PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चीनबाट फर्किएका नेपालीको पीडा : आफ्नैले समेत हेयको व्यवहार गर्छन्



विधुर ढकाल

चीनबाट फर्किएका नेपालीको पीडा : आफ्नैले समेत हेयको व्यवहार गर्छन्

काठमाडौं : चीनको हुवेइ प्रान्तको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस (२०१९ एनसीओभी) फैलिँदै गर्दा २३ देशहरु यसको लपेटामा परेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।

शनिवार विहानसम्म ११ हजार ९ सय ४८ जनामा यो संक्रमण देखा परेको छ। त्यस्तै २ सय ५९ जनाको मृत्यु भइसकेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। कोरोना भाइरसको आउटब्रेक इपिसेन्ट हुवेइमा मात्र यो भाइरसका कारण सात हजार १ सय ५३ जना मानिस संक्रमित भइसकेका छन् भने २ सय ४९ जना मानिसको मृत्यु भइसकेको छ।

चीनमा रहेका नेपालीहरु उद्धारको पर्खाइमा छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरस शुरू भएको चीनको वुहानबाट नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय जुनसुकै बेला गर्न सकिने बीबीसी नेपालीलाई बताएका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालयलाई तीन दिनअघि पत्राचार गरी आवश्यक परे नेपालीहरुको उद्धारका लागि नेपाल सरकारले कदम चाल्न सक्ने र त्यसका लागि सहजिकरण गर्न अनुरोध गरेको उनले बताए। वुहानमा रहेका नेपालीहरुको उद्धारसँगै उनीहरुलाई यहाँ ल्याइसकेपछि राख्ने स्थानको व्यवस्था पनि सँगसँगै गर्नुपर्ने भन्दै अवस्थालाई नजिकबाट नियालिरहेको उनले जनाएका छन्।

'स्थितिलाई हामीले नजिकबाट हेरिरहेका छौँ र आवश्यक पर्दा कुनै पनि बेला हामी त्यो निर्णय गर्छौँ,' उनले भनेका छन्।

चीनको वुहानमा मात्र हाल ६० जना नेपाली विद्यार्थीहरु रहेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए। त्यस्तै हुवेई प्रान्तमा एक सयभन्दा बढी नेपाली रहेको उनले जानकारी दिए।

यता दूतावासले खोलेको विच्याट समूहमा हुवेइ प्रान्तको जिङचोउ शहरमा ५३ जना नेपाली रहेको ममता सहानी क्षेत्रीले बताएकी छिन्। उनी त्यहाँका उनका श्रीमान् र छोरीसँगै छन्।

शुक्रवारमात्र आफ्नो विश्व विद्यालयबाट भारतीय विद्यार्थीहरुलाई उद्धार गरि लगिएको भन्दै नेपालीहरुलाई उद्धारका लागि पहल गर्न उनले अनुरोध गरेकी छन्।

'मैले केही अगाडिमात्र नेपाली सेनाका उच्च अधिकारीहरुसँग कुरा गरेकी थिएँ। यसअघि अफ्रिकामा इबोला ब्रेक हुँदा त्याहाँका सैनिकहरुलाई नेपाल फिर्ता ल्याइ नुवाकोटमा क्वारेन्टाइनमा राखिएको थियो,' उनले विच्याट समूहमा लेखेकी छन्, 'सैनिक अधिकारीहरुले मसँग राष्ट्रपति तथा मन्त्रिपरिषदको निर्णय भए नेपाली सेना त्यसको लागि तयार रहेको बताउनु भएको छ। मैले नेपाली राजदूत तथा सरकारलाई यस विषयमा निर्णय लिन अनुरोध गर्दछु।'

वुहानमा मात्र होइन, हाल चीनमा अध्ययन गरिरहेका ७ हजार विद्यार्थी र विभिन्न पेशामा व्यवसायमा संलग्न एक हजार जना गरी करिब ८ हजार हाराहारीमा नेपाली रहेको भन्दै लम्सालले अन्य क्षेत्रबाट भने नेपालीहरु आफ्नै हिसाबले नेपाल फर्किइरहेको जानकारी दिए।

तर, यसरी आफ्नै पहलमा नेपाल फर्किने नेपालीहरु पनि सन्त्रासमा छन्। सिचुवानबाट बिहीवारमात्र नेपाल फर्किएका प्रशान्त आचार्यले भने, 'नेपाल त आइयो अब के? कोरोनाको संक्रमण छ कि छैन भनेर चेक गर्ने ठाउँ छैन्। विमानस्थलमा सामान्य ज्वरो नापेर छिर्न दिइयो। शरीरमा संक्रमण रहेछ भने परिवारसँग अन्यलाई पनि सर्ने खतरा देखियो।'

वायो केमिकल इन्जिनियरिङका विद्यार्थी उनले आफूलाई थर्मल स्क्यानरबाट मात्र चेक गरी पठाइएको भन्दै यसले मात्र संक्रमण नदेखिने बताए।

कोरोना भाइरसको संक्रमण शरीरमा प्रवेश गरेपछि दुई दिन देखि १४ दिन भित्र यसले आफ्नो लक्षण देखाउन थाल्छ। त्यस अवधिमा यसको लक्षण नदेखिन पनि सक्छ। थर्मल स्क्यानरले लक्षण देखिएका विरामीको मात्र पहिचान गर्ने उनको तर्क छ।

एक चिकित्सकलाई यस विषयमा सोध्दा प्रयाप्त मात्रामा किट नभएको र बाहिर पठाउँदा महँगो हुने भन्दै लक्षण देखिएका विरामीमा मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरेको बताएको उनको भनाइ छ।

'साथी भाइ भेट्न नमान्दा चित्त दुख्छ'

आफूलाई कोरोना नभएकोमा ढुक्क छन्, आचार्य। तर, पनि सतर्कता अपनाउन भने छाडेका छैनन्। 'सिधै घर पुगेँ। सेनिटाइजरको प्रयोग गरे। आशा छ म संक्रमित छैन। थप परीक्षणका लागि टेकु जाने तयारीमा छु। हेरौँ उनीहरुले के भन्छन्,' उनले भने।

चीनबाट सुरक्षित फर्कियो भन्नेमा साथीभाइ छरछिमेकमा खुशी नदेखिएको उनले बताए।

'अब आफ्नै अन्टी नै नजिक पर्न डराएपछि के भन्नु? यसले भाइरस नै लिएर आयो भन्ने नजरले हेर्छन्,' उनले दु:खेसो पोखे, 'मिल्ने साथीहरु पनि नजिक पर्न डराइरहेका छन्। भेट्न मान्दैनन्। ठीक छ, हात नमिलाउँला कुरा गर्न त हुन्छ नि।'

अहिले भेट्न डराउनेहरुको मुखमा परीक्षण गरेर कोरोना भाइरस नेगेटिभ प्रमाणित भएको कागजले हान्न मन छ उनलाई।

'आफ्नैले अर्कै नजरले हेर्दा पीडा हुन्छ नि ब्रो,' उनले भने, 'संक्रमण त छैन ढुक्क छु। तर, पनि कोरोना भाइरस नेगेटिभ भएको रिजल्टले मुखमा हान्नु मन छ।'

यता सिचुवानबाट फर्किएका प्रसान्त श्रेष्ठ पनि घर देखि बाहिर निस्किएका छैनन्। मोबाइल सम्पर्कमा आएका उनले भने, 'दाइ एक दुई दिन अझै पर्खनुस है अनि भेट्नुपर्छ।'

सम्बन्धित समाचार: 

कोरोना भाइरस अनुसन्धानका लागि 'ज्याक मा' फाउन्डेशनद्वारा १०० मिलियन युआन सहयोग

वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाँदै विभिन्न देश, नेपालीको उद्धार कहिले होला?

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै

पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

कोरोना भाइरसको विश्वव्यापी प्रभाव, विश्व स्वास्थ्य संगठनले गर्‍यो आपतकालको घोषणा

चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell