PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

घरमा प्रहरी पुग्दा खाणले भने : म जान्न, उनकै निजी स्कर्पियोमा राखेर प्रहरी कार्यालय ल्याइयो



सविन ढकाल

 घरमा प्रहरी पुग्दा खाणले भने : म जान्न, उनकै निजी स्कर्पियोमा राखेर प्रहरी कार्यालय ल्याइयो

काठमाडौं : कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण सोमबार बुटवलबाट काठमाडौं फर्किएका थिए। उनी काठमाडौं आउँदा नक्कली भुटानी शरणार्थी प्रकरण उत्कर्षमा थियो। आरोप खाण माथि पनि लागेको थियो। पक्राउ परेका अभियुक्तले ठगीको रकम खाणले समेत बुझेको बताएका थिए। उनको बयान पुष्टि हुने प्रमाण समेत प्रहरीले भेटिएको थियो।

प्रहरीले बुधबार उनलाई पक्राउ गर्ने तयारी गर्‍यो। अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी कार्यालयको टोली खटिएको थियो। कार्यालयका प्रमुख एसएसपी डा मनोज केसीले खटाएको सादा पोशासको टोली बिहानै खाणको घरमा पुग्यो।

'करिब ९ बज्दा हाम्रो टोली घरमा पुगेको थियो। उहाँलाई बोलाएर कार्यालय ल्याउने भन्ने थियो,' एक प्रहरी अधिकृतले भने।

सादा पोशाकको प्रहरी टोली चुचुपाटीमा रहेको खाणको घरमा पुग्यो। घरमा धेरै मानिस थिएनन्। सादा पोशाकको प्रहरी टोलीले घरको रेकी गर्‍यो। पूर्वगृहमन्त्री भएका कारण प्रहरीले केही सुरक्षा भने अपनाएको नै थियो। प्रहरी टोली खाणको घरमा पुगेपछि आवश्यक सोधपुछको लागि भन्दै प्रहरी अधिकारीले खाणलाई आग्रह गर्‍यो। तर उनले मानेनन्।

'उहाँले सहजै जान मान्नु भएन छ। पक्राउ पूर्जी, यहीँ सोध्नु जस्ता कुरा भन्नु भएछ,' पक्राउ गर्न गएको प्रहरीलाई उदृत गर्दै एक उच्च प्रहरी अधिकृतले सुनाए।

खाणले प्रहरीसँग पक्राउपूर्जी समेत मागेका थिए। तर जरुरी पूर्जी भएपछि खाणको केही लागेन त्यसपछि उनी कोठाभित्र फोन गर्न छिरेका थिए। त्यसपछि प्रहरीले उनलाई कोठाबाट नै नियन्त्रणमा लियो। त्यसपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर निस्किएको थियो।

पूर्वगृहमन्त्री खाणलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा राखेर प्रहरी कार्यालय पुर्‍याइएको थियो। स्कर्पियोमा ४/५ जना प्रहरी समेत राखेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याएको हो। अहिले उनीसँग सोधपुछ चलिरहेको छ।

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell