विप्लव संयोग : पाँच वर्षपछि पनि अमेरिकाविरुद्ध उस्तै आक्रोश

काठमाडौं : सोमवार खुलामञ्चमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुन: गर्जिए। २०७४ साल कात्तिक ८ गते खुलामञ्चमा अन्तिमपटक देखिएका विप्लव त्यसपछि काठमाडौंमा आयोजना भएका सभामा देखिएनन्। हुन त विप्लव नेतृत्वको नेकपाले त्यसयता काठमाडौंमा एउटामात्र सभाको आयोजना गरेको थियो - २०७५ साल मंसिर ८ गते प्रदर्शनीमार्गमा।

त्यतिबेलाको सभामा वक्ताको रुपमा विप्लव पनि उपस्थित हुने बताइएको थियो।

२०७५ साउन २२ मा नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ परे। त्यसपछि विभिन्न अदालतको चक्कर चलाउँदै सातौँ पटकमा असोज ९ मा सर्वोच्चको आदेशपछि रिहा भए। सरकारले त्यतिबेला विप्लव नेतृत्वको नेकपासँग वार्ताको प्रयास गरेको थियो। भदौ ८ गते सोमप्रसाद पाण्डको नेतृत्वमा विद्रोही समूहसँग वार्ता गर्नका लागि ओली सरकारले वार्ता टोली बनाएको थियो। सोही टोलीको अनुरोधमा उनी रिहा भएका थिए।

त्यसपछि मंसिरमा प्रदर्शनीमार्गबाट प्रकाण्ड गर्जिए। विप्लव आउने भनियो तर उनी आएनन्। उनले भूमिगत स्थानबाटै सन्देश पठाए। भर्खरै जेलबाट रिहा भएका प्रकाण्डाले नै सम्बोधन गरे।

२०७५ फागुन २८ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगायो। त्यसयता विप्लव काठमाडौंमा भएका ठूला सभामा उपस्थित भएनन्। नेकपाले काठमाडौंमा खुला सभाको आयोजना गरेको पनि थिएन।

प्रतिबन्ध लागेको दुई वर्षपछि २०७७ साल फागुन २१ गते विप्लव ओलीसँगै सभागृहमा उपस्थित भए।

त्यसपछि उनी गृहजिल्ला कपिलवस्तु पुगे र त्यहाँ पार्टी निकट महिला संघले आयोजना गरेको सभामा उपस्थित भए। फागुन २४ गते कपिलवस्तुमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को ९ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गरे।

त्यसयता उनी पार्टीका तथा जनवर्गीय संगठनका कार्यक्रममा सहभागि भए पनि ठूला सभाहरुमा देखिएका थिएनन्। उनै विप्लव सोमवार खुलामञ्चमा भने उपस्थित भए।

खुलामञ्चसँगको विप्लव संयोग

२०७४ कात्तिक ८ गते खुला मञ्चमा उपस्थित भएपछि सोमवार करिब ५७ महिनापछि खुलामञ्चमा उपस्थित हुँदा खुलामञ्चसँग विप्लव जोडिएका केही संयोगहरु छन्।

२०७४ साल कात्तिकमा खुलामञ्चमा विप्लवले सभा आयोजना भएपछि त्यहाँ राजनीतिक दलका ठूलासभाहरु भएका थिएनन्।

यसअघि नै खुलामञ्चको आधा भागलाई बसपार्कले कब्जा गरेको थियो भने मञ्च पट्टीको भागमा वीर अस्पताल र दरबार हाइ स्कुलका निर्माण सामाग्रीले ओगट्यो। त्यहाँ केही साना कार्यक्रम भए तर ठूला सभाहरु भएनन्। यो एउटा संयोग हो विप्लवको सभापछि बन्द भएको खुलामञ्च पुन: विप्लवकै सभाबाट बाट खुला भयो।

निर्माण सामाग्री र बसपार्क हटाएपछि भर्खरै सम्याउँदै गरेको माटो, पानी परेर हिलाम्मे अवस्थामै विप्लवको भाषण सुन्न कार्यकर्ता भरिए।

अमेरिकाप्रतिको उस्तै आक्रोश

पाँच वर्ष अगाडि खुलामञ्चबाट विप्लवले अमेरिका विरुद्ध धावा बोलेका थिए। आक्रोश पोखेका थिए। 'बम खसालेर निर्दोष मर्दा अमेरिकाले भन्छ गल्ती भएछ हामी सच्याउँछौँ। यतिले पुग्छ?', उनले सोधेका थिए, 'आकाशमा हेर्दा पनि डरलाग्दो यत्रो घरजत्रो बम खसाल्छन्। खसाल्न पाइन्छ त्यो अर्काको देशमा अर्काको जमिनमा गएर खसाल्न पाइन्छ?'

अमेरिकाले आफू एक नम्बरको भन्दै आफ्नै सामान किन्न नत्र बम हान्ने धम्की दिने गरेको भन्दै विप्लवले थपे, 'पूँजीवाद हो यो। पूँजीवादले शान्ति दिन सक्दैन।'

सोमवारको सभाको उद्देश्य थियो- ‘राष्ट्रघाती’ एमसीसी सम्झौताको विरोध। पाँच वर्ष अगाडि जस्तै खुलामञ्चबाट विप्लव गर्जिए- 'आजैदेखि साम्राज्यवादीको घेराबन्दी तोड्न लड्नुपर्छ। पार्टीभन्दा माथि देशलाई राखेर लड्नुपर्छ।'

विप्लवले एमसीसी नेपालले स्वीकार गरे आफ्नो पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए। 'केही दलालहरुको स्वार्थमा एमसीसी नेपाली जनताको टाउकोमा थुपार्न खोजियो भने यो झिल्को आगोमा परिणत हुन्छ,' उनले भने।

उनले कुनै पनि हालतमा नेपाली जनतामाथि एमसीसी नथुपार्न चेतावनी दिए। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कमर्पोरेशन (एमसीसी)ले देश विकास हुन्छ भन्नु मुर्खता भएको भन्दै पैसाले मात्रै विकास नहुने बताए।

'आफ्नो देशलाई बनाउनका लागि अरु देशका नागरिकहरुले पनि त्याग गरेका छन्। पैसाबाट विकास हुन्छ भन्ने दलाल हुन्,' उनले भने।

निर्माण सामाग्रीले अतिक्रमण भएको खुलामञ्च खाली गरिएपछिको पहिलो कार्यक्रममा कार्यकर्ताहरु हिलाम्य चौरमा उभिएरै विप्लवको भाषणमा हुटिङ गरिरहे। नेपालमा एमसीसीको पक्षमा बहस गर्नेहरु दलाल भएको उनको आरोप थियो।

'पैसाको कुरा गर्नुहुन्छ। एमसीसीको भजन गाउँदै हिँडेका छन्। एमसीसीको कुरा बुझेको छैन भन्दै हिँडेका छन्,'उनले भने,' मान्छेलाई भाँड्ने प्रयास भइरहेको छ तर जनताले कुरा बुझेका छन्।'

यसअघि २०७४ सालमा जस्तै विप्लव संसदवादी दलहरुमाथि कार्यक्रममा खनिए।

उनले एमसीसीले दिने आर्थिक सहायताभन्दा नेपालमा कर छली बढी भएको दाबी गर्दै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एनसेलले गरेको कर छलीबारे मौन रहेको आरोप लगाए।

उनले त्यतिबेला चुनावको डङ्का पिटेर, चुनावको हल्ला गरेर जनताको ध्यान अन्यत्र मोड्न चाहेको आरोप लगाएका थिए। त्यतिबेला प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा दलहरु जुटेका थिए। यसपटक खुलामञ्चमा विप्लवका सारथी नेकपा प्रवक्ता प्रकाण्डले ले चुनावको 'हिसाबकिताब' नगर्न चेतावनी दिए।  

उनले नेपालबाटै संसदीय व्यवस्थालाई हटाउनुपर्ने भन्दै जनमत सङ्ग्रह गरिनुपर्ने बताए। संसदीय चुनावमा सहभागी नभई एकीकृत जनक्रान्तिमा सहभागी हुन पनि प्रकाण्डले आह्वान गरे। 'संसदीय चुनाव होइन नेपालमा अब यो व्यवस्था ढाल्न एकीकृत जनक्रान्तिमा सहभागी बनौँ,' उनले भने।

संसदीय पार्टीहरू चुनावको समय पर्खिएर बसिरहेको बताउँदै प्रकाण्डले संसदीय चुनाव नभई जनमत सङ्ग्रहका लागि तयारी गर्नुपर्ने तर्क गरे।

'सिंहदरबारमा बसेर संसदीय दलहरू आगामी संसदीय चुनावको दिन गन्दै होलान्। खबरदार!, एउटा अनुहार परिवर्तन गर्दै अर्को अनुहार ल्याउने चुनाव होइन जनमत सङ्ग्रह हुनुपर्छ। त्यसका लागि नेकपाले सञ्चालन गर्ने एकीकृत जनक्रान्तिकारमा सहभागी बनौँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell