PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सरकार सधैं तयारीमै, आएकाहरु अलपत्र : कोरोनाको कहरमा निम्छरो बन्दै सरकार



विधुर ढकाल

सरकार सधैं तयारीमै, आएकाहरु अलपत्र : कोरोनाको कहरमा निम्छरो बन्दै सरकार
रुपन्देहीको कञ्चन गाउँपालिकाले तयार पारेको क्वारेन्टाइन भित्रको दृश्य। फोटो: कञ्चन खबर

काठमाडौं : दिनहुँ भारतबाट नेपाल प्रवेश गर्नेको संख्या हजारौंमा छ। भारतबाट नेपाल आउनेहरुसँगै क्वारेन्टाइनमा रहेकाहरुको संख्या पनि बढ्दै गएको छ। क्षमताभन्दा बढी संख्यामा क्वारेन्टाइनमा मानिसहरु बस्न बाध्य भइरहेका छन्।

पछिल्लो एक सातामा मात्र भारतबाट आउनेहरुको संख्या ५० हजार बढी पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतवार दिउसो ४ बजेसम्मको अद्यावधिक तथ्यांक अनुसार देशभरमा एक लाख १९ हजार एक सय ९२ जना क्वारेन्टाइनमा रहेका छन्। अघिल्लो साता क्वारेन्टाइनमा रहेको संख्याको २५० प्रतिशत हो।

अघिल्लो साता जेठ १२ गतेसम्मको तथ्यांक अनुसार देशभर क्वारेन्टाइनमा रहेकाहरुको संख्या ४६ हजार २९ थियो। मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा तीन हजार पाँच सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्।

संक्रमण बढी देखिएका प्रदेशमा क्वारेन्टाइन भरिभराउ छन्। रातारात 'क्वारेन्टाइन' बनाइएका छन्। यसरी बनाइएका क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा संक्रमणको जोखिम एकातिर छ। अर्कातिर क्वारेन्टाइनमा नै दुई जनाको मृत्यु भइसकेको छ।

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा भारतबाट आएका एक जनाको मृत्यु भयो। त्यसको दुई सातापछि कर्णाली प्रदेशको दैलेखमा फेरी एक जनाको मृत्यु भयो। उनमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

अहिले प्रदेश २ मा सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ। त्यसपछि प्रदेश ५ मा संक्रमण बढी छ। कर्णाली प्रदेश तेस्रो नम्बरमा छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा सबैभन्दा बढी ६२४ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ मा ५७३ पुगेको छ।

त्यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ।

क्वारेन्टाइन भरिँदै जाँदा संक्रमितको संख्या पनि बढ्दै गएको छ।

सबैभन्दा बढी संक्रमण भएको प्रदेश २ मा क्वारेन्टाइनको अवस्था नाजुक छ। त्यहाँ संक्रमितको संख्या बढ्दै गए पनि क्वारेन्टाइनहरुमा स्वास्थ्य सुविधा पनि कम छ।

प्रदेश २ मा सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो रौतहट। यहाँ संक्रमितको संख्या २१६ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यहाँ क्वारेन्टाइनमा चार हजार आठ सय सात जना रहेका छन्। यहाँ दुई हजारको मात्र स्वाब संकलन भएको छ कोरोना परीक्षणका लागि।

यो पनि:

क्वारेन्टाइनमा ८ हजार मानिस, उपचारमा १० डाक्टर, स्वास्थ्यकर्मी भन्छन् : सरकार टुलुटुलु मात्र हेर्छ

१४ दिनको क्वारेन्टाइन बसाइसम्म पनि उनीहरुको कोरोना परीक्षण हुन सकेको छैन। जिल्ला स्तरमा आवश्यक स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्रीका विषयमा केन्द्र र प्रदेश सरकार उदासिन बनिरहेको स्थानीय स्वास्थ्यकर्मी बताउँछन्।

‘हामीले सबै समस्यलाई प्रदेशदेखि केन्द्रसम्मका निकायलाई जानकारी गराएका छौ,’ स्वास्थ्य कार्यालय रौतहटका कोरोना महामारीका फोकल पर्सन हरेन्द्र गुप्ताले भने, ‘सरकारले यहाँको समस्या कहिले गम्भिर लिन्छ, ढिलो गर्‍यो भने जुनबेला पनि अवस्था नाजुक बन्नसक्छ।’

हालसम्म सबैभन्दा बढी सुदुरपश्चिम प्रदेश र प्रदेश ५ मा क्वारेन्टाइनमा मानिसहरु रहेका छन्। सुदुरपश्चिम प्रदेशमा संक्रमितको संख्या २७ जना छन्। प्रदेश ५ मा भने ६ सयको हाराहारीमा संक्रमित छन्।

प्रदेश ५ को सबै भन्दा बढी संक्रमित भएको जिल्ला हो कपिलवस्तु। कपिलवस्तुमा हालसम्म २७० जना संक्रमित भएका छन्। जिल्लाको यशोधरा गाउँपालिका सबैभन्दा बढी संक्रमित गाउँपालिका हो। यहाँ एक हजार ६ सय २ जना क्वारेन्टाइनमा रहेका छन्। जेठ १७ गतेसम्मको तथ्यांक अनुसार यशोधरा गाउँपालिकामा ७२ जना संक्रमित छन्। यो संख्या ३६८ जनाको परीक्षण गर्दा आएको संख्या हो। गाउँपालिकामा क्वारेन्टाइनमा रहेका मध्ये ७०२ जनाको स्वाब संकलन गरिएको छ। जसमध्ये ३६८ जनाको मात्र परीक्षणको नतिजा आइपुगेको छ।

परीक्षणको नतिजा समयमै आउन नसक्दा क्वारेन्टाइनबाट मानिसहरुलाई विदा गर्न नसिकएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योती प्रकाश दुबेले बताए।

'दिनदिनै नेपाल आउनेहरुको संख्या बढ्दै गएको छ। संख्या बढ्दै जाँदा व्यवस्थापनमासमेत समस्या थपिँदै गएको छ,' उनले भने, 'परीक्षण नहुँदा उनीहरुलाई घर पठाउन पनि पाएका छैनौं। भएकालाई पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। अझै मानिसहरु थपिइरहेका छन्।'

भारतमा रोजगारी गर्न गएका व्यक्ति फर्कने क्रम बढ्दै गएपछि सीमावर्ती जिल्लाहरुमा क्वारेन्टाइनमा अटिनअटी मानिसहरुलाई राखिएको छ। स्थानीय प्रशासन तथा स्थानीय सरकारलाई व्यवस्थापनमा हम्मे हम्मे परेको छ।

क्वारेन्टाइनबाट मानिसहरु भागेका घटना पनि सीमावर्ती जिल्लाबाट सार्वजनिक हुँदै आएका छन्।

प्रदेशका क्वारेन्टाइन भरिएका छन्। क्वारेन्टाइन भरिन थालेपछि यहाँका स्थानीय तहहरु थप क्वारेन्टाइन बनाउन जुटेका छन्। यसरी बनेका क्वारेन्टाइनमा खाने देखि सुत्नेसम्मका समस्या ब्याप्त छन्।

प्रदेश ५ का १२ जिल्लामा एक हजार दुई सय ३९ क्वारेन्टाइन रहेको प्रदेशको तथ्यांकमा उल्लेख छ। क्वारेन्टाइनमा रहेका ३५ हजार मध्ये तीन हजारको पनि परीक्षण हुन सकेको छैन। यद्यपि १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी र अति प्रभावित क्षेत्रबाट आएकालाई त्यसभन्दा छिटो पीसीआर परीक्षण गर्न लागिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए।

संघीय सरकारले पठाएका भीटीएम र पीसीआर किटले त्यहाँ परीक्षणका लागि आवश्यकतालाई धान्न सकेका छैनन्। परीक्षणको पालो कुरेर मानिसहरु एक महिना देखि क्वारेन्टाइनको अव्यवस्थित बसाई बस्न बाध्य छन्।

गर्मी याममा तराइका जिल्लामा तयार पारिएका यस्ता क्वारेन्टाइनमा पंखा, खानेपानीको पनि राम्रो व्यवस्था नभएको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गर्छ। मौका मिले भागेर निस्किने गरेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीले नै क्वारेन्टाइन व्यवस्थित हुन नसकेको स्वीकार्छन्। क्वारेन्टाइन बसाई सुरक्षित नहुँदा संक्रमणको जोखिम पनि बढेको उनको भनाइ छ।

धेरै मानिस भएका कारण क्वारेन्टाइनमा सामाजिक दुरी कायम हुन सकेको छैन्। यसैले पनि क्वारेन्टाइनमा रहेका मानिसहरुमा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदै गएको छ।

यो पनि : करिब एक लाख नेपाली क्वारेन्टाइनमा, अधिकांश कोरोना परीक्षणको पर्खाइमा

क्वारेन्टाइनमा रहेका व्यक्तिको भन्दा पीसीआर परीक्षणको संख्या आधा भन्दा केही बढी मात्र छ। आइतवार सम्मको तथ्यांक अनुसार ६९ हजार पाँच सय ८७ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ।

यसरी क्वारेन्टाइनमा बसेकाहरु सरकारले तयार गरेको गाइडलाइनको परीक्षणको प्रोटोकलमा परेका हुन्। तर प्रोटोकल बाहिर रहेका काठमाडौंमा बसेका सांसद नेताका आसेपासेको परीक्षण गरिएको छ। भिटीएमको अभावका कारण क्वारेन्टाइनमा रहेकाहरुको परीक्षणका लागि स्वाब संकलन हुन सकेको छैन्।

रुपन्देहीको कोटहीमाई गाउँपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु क्वारेन्टाइन व्यवस्थित गर्न माग राख्दै प्रदर्शन गर्दै। फाइल फोटो

यो पनि:

क्षमताभन्दा धेरै मानिस क्वारेन्टाइनमा, आइसोलेसन वार्ड पनि अस्पतालमा अपुग

योजना कागजमै सीमित सहतमा भयावह अवस्था

सरकारले तयार गरेको कार्ययोजना अनुसार कागजमा बनाइएका क्वारेन्टाइनहरु सतहमा पनि बनाइएका भए अहिलेको यो अवस्था आउने थिएन्।

सरकारले तयार गरेको कार्ययोजना अनुसार समयमै क्वारेन्टाइन बनेको भए साढे पाँच लाख जना सहजै क्वारेन्टाइनमा अट्ने थिए। तर, सरकार संक्रमणको भयावह अवस्था नआउँदासम्म निदाएर बस्यो। जब संक्रमितको संख्या बढ्दै गयो, जब भारतबाट आउनेहरुको संख्या बढ्दै गयो। तब मात्र स्थानीय सरकारलाई प्रदेश र केन्द्र सरकारले क्वारेन्टाइन बनाउन दबाब दियो। लकडाउनका कारण बन्द रहेका विद्यालयमा सामान्य म्याट राखेर क्वारेन्टाइन बने। तिनै म्याटको संख्या गनेर क्वारेन्टाइनको क्षमताको रुपमा गणना गरियो।

सरकारको रेस्पोन्स प्लानमा प्रत्येक प्रदेशमा दुई हजार सैय्या क्षमताको क्वारेन्टाइन निर्माण गर्नुपर्ने थियो। प्रत्येक महानगरपालिकामा दुई हजार सैय्या, उपमहानगरपालिकामा एक हजार सैय्यानगरपालिकामा पाँच सय देखि एक हजार र प्रत्येक गाउँपालिकाले कम्तिमा पाँच सय सैय्या निर्माण गर्नुपर्ने थियो। त्यस्तै काठमाडौं उपत्यका तीन जिल्लामा पाँच हजार सैय्याको क्वारेन्टाइन बनाउनुपर्ने थियो। बनाइएन्।

अहिले संक्रमण बढ्दै जाँदा गाउँपालिका र केही नगरपालिकामा विद्यालयमा बनेका अव्यवस्थित क्वारेन्टाइनहरु बनेका छन्। तर, प्रदेशले संस्थागत रुपमा क्वारेन्टाइन बनाउन सकेका छैन्। पाँच सयको क्वारेन्टाइन बनउनुपर्ने गाउँपालिकाले दुई हजार भन्दा माथि 'अव्यवस्थित' क्वारेन्टाइन बनाएर चलाएका छन्। अझै पनि संस्थागत क्वारेन्टाइन बनाउन तर्फ सरकार लागि परेको छैन्।

यो पनि:

कोरोनासँग लड्ने सरकारको योजना कागजमै सीमित : लक्ष्य पाँच लाखलाई राख्ने, बन्यो ५५ हजार अट्ने

भारतबाट आउनेलाई राख्ने ठाउँ छैन तेस्रो मुलुकबाट आउनेलाई कहाँ राख्ने?

अहिले क्वारेन्टाइनहरु भारतबाट आएकाहरुले भरिएका छन्। सरकारले तेस्रो मुलुकहरुबाट पनि नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले करिब पाँच लाख मानिस नेपाल फर्किने अनुमान गरेको छ।

पाँच लाख जनालाई एयरलिफ्ट गर्दै काठमाडौंमा ओराल्दै गर्दा उनीहरुको व्यवस्थापन कसरी गर्ने चुनौतीपूर्ण छ। संस्थागत रुपमा काठमाडौं उपत्यकामामा पाँच हजार जना अट्ने क्वारेन्टाइन बनाउने भनिएको भए पनि त्यस्तो बन्न सकेको छैन। काठमाडौं महानगर पालिकाले दुई हजार ललितपुर महानगरले दुई हजार र अन्य नगरपालिकाले एक/एक हजार क्वारेन्टाइन बनाउनुपर्ने थियो। तर त्यसअनुरुप काठमाडौंमा क्वारेन्टाइन बन्न सकेको छैन।

काठमाडौं महानगरपालिकाले त क्वारेन्टाइन नै नबनाउने बताउँदै आएको छ। अन्य प्रदेश र स्थानीय तहका व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइन नबनाउने महानगरको भनाइ छ। यस्तोमा यसरी एयरलिफ्ट गरिने व्यक्तिलाई कहाँ कुन क्वारेन्टाइनमा राख्ने?

चीनको वुहानबाट ल्याइएका विद्यार्थीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने क्रममा भएको स्थानीयको प्रदर्शनलाई हेरौँ। आज भोली भन्दा भन्दै उनीहरुलाई राख्ने क्वारेन्टाइनको टुंगो नलाग्दा एक महिनापछि उनीहरु काठमाडौं ओर्लिएका थिए।

उनीहरुलाई राख्ने ठाउँको प्रवन्ध नहुँदै विदेशमा रहेका कुटनीतिक नियोगले प्रक्रिया थालिसकेका छन्। तर यहाँ सरकारले उनीहरुलाई राख्ने क्वारेन्टाइनको व्यवस्थापन गर्न तर्फ काम थालेको देखिँदैन्।

यसरी अहिले भारतबाट जति संख्यामा मान्छे आउँछन्। बन्द रहेका विद्यालयमा त्यति नै संख्यामा म्याट थपेर व्यवस्थान गरेको जस्तै गरी व्यवस्थापनको तयारी हो भने अर्को भयावह निम्तिने जोखिम छ। यसतर्फ सरकारले सोचेको देखिँदैन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell