काठमाडौँ: आइतबार अपराह्न काठमाडौँमा शृङ्खलावद्ध विस्फोट भए। सुकेधारा, घट्टेकुलो र थानकोटमा भएका विस्फोटहरुमा चार जनाको ज्यान गयो।
यी घटनाहरुमा ज्यान गुमाउने चार जना सर्वसाधारण नागरिक नभई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेकपाका कार्यकर्ताहरु रहेको दावी संसदको रोष्ट्रमबाट गृहमन्त्री रामबहादुर थापाले सोमबार दिउँसो गरे।
यसको पुष्टि साँझ विप्लव स्वयंले आफ्नो विज्ञप्तिबाट गरे।
विज्ञप्तिमा विस्फोटमा ज्यान गुमाउने चार जनाको भूमिगत नाम मात्र हैन, किटान गरिएको प्रष्ट नभए पनि पदहरु पनि उल्लेख छन्- 'पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वलशाही, कमरेड निरन्तरको सहादत।'
जनवर्गीय संगठनलाई छोटकरीमा जवस भन्ने गरिन्छ।
सबभन्दा झस्काउने विषय छ- जनमुक्ति सेनाका कमाण्डर।
गृहमन्त्रीले संसदमा विप्लवले जनसेनाको रूपमा ४ कम्पनी बनाइसकेको पनि जानकारी दिए। कम्पनी सेनाको एउटा युनिटको नाम हो। एउटा कम्पनीमा सामान्यतया ८० देखि १५० जनासम्म 'सैनिक' हुन्छन्। यसको कमाण्डर सेनामा भए क्याप्टेन वा मेजरले गर्ने गर्छन्।
विप्लवको विज्ञप्तिमा उल्लेख भएको नाम 'महान' जनमुक्ति सेनाका कमाण्डर थिए। उनी कुन युनिटका कमाण्डर हुन्, खुलेको छैन। तर घटनाक्रमले देखाउँछ, सोमबारको बन्दको पूर्वसन्ध्यामा त्रास फैलाउन विस्फोटक पदार्थ पड्काउन काठमाडौँ आएका थिए।
तर सुकेधारामा भएको विस्फोटमा उनी आफैंले ज्यान गुमाए।
कसरी?
सोमबार बिहानैदेखि सोसल मिडियामा टाइम बमको सेटिङ एएम (बिहान) र पिएम (साँझ) मिलाउन नजान्दा विस्फोटमा परेर विप्लवका कार्यकर्ताहरुको मृत्यु भएको चर्चा चलेको थियो।
सोमबारको नयाँ पत्रिका दैनिकमा 'बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको' दावी गरिएको छ। 'अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरुले १२ घण्टाअघि टाइमर मिलाउने क्रममा एक्कासी बम पड्किएको' भन्दै महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीलाई उद्धृत गरिएको छ।
तीन सुरक्षा निकायका तीन धारणा
हामीले एसएसएसपी उत्तमराज सुवेदीलाई सम्पर्क गर्दा उनले भने,'सुकेधारा र घट्टेकुलोमा विस्फोट भएको टाइम बम हुनसक्छ।'
तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेल भने टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको भन्न नसकिने दावी गर्छन्। उनले सुकेधारा र घट्टेकुलोमा विस्फोट भएको बम टाइम बम नभई कुकर बम रहेको बताए।
सशस्त्र प्रहरीको बम डिस्पोजलबारे जानकार नाम बताउन नचाहने एक अधिकारीले नेपालमा अहिलेसम्म यति बजे पड्किने भनेर समयसहित सेट गरिएको टाइम बम भेटिएको आफूलाई थाहा नभएको बताए।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने आइतबार ११ ठाउँमा विस्फोटक पदार्थ भेटिएकोमा ८ वटा आइइडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) रहेको जानकारी दिए।
त्यसमध्ये ६ वटा प्रेसर कुकर बम, २ वटा रिमोटबाट विस्फोट गराउने बम, एउटा कुकरमात्र विस्फोट भएको र दुई वटा होक्स (भित्र विस्फोटक पदार्थ नराखी झुक्याउन राखिएको) रहेको उनले बताए।
त्यसमध्ये सुकेधारामा प्रेसर कुकरलाई टाइम बमको रुप दिइएको उनले बताए।
आइतबार भएका विस्फोटहरुमध्ये सुकेधारामा भएको विस्फोट सबैभन्दा शक्तिशाली थियो।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित ढलानेपुल नजिक जस्ताले छाएको एक तले कच्ची घरमा महोत्तरी जिल्लाको रामनगरघर भएका जीवकुमार ठाकुरले सञ्चालन गरेको सैलुन पसलभित्रको भान्सा कोठामा विस्फोट भएको थियो।
विस्फोट हुँदा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। घाइते ५ जनालाई प्रहरीले उपचारका लागि पठाएकोमा थप एक पुरुषको बाटोमै मृत्यु भएको थियो। तेस्रो व्यक्तिको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भयो।
प्रहरीका अनुसार सुकेधारामा मृत्यु हुनेमा कालिकोट घर भएका २७ वर्षीय विभुराम विक भनिने दिपेन विक (दीपेन्द्र), अन्दाजी अन्दाजी ४०/४५ वर्षीय निरन्तर मल्ल र दाङ बबही गाउँपालिका ३ घर भएका गोकुल रानामगर रहेका छन्।
अर्को विस्फोट काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मैतीदेवी संगम गल्लीस्थित लोकमञ्जरी कार्कीको तीन तले घरको भुइँ तल्लामा भएको थियो। यहाँको विस्फोटमा अछाम घर भई त्रि-चन्द्र क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययन गरिरहेका वर्ष २७ को विशाल शाहीको घटनास्थलमै मृत्यु भएको थियो।
त्यसैगरी रूकुम सानोभेरी गा.पा-७ घर भएका वर्ष २६ का रविन केसी घाइते भए। कोठामा क्षेत्र विक बस्ने गरेको घरधनीबाट बुझिन आए पनि उनी सम्पर्कमा छैनन्।
यहाँको विस्फोट पनि प्रेसर कुकर बमबाटै भएको सेनाले बताएको छ।
कसरी गरिन्छ प्रेसर कुकरबाट विस्फोट?
सन् २०१३ मा अमेरिकाको बोस्टन म्याराथन र सन् २०१६ मा न्युयोर्कमा भएको विस्फोट प्रेसर कुकर बमका कारण भएको खुलेपछि त्यहाँका मिडियाले यसबारे प्रशस्त समाचार दिएका थिए। द्वन्द्व कालमा माओवादीले पनि प्रशस्त यस्ता बम विस्फोट गराएका थिए।
जुलाई ११, २०१६ मा मुम्बईमा प्रेसर कुकर बमबाट सबभन्दा धेरै हताहती भएको घटना हो। यात्रुवाहक रेलहरुमा सात वटा यस्ता बम विस्फोट हुँदा २०९ जनाको मृत्यु र ७१४ जना घाइते भएका थिए।
प्रेसर कुकर बम बनाउन सजिलो भएकोले यसको प्रयोग विश्वभर नै हुन्छ। अल कायदाले समेत आफ्नो म्यागेजिनमा प्रेसर कुकर बम बनाउने विधि प्रकाशित गरेको थियो।
प्रेसर कुकर बम बनाउँदा त्यसभित्र विस्फोटक पदार्थ राखिन्छ। प्रेसर कुकरको माथि ब्लास्टिङ क्याप राखिन्छ। अमेरिकाको होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टमा राखिएको जानकारी अनुसार घडी, मोबाइल आदिबाट विस्फोट 'ट्रिगर' गर्न सकिन्छ।
बिहानको सट्टा साँझ विस्फोट?
सेनाका अनुसार तीन जनाको ज्यान गएको सुकेधारा र एक जनाको ज्यान गएको घट्टेकुलो दुवैमा प्रेसर कुकर बम विस्फोट भएका हुन्। त्यसमध्ये सुकेधारामा 'टाइम' फिट गरिएको थियो।
त्यसो भए के अघिल्लो बिहान पड्कनु पर्ने गरी समय सेट गर्नुपर्नेमा एएम र पिएममा अलमलिएर अघिल्लै साँझ पड्किन सम्भव हुन्छ?
माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बम बनाउने प्रशिक्षण लिएका नाम बताउन नचाहने एक पूर्व लडाकु भन्छन्- 'टाइम बम दुई किसिमका हुन्छन्। एउटामा टाइमर सेट गर्ने हो। यसमा यति समयपछि अर्थात् यति घण्टापछि ट्रिगर हुने भन्ने हुन्छ। ट्रिगर भएपछि विस्फोट हुन्छ।'
'यसमा यति बजे भनेर सेट नगरिने भएकोले एएम वा पिएम भन्ने हुन्न।'
उनले अगाडि भने, 'टाइमै सेट गर्ने अर्को विधि हो। यसो गरिएको हो भने पनि एएम वा पिएम कन्फर्म नगरी टाइमर एक्टिभेट गरिन्न। बम लक्षित स्थानमा नराख्दासम्म टाइमर एक्टिभ गरिँदैन। बम राख्नु आफैंमा रिस्कको काम हो त्यसमाथि थप रिक्स लिएर कसैले बोक्नलाई आत्मघाती हुनुपर्यो।'
सुकेधारा र घट्टेकुलो दुवै ठाउँमा विप्लवका आफ्नै कार्यकर्ताको मृत्यु भएकोले त्यो ठाउँ उनीहरुको विस्फोट गराउने लक्षित ठाउँ भएको देखिन्न।
आइतबार साँझ सवा ४ बजेको आसपास अर्थात् एकै समयमा दुवै ठाउँमा विस्फोट कसरी भयो? यो प्रश्न पनि अनुत्तरित छ।
यी दुई ठाउँमात्र हैन आइतबार राति थानकोट नजिकै प्रेसर कुकर बम विस्फोट हुँदा सोही बम ओसारिरहेको अनुमान गरिएका मोटरसाइकलमा सवार दुई जना व्यक्ति बुद्ध लामा र विक्रम लामा पनि घाइते भएको प्रहरीले बताएको छ।
के बम ओसार्ने क्रममा दुर्घटनावश यी तीन वटै ठाउँमा विस्फोट भएका हुन्? के बम सुरक्षित रुपमा कसरी ओसार्नु पर्छ भन्ने जानकारी उनीहरुलाई नभएको हो?
यसको जवाफ न सुरक्षा निकायसँग छ, न विप्लवसँग। सुरक्षा निकायले अनुसन्धान भइरहेको बताउँछ भने विप्लवले पनि सोमबारको विज्ञप्तिमा लेखेका छन्- यस प्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिवद्धता गर्दछौँ।'
कहिलेसम्म?
त्यो भने उल्लेख छैन।