PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अकुपाई टुँडिखेलको ३ महिना : मेयरले मुख देखाएनन्, अब आँखा अदालततिर



सहयोग रञ्जित

अकुपाई टुँडिखेलको ३ महिना : मेयरले मुख देखाएनन्, अब आँखा अदालततिर

कार्तिक २३ गते सञ्जय अधिकारी बिहानै खुल्लामञ्च पुगे। कानूनमा स्नातकको परीक्षा दिएपछि फुर्सदमा रहेका उनी सम्पदा स्थलहरुको संरक्षणमा लागिरहेका थिए। त्यस दिन अधिकारी त्यहाँ पुग्नुको कारण थियो – अकुपाई टुँडिखेल।

काठमाडौंको मध्य भागमा कुनै बेला पानीले भरिएको खेत अर्थात् 'त्रिरत्नख्यो'लाई पुरानै अवस्थामा फर्काउने हेतुले आयोजना गरिएको अकुपाई टुँडिखेलमा सहभागी हुन बिहानै खुल्लामञ्च पुग्ने उनी पहिलो अभियान्ता थिए।

पढ्नुस:  'अकुपाइ टुँडिखेल' : 'हामीले धेरै सह्यौ, अब पनि चुप बसे केही बाँकी रहँदैन'

कुनै बेला एसियाकै विशाल परेड मैदान रहेको त्रिरत्नख्यो कालान्तरमा तिंख्य, तंख्यो हुँदै टुँडिखेल भयो। नेपालमा राणाशासन सुरु हुने बेलासम्म काठमाडौंको मध्य भागमा रहेको यो खेत बहुप्रयोजनमा प्रयोग गरिन्थ्यो। त्यहाँ नेवार समुदायले कूल पूजा गर्थे। दुईमाजु मन्दिरमा शक्तिको उपासना हुन्थ्यो। गाईगोरु चराइन्थ्यो। स्थानीयका लागि 'रिक्रिएसनल सेन्टर' जस्तै थियो टुँडिखेल।

समयक्रममा टुँडिखेलभित्र नै खुल्लामञ्च बनाइयो। नेपालमा प्रजातन्त्र ल्याउन ठूलो भूमिका खेलेको त्यही पानीको खेतमाथि बनाइएको खुल्लामञ्चमाथि अहिले झन् अतिक्रमण भएको छ।

राजा फाल्नेदेखि गणतन्त्र ल्याउनेसम्मका भाषण गुञ्जिएको खुल्लामञ्च गाडी पार्क गर्ने र फोहर मिल्काउने 'डम्पिङ साइट' बनेको छ। पुरानो बसपार्क क्षेत्रमा बहुप्रयोजनको भ्यू टावर बनाउने भनेर खुल्लामञ्चमा बसपार्क स्थान्तरण गरिएपछि राजनीतिक नेतृत्वको उदयस्थल खुल्लामञ्च नराम्ररी साँघुरियो।

पढ्नुस : नेताले बिर्सिएको खुल्लामञ्चमा हेर्नुस् कलाकारको कुची

खुल्लामञ्चमाथि ढलान गरियो, कालोपत्रे गरियो, सटर बनाइयो। मल्ल राजाहरुको देवाली मन्दिर दुईमाजुमा जनप्रतिनिधिकै संलग्नतामा अतिक्रमण गरियो।

त्यस्तै अतिक्रमणको विरुद्ध आवाज उठाउँदै सञ्जयजस्तै सयौं मानिसले खुल्लामञ्चलाई घेरेर सरकारलाई ब्युझाउँन पुगेका थिए। करिब एक घण्टासम्म रत्नपार्कदेखि खुल्लामञ्च र सैनिक मञ्चको बीचको बाटोमा मानव साङ्लो बनाएर अभियानको सुरुवात गरिएको थियो। उनीहरुले काठमाडौं महानगरपालिकालाई पहिलो चरणमा खुल्लामञ्चमा भएको अतिक्रमण हटाउन तीन महिनाको समय दिएका थिए।

यसैबीच टुँडिखेल र खुल्लामञ्च परिसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिए। शीर्ष राजनीतिक नेतृत्वबाट यस अभियानले साथ पायो। तर, काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य अभियानप्रति सकारात्मक देखिएनन्।

आज, अकुपाई टुँडिखेल अभियान सुरु भएको ३ महिना बित्यो। महानगर अझै पनि टुँडिखेलको विषयलाई लिएर गम्भीर नभएको सञ्जय बताउँछन्।

पढ्नुस: एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्‍यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा

'उहाँहरुले अनुगमन गर्नुभयो। तर, काम केही भएको छैन। माघ १ गतेबाट वडासँग समन्वय गरेर हामीले खुल्लामञ्चमा पार्किङ हटाउने अभियान चलायौं,' सञ्जयले भने, 'तर, महानगरपालिकाले आफूलाई वडाले गरेको निर्णय थाहा नभएको भन्दै पार्किङ हटाउन दिएन।'

अभियानकै कारण हाल खुल्लामञ्चका केही भाग खुल्ला बन्न सफल भएको छ। वीर अस्पतालको निर्माणका लागि राखिएको सामान विस्तारै खुल्लामञ्च परिसरबाट हटाउन सुरु गरिएको छ। अभियान्ताहरुले वीर प्रशासनसँग निर्माण कार्य सकिएसँगै त्यहाँ बनाइएको संरचना हटाउन माग गरेका थिए। यस्तै दरबार हाई स्कुल निर्माणका लागि चिनियाँ टोलीको लागि त्यहाँ बनाइएको क्याम्प यथावत् छ। स्कूलको निर्माणको काम अन्तिम चरणमा पुगेसँगै त्यो क्याम्प पनि खाली हुने प्रक्रियामा छ। तर, खुल्लामञ्चमा रहेको पार्किङ र बसपार्क हटाउनेबारे भने नगरपालिकाले कुनै चासो नदेखाएको अभियानका संयोजक विजय श्रेष्ठले बताए।

'तीन महिनासम्म हामीले विभिन्न कार्यक्रम गर्‍यौं। टुँडिखेल र खुल्लामञ्चको इतिहास र ऐतिहासिक पक्ष दर्साउने प्रयास गर्‍यौं। धेरैलाई हामीले बुझाउन सफल भयौं तर नगर पितालाई भने हामीले सायद् बुझाउन सकेनौं,' श्रेष्ठले भने।

तीन महिने अभियानका क्रममा महानगर प्रमुख शाक्यलाई धेरैपटक भेट्न खोज्दा समय उपलब्ध नगराएको उनको गुनासो छ। 'उहाँ त हामी सबैको अभिभावक हो। तर जबजब हामी उहाँलाई भेट्न गयौं। उहाँले भेट्न चाहनु भएन,' उनले भने।

पढ्नुस्: खुल्लामञ्चपछि मल्ल राजाको देवाली मन्दिर 'दुईमाजु' अतिक्रमणमा, साँघुरिँदै टुँडिखेल

अभियानको तीन महिने डेडलाइन पार गरेको दिन विजय र संजयसहित अकुपाई टुँडिखेलमा आवद्ध अभियान्ताहरु आज बागदरबारस्थित महानगर कार्यालय फेरि पनि पुगे। उद्देश्य थियो – नभेटिरहेको महानगरप्रमुखलाई अल्टिमेटम दिनु।

तर, आज पनि उनीहरुले मेयर शाक्यलाई भेट्न पाएनन्।

बागदरबार प्रवेशद्वार अगाडि अभियान्ताहरुले करिब एक घण्टा धर्ना दिएर मेयरलाई भेट्न कार्यालय पुगेका थिए। तर, मेयर र उपमेयर अनुपस्थित भएपछि अभियानले महानगरका प्रशासन विभागका प्रमुख नमराज ढकाललाई 'अल्टिमेटम पत्र' थमाए।

अभियान सुरु भएपछि गत मंसिर ९ गते पनि अभियान्ताको टोली बागदरबार पुगेको थियो। मेयरलाई नभेटिएपछि उनीहरुले ढकाललाई नै त्यसदिन 'ध्यानाकर्षण पत्र' बुझाएका थिए।

ढकालले त्यसबेला सार्वजनिक सम्पत्तिको संरक्षणको जिम्मेवारी स्थानीय सरकारको रहेको टुँडिखेलजस्तो ऐतिहासिक सम्पदा केही प्रयोजनका लागि अकुपाइ भएको भन्दै छिट्टै खुल्लामञ्चमा बनाइएका संरचना खाली हुनेछ आश्वासन दिएका थिए।

साढे दुई महिनापछि अभियान्ताहरुले ढकाललाई उनैले दिएको आश्वासन सम्झाए। ढकालले महानगरले प्रयास गरिरहेको र दरबार हाई स्कूल र वीर अस्पतालका राखिएको सामान हटाउन पत्रचार भइसकेको दाबी गरे। तर, सानो टुँडिखेल (हाल सैनिक मुख्यालय) रहेको स्थानका बारेमा भने सरकार र सेनासँग छलफल गर्नुपर्ने बताए।

अभियान्ताहरुले ढकालको जवाफमा चित्त बुझाएनन्। वडाले पार्किङ राख्न नदिने भनेपछि महानगरले त्यसलाई रोक्न खोज्नुको कारण खोज्दा ढकालले वडा र महानगरबीच समवन्यको अभावका कारण त्यस्तो भएको हुनसक्ने तर्क गरे। उनले मंसिर ९ गते झै चाँडै खुल्लामञ्च खुल्ला गर्न मेयर र उपमेयरसम्म कुरा पुर्‍याउने आश्वासन दिए।

'हामीले निर्धारण गरेको समय सकिएको छ। तर यो अभियान यहीँ सकिँदैन,' अभियानका संयोजक श्रेष्ठले भने, 'हामी टुँडिखेललाई पूर्ववत् रुपमा फर्काउन प्रयास गरिरहनेछौं। हरेक शनिवार कार्यक्रम नगरे पनि हामी चरणबद्ध रुपमा खबरदारी गरिरहनेछौं।'

तीन महिनाको समयमा अभियानले पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सत्तारुढ र विपक्षी दलका नेतालाई भेटेर टुँडिखेलमा भइरहेको अतिक्रमणका बारेमा जानकारी दिएका थिए। पूर्व प्रधानमन्त्रीहरु र अन्य नेताहरुले खुल्लामञ्चमा भएको अतिक्रमण हट्नुपर्छ भन्दै अभियानको समर्थन समेत गरेका थिए।

पढ्नुस् : अकुपाइ टुँडिखेल : अभियन्तादेखि किन तर्किन्छन् मेयर शाक्य?

महानगरबाट टुँडिखेलको संरक्षणका लागि केही नगरेको भन्दै अभियानले अब संवैधानिक उपचार खोज्न बाध्य हुने जनाएको छ। अभियानले छिट्टै सर्वोच्च अदालतमा टुँडिखेलको संरक्षणका लागि रिट दिने तयारी गरिरहेको छ। अदालतमा सार्वजनिक मुद्दा दायर गर्न अभियान्ताहरुले एक रुपैयाँ उठाएर टुँडिखेल खुल्ला गराउने अभियानमा सबैको अपनत्व कायम गर्ने प्रयास गरिरहेका छन्।

सञ्जयले भने, 'यो हाम्रोमात्रै अभियान होइन। सबैको अभियान हो। मेयरले हाम्रो आवाज सुनेनन्। त्यसैले अब अदालत जाँदैछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell