PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुबईको डेरा पुग्दा हत्कडीसहित आए प्रहरी अनि सोधे : दिस इज माई कन्ट्री, ह्वाइ यु कम हेयर? (दुबई डायरी ८)



नेत्र तामाङ

दुबईको डेरा पुग्दा हत्कडीसहित आए प्रहरी अनि सोधे : दिस इज माई कन्ट्री, ह्वाइ यु कम हेयर? (दुबई डायरी ८)

डिसेम्बर ५।

भोलि काठमाडौं फर्कने दिन। युनियन नजिकैको अल गुरेअर सेन्टरमा रहेको क्यालिफोरमा पुग्यौं हामी। घरका लागि केही सामान लियौं।

त्यसपछि भीम भाइ ड्युटीतिर लागे।

म भने एक जना नेपालीलाई यतै भेट्ने तयारीका साथ बसेंँ।

नाम दिइएको थियो - कुल मगर। ओभर स्टेमा रहेका उनी आफ्नो पीडा सुनाउन चाहन्थे। उनलाई भेट्न म यहाँको बस प्रतीक्षालयभित्र पसेंँ। बस प्रतीक्षालय वातानुकूलित अनि वाइफाइसहितको। यही फोन चलाउँदै उनको पर्खाइ जारी रह्यो।

तर, दिउँसो ३ बजे भेट्ने भनिएका उनी ४ बज्दासम्म पनि सम्पर्कमा आएनन्। त्यसपछि म लागे मेट्रोबाट डेराकै अबु बुकर रेल स्टेसन।

अबु बुकरमा एकजना नेपाली समाजसेवीले भेट्ने समय दिएका छन्।

ती समाजसेवीसँग दुबईमा रहेका नेपालीका सुखदु:खबारे कुरा सुरु गरेंँ। दुबईमा नेपालीको अवस्था कस्तो छ त? यसै विषयमा कुराकानी थालेको मात्र थिएँ।

हत्कडी र पेस्तोलसहित दुई जवान दुबई प्रहरी हामी रहेको कोठामा प्रवेश गरे। अनि ढोका बन्द गरे। घिउ रंगको ड्रेसमा उभिएका सुकिला र हाँसिला थिए दुवै जवान।

दुबई जाने प्रक्रिया थाल्नुअघि नै मलाई केही साथीहरुले भनेका थिए : पत्रकारका लागि दुबई जाने भिसा पाउन अलि मुश्किल हुन्छ।

नियम त्यस्तै कडा छ भन्ने पनि सुनेको थिएँ दुबईमा। तर, भनेजस्तो गाह्रो भने भएन यहाँ आउन। यहाँ आइपुगेको हप्ता दिन बढी भइसक्यो, अहिलेसम्म कुनै कानुनी परिबन्दमा परिएको छैन।

केही ठाउँका फोटो र भिडियो डराइडराइ लिएको थिएँ मैले। यहाँ हरेक ठाउँमा सिसी क्यामरा हुन्छन् भनी सचेत गराएका थिए भीम भाइले पनि।

कतै यिनै कारण मसँगै भेट्न आइपुगेका त हैनन् यी प्रहरी?

सुकिला र हँसिला भए पनि म सशंकित भएँ। प्रहरीले मलाई नै फलो त गरेका त हैन?

'अस्सलामु, आलेकुम' प्रहरीले यसो भन्दै पालैपालो हात मिलाए। 'वालेकुम सलाम,' ती समाजसेवीले हात मिलाउँदै उनीहरुलाई जवाफ फर्काए।

मलाई पनि अस्सलामु आलेकुम भन्दै हात मिलाए ती प्रहरीले। तर, मैले भने 'वालेकुम सलाम' भन्न सकिनँ। एक त मलाई यस्तो भन्नुपर्छ भन्ने ज्ञान पनि थिएन। अर्को म त्यसै डराइरहेको थिएँ।

'ए इन्सान,' भनेर मतिर हेरे ती प्रहरीले।

'नेपालसे आए हे,' ती समाजसेवीले मेरो छोटो परिचय गराइदिए।

'अन्दर आओ,' आफै बन्द गरेको ढोका खोलेर एक जवानले बाहिरतिर हेर्दै बोलाए।

बुर्का लगाएकी एक जना महिला भित्र पसिन्।

तिनी रहिछन् पाकिस्तानी। आफूलाई समयमै तलब नदिएको भन्दै उनले प्रहरी गुहारेकी रहिछिन्।

अनुहार नछोपिने बुर्का लगाएकी ती महिलाको समस्यालाई लिएर मैले भेट्दै गरेको समाजसेवीलाई सोधपुछ गर्न पो प्रहरी यहाँ आएका रहेछन्।

'वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ' भएछ। त्यसपछि बल्ल होश आयो मेरो।

ती समाजसेवीको दुबईमा व्यवसाय पनि रहेछ। पाकिस्तानी महिला उनै समाजसेवीको कामदार। तर, तलब पाउन छाडेपछि एक महिना अघिबाट काम छाडेकी रहेछिन्।

एक हप्ताको समय दिएको रहेछ तलब चुक्ता गर्न।

म्याद नाघेको भन्दै प्रहरी साथमा लिएर आएकी रहिछिन् उनी।

प्रहरीले तलबको बारेमा प्रश्न गर्न थाले दुई जनासँग।

प्रहरीको साथ पाएर हो कि, पाकिस्तानी आफ्नो पूर्व मालिकसँग आक्रोशित भइहालिन् - 'हरामखानी। ड्रामेबाज।'

उनी त्यसरी कराउन थालेपछि प्रहरीले सम्झाए, 'कुल कुल।' अरबीबाटै सम्झाउन थाले प्रहरीले।

त्यसपछि ती महिला शान्त भइन्।

लगत्तै प्रहरीले अंग्रेजीमा वार्ता थाले।

सानो रकमका लागि लेबर कोर्ट किन जाने भनेर समाजसेवीलाई सम्झाउन थाले।

समाजसेवीले उनको तलब चुक्ता गर्न केही समयको माग गरे।

प्रहरी भन्दै थिए : यति सानो रकमका लागि सधै आउनु राम्रो पनि हैन।

समाजसेवी पनि के कम।

उनी पनि भन्दै थिए : किन प्रहरी यहाँ आइरहेको छ। कुनै फोन बिनै?

मेरो घरको भाडा तिर्नुपर्छ। अहिले कसरी दिने उनको पैसा?'

प्रहरीले हाँस्दै सोधे, 'दिस इज माई कन्ट्री ह्वाइ यु कम हेयर?'

प्रहरीले यो समस्या सक्दो चाँडो सुल्झाउन भने।

ती व्यवसायीले भने, 'गिभ मी वान विक टाइम।'

प्रहरीले भने, 'गिभ मी वान डे।'

एक दिन तोके समाजसेवीले। प्रहरीले पुन दोहोर्‍याए सोधे, 'ह्वाट डेट?'

त्यसपछि नोट गरे। अनि यो दिनमा पनि तलब चुक्ता नगरे हामी आउन बाध्य हुन्छौ भनी बिदा भए प्रहरी।

'खुदा फिस' भन्दै दुवै प्रहरीले मसँग पनि हात मिलाए। यसपटक भने, मेरो मुखबाट पनि निस्कियो, 'खुदा फिस।'

प्रहरीसहित ती महिला निस्केपछि काममा खासै दिलचश्पी नदिएकाले ती पाकिस्तानीलाई हटाउन तलब नदिएको भन्दै थिए समाजसेवी। केही क्षणको कुराकानीपछि फोन आयो।

क्यालिफोरका वरिष्ठ केक सेफ झापाका बिस लाल रहेछन्। उनले मलाई जसरी पनि आफ्नो एपार्टमेन्ट लैजाने खातिरी गरे।

म अल बुकरबाट मेट्रो हुँदै युनियन फर्कें। बिसलाल उमेरमा म भन्दा निकै उमेरदार देखिन्थ्यो। तर, मलाई दाइ भन्दै युनियनमा रिसिभ गर्न आइपुगे।

राति साढे नौ बजिसकेको थियो। बिसलालले मलाई रसअल खैमा बस स्टेसनतिर डोर्‍याए। त्यहाँबाट भित्रभित्र पसेपछि पुगियो उनको एपार्टमेन्ट।

झन्डै १२ वर्ष पुगिसकेको रहेछ बिसलालको दुबई बसाई। मेरो लागि फलफूलदेखि ह्विस्कीसम्म तयारी गरेका रहेछन् उनले।

फलफूल र ह्विस्कीको साथमा लगभग एक घन्टा हामी गफियौ।

दुई जना अरु साथीहरु छन् रुममा।

तर, उनीहरु मसँग चिनजान गर्न अक्मकाउँदै छन्। काम नपाएर तीन महिनादेखि काम खोज्दै रहेको सुनाए पनि नाम भने बताएनन्। कतै ओभर स्टे समस्या त हैन? मनको कुरा खोल्न नचाहेपछि मैले पनि बल गरिनँ।

साढे १० बजिसक्यो। त्यसैले मैले आफूलाई जसरी पनि आफ्नो रुम पुग्नुपर्ने बाध्यता सुनाएँ।

किनभने सामान प्याकअप गर्नुछ। भोलि काठमाडौं उड्नुछ।

तर, बिसलाल मलाई उठ्न दिइरहेका छैनन्। आजको रात यतै बस्नुपर्ने कर गर्दैछन्।

म जबरजस्ती उठे। त्यसपछि बिसलाल आइपुगे सडकसम्मै।

उनैले ट्याक्सी रोकिदिए अनि पुग्नुपर्ने ठाउँ पनि भनिदिए। अनि जबरजस्ती १०० दिराम मेरो खल्तीमा हालिदिए। विदा भयौं हामी।

ट्याक्सी चालक रहेछन् पाकिस्तानी।

पाकिस्तानी ड्राइभरहरुले फनफनी घुमाउँछन्, अनि मिटरमा चर्को रकम उठाउँछन् - दुबई आइपुगेपछि मलाई धेरै नेपाली साथीभाइले यो कुरा सुनाएका थिए। आज परिने भो फन्दामा।

पाकिस्तानी मीठा कुरा गर्दा रहेछन्।

मलाई सोध्दै थिए : कति भयो दुबई आएको। काम कस्तो छ?

'म त ९ दिन भयो। अब भोलि जाने। पत्रकार हुँ,' मैले भने।

'घुम्न आएको?' उनी छक्क परे। त्यसपछि उसले मेरो परिवारको बारेमा सोध्न थाल्यो।

मैले पनि फटाफट उत्तर दिए।

मलाई इन्टरनेसनल मिडिया प्रोडक्सन जोनको लेकसाइड पुग्नुछ।

उनले फनफनी घुमाउलान् जस्तो लागेन। किनकि हामी मीठा गफमा मस्त छौ।

एकले अर्काको परिवार र देशबारे प्रश्नोत्तर गरिरहेका छौ। त्यसैले पनि म विश्वस्त हुन सकेको।

ट्याक्सीको मिटरले ७० दिराम चढाउँदा हामी लेकसाइड पुग्न लागिसकेका थियौं।

'मैले यहाँ आइपुगेपछि सुनेको यहाँका ट्याक्सी ड्राइभरहरु फनफनी घुमाएर यात्री ठग्छन्,' चालकलाई सुनाएँ।

उनी भन्दै थिए, 'होता हे एसे लोग। मगर एसा लोग भि होता हे जो अल्लाहसे डरतें हे।'

सम्बन्धित समाचार

दैनिक १६ सय युवाले देश छोड्छन्, भिजिट नेपाल २०२० मा पर्यटकलाई कसले गर्ने स्वागत? {दुबई डायरी १}

दुबईमा मिङ्मार लामा, कुलमान घिसिङ र राष्ट्रपति भण्डारीको खोजी {दुबई डायरी २}

दुबईमा भारतीय चालकको सुझाव : 'दारुमे पैसा वेस्ट मत करो'; डाक्टरको सुझाव - रक्सीको लतमा लभ डाँडामा नलड्नु{दुबई डायरी ३}

अबुधाबीको शौचालयमा सेल्फी, फिलीपिनीसँगको त्यो यात्रा : 'नो किस, नो फोटो' {दुबई डायरी ४}

यस्तो रहेछ पुरानो दुबई, सात देश एक भएपछि विकासको रफ्तार, हामी भने साततिर फर्कँदै {दुबई डायरी ५}

दुबई क्रिकबाट भ्रमको संग्रहालयभित्र पुग्दा {दुबई डायरी ६}

बुर्काको देशमा बेल्ली डान्स, बालुवामा पैसाको वर्षा {दुबई डायरी ७}



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell