PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फरार सन्दीपको सम्भावित अर्को 'नो बल' : 'रिभ्यू' कुर्नुको उनीसामु छैन विकल्प



सविन ढकाल

फरार सन्दीपको सम्भावित अर्को 'नो बल' : 'रिभ्यू' कुर्नुको उनीसामु छैन विकल्प

काठमाडौं : एउटा बलियो विकेट लिँदा अम्पाएरले नो बलको संकेत गरिदियो भने के हुन्छ ? लिइसकेको विकेट त यथास्थनामा हुन्छ नै अर्को बलिङले बाउन्ड्रीको जोखिम पनि निम्त्याउन सक्छ। खेल मैदानमा जस्तै सन्दीप लामिछाने आफ्नो करिअर र सिंगो जीवनमै यतिखेर 'नो बल'को अवस्थामा छन्। बलात्कारजस्तो संगिन अपराधको 'रिभ्यू'मा रहेका उनले एकाएक 'नेपाल फर्किने' घोषणा सोसल मिडियाबाट त गरे तर कता पुगे पत्तो छैन।

आफूमाथि निराधार आरोप लागेको दावी उनले गरेका छन् - मैदानबाटै रिभ्यूको माग गरेजसरी। तर, आफूमाथि हुने निर्मम समीक्षाका लागि उनमा धैर्यता कति छ?उनी माथिको आरोपलाई लिएर प्रहरीले अदालतबाट पक्राउपूर्जी पाइसकेको छ। नेपाली क्रिकेटमा असाध्यै छिटो छलाङ मारेका सन्दीप जीवनकै सबैभन्दा कठिन स्थितिमा छन् –आफ्नै कारण। अर्थात् नो बल। खेलाडीमा हुनुपर्ने न्युनतम अनुशासनको रेखा पार गरेर उनले जस्तो हर्कत गरे त्यसैले उनलाई संकटतिर धकेलेको हो।

नेपालको राष्ट्रिय टिमका कप्तान लामिछानेविरुद्ध भदौ २१ गते मंगलवार महानगरीय प्रहरी वृत्त गौशाला जबरजस्ती करणीमा उजुरी परेसँगै उनको सेलिब्रिटी क्रेज एकाएक अपराधसँग जोडिन पुग्यो। लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा परेपछि अनुसन्धान सुरु भयो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटेलमा लगेर करणी गरेको आरोप छ।

सन्दीप भदौ ६ गते टी-२० को मैत्रीपूर्ण खेलका लागि केन्या उडेका थिए। त्यहाँ एक दिवसीय खेल नखेल्दै उनी क्यारेबियन प्रिमियम लिग खेल्न सेन्ट लुसिया पुगे। खेल अझै जारी छ। तर, खेलमा तत्काल विश्राम लिनु उनको बाध्यता बन्यो –त्यही प्रकरण। उनले जारी खेल छाडेर अनुसन्धानमा सहयोग गर्न नेपाल फर्किने बताएका थिए। एक साताहुनै लाग्दा उनी नेपाल फर्किएका छैनन्। त्यसैले सामाजिक सञ्जालमा उनीमाथि प्रश्न उठ्न थालेको छ। कतै सन्दीप नेपाल नफर्कने त होइनन्? उतै लुकेर बस्लान्?

परेको उजुरीअनुसार घटनाक्रमको ट्र्याकिङ गरेको प्रहरीले अनुसन्धानको एउटा चरण पूरा गरेर जिल्ला अदालतबाट सन्दीपलाई पक्राउ गर्ने अनुमति समेत लिइसकेको छ। त्यसैका आधारमा प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई पक्राउ गर्न सीमा नाका र प्रहरी कार्यालयहरुलाई पत्राचार गरिसकेको छ। विमानस्थल प्रहरीले अध्यागमन विभागलाई समेत सन्दीप प्रहरीको खोजीमा रहेको भन्दै जानकारी दिइसकेको छ। त्यसैले सन्दीप अहिलेसम्म प्रहरीको खोजी सूचीमा भन्दा पनि पर्खाइमा छन् भन्दा फरक पर्दैन।तर,सन्दीप प्रहरीको सम्पर्कमा आएनन् भने प्रतीक्षाको सूची खोजीमा रुपान्तरित हुने निश्चित छ।

'विदेशमा भएकाले फर्किएर अनुसन्धानमा सहयोग गर्नुहुन्छ भन्ने नै हो। अरु तरिकाबाट नेपाल ल्याउने विषयमा हामीले अहिलेसम्म सोचेका छैनौं,' जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरतबहादुर बोहराले भने।

सन्दीप चाँडै नै नेपाल फर्किनेमा प्रहरी विश्वस्त छ। यदि उनी फर्किएनन् र अनुसन्धान गर्दै जाँदा दोषी देखिने बलियो प्रमाण देखियो भने प्रहरीले इन्टरपोल मार्फत् पनि सन्दीपलाई झिकाउन सक्छ। विभिन्न गम्भीर घटनामा संलग्न रहेर फरार भएका व्यक्तिको नाम रेड कर्नर नोटिस पनि जारी हुनसक्छ। यस्ता अभियुक्तको खोजी इन्टरपोलको सहयोगमा गरिन्छ। पछिल्लो समय नेपाल प्रहरीले रेड कर्नर नोटिस र एलो नोटिसमा जारी गर्दै विदेशबाट अभियुक्त र अपराधीलाई समेत ल्याएको छ। त्यसखालको प्रकृयासम्म पुग्न नपर्ने प्रहरीको आँकलन छ।

प्रहरीले अहिले सोचेकै सहि हुन्छ भन्न चाहिँ सकिन्न। कसैंगरी इन्टरपोल लगाएर नै सन्दीपलाई नेपाल ल्याउनुपर्ने अवस्था भयो भने उनले अर्को 'नो बल'को सामना गर्नुपर्ने हुनसक्छ।किनभने फरार हुनु सन्दीप थप दोषी प्रमाणित हुने आधार बन्न जान्छ। त्यस्तै, अहिले सन्दीप भिसा भएका देशहरूमा जसरी आउजाउ गर्न सक्छन त्यो सुविधा निषेध हुन्छ। कुनै पनि मुलुकको विमानस्थल सन्दीपको गिरफ्तारीको प्रतीक्षामा रहनसक्छ। रेड कर्नर नोटिस जारी गरेपछि सन्दीप अन्तर्राष्ट्रिय रुपमा नै खोजीको सूचीमा पर्छन्।

सन्दीपमाथिको आरोपको प्रतिरक्षा गर्न पनि नेपाल फर्किनुको विकल्प उनीसामु छैन।कल्पना गरौं –अदालतले पनि सन्दीपलाई दोषी ठहर्‍यायो। राज्यले कैद मिनाहा दिने छुट फरार दोषीले पाउँदैन। त्यो अवस्थामा पुग्दा सन्दीप थप संकटमा पर्छन्।

मुलुकी अपराध संहिता २०७४ को दफा २१६ मा आत्मसमर्पण गरेमा सजाय कम हुने व्यवस्था छ। 'कसुर गर्ने व्यक्तिले कसुर गर्दागर्दैको बखत सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेमा वा अन्य कसुर वा सो कसुर गर्ने गिरोहका सदस्यलाई पक्राउ गर्न सहयोग पुर्‍याएमा अवस्था हेरी अदालतले निजलाई सजाय कम गर्न सक्नेछ,' अपराध संहितामा भनिएको छ। सन्दीपका कानुन व्यवसायीले यस्तो प्रावधान नबुझ्ने कुरै भएन।

यतिखेर उनीमाथि लागेको आरोप निराधार भए त्यसको बचाउका लागि अपिल गर्न पनि उनी कानुनकै मैदानमा उत्रिनुपर्छ। त्यहीँमात्र उनले आफ्नो रिभ्यू लिन पाउँछन्। सन्दीप नेपाल नफर्किएको अवस्थामा प्रहरीले अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालय हुँदै अदालतमा समेत बुझाउन सक्नेछ। त्यसो गरेको खण्डमा सन्दीप एकाएक 'फरार अभियुक्त'  बन्नेछन्।

'मुद्दाको प्रकृति हेरेर हुन्छ। हदम्याद नै जाने अवस्था आयो भने प्रहरीले अनुसन्धान गरेर फाइल बुझाउन सक्ने छ,' जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख गङ्गाप्रसाद पौडेलले भने।

मुलुकी अपराध संहिता २०७४ मा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ।

क्रिकेटको चमकबाट एकाएक सन्दीप लुकेर नेपालभित्रै बस्न सक्लान्। तर,उनी यति चर्चित छन् कि त्यो उनका लागि सधैं जोखिमपूर्ण हुनेछ। त्यसैले तत्कालै उनी नेपाल फर्किएर आफ्नो पक्षमा प्रमाण पेश गर्नुभन्दा बलियो विकल्प अर्को देखिन्न। उनीसामु रहेको सफाइको मौका पनि गुमाए भने सन्दीप नेसनल हिरोबाट जघन्य अपराधीमा रुपान्तरित हुनेछन्। यतिखेर फेरि उही प्रश्न बाँकी छ –के अब पनि कानुनको मैदानमा उनले नो बल नै प्रहार गर्ने भूल गर्छन्?

सम्बन्धित समाचार

दिनभर घुमाएर राती होटेलमा पुर्‍याएर लामिछानेले पटकपटक करणी गरेको युवतीको आरोप, प्रमाणले देखिए विमानस्थलबाट नै पक्राउ पर्ने

जबर्जस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेविरुद पक्राउ पुर्जी लिने प्रहरीको तयारी

सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?

सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, अब विमानस्थलबाटै पक्राउ गर्न सक्ने

'योजनाबद्ध' देखिँदै सन्दीपको केस : कफीको बहानामा किशोरीलाई ट्रयापमा पारेर होटेलको यात्रा!

पलदेखि सन्दीपसम्म : ६ महिनाभित्रका यी तीन केस जसले दिन सक्छ गजबको सन्देश

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell