PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पानीका लागि आफैँ तिर्खाएका पाटन दरबार भित्रका हितिहरुमा 'रिचार्ज', पाए पुन: जीवन



सहयोग रञ्जित

पानीका लागि आफैँ तिर्खाएका पाटन दरबार भित्रका हितिहरुमा 'रिचार्ज', पाए पुन: जीवन

२०४६ साल अघिको कुरा हो। पाटन दरबारभित्र रहेको सुन्दरी चोकमा जिल्ला प्रहरी कार्यालय थियो। दरबारका साँघुरा कोठामा कहिँ प्रहरी बस्थे त कहिँ कैदी। सुन्दरी चोकमा तुसा: हिति (ढुंगेधारा)  रहेको क्षेत्रमा समेत प्रहरीको क्याम्प थियो। कुनैबेला राजारानीको ‘रोयल रेसिडेन्स’ रहेको सुन्दरी चोक कारागारमा रुपान्तरण भएको थियो। मल्लराजाहरुले थुप्रै गीत र कविता रचना गरेको ऐतिहासिक दरबारमा प्रहरीको रजाइँ थियो।

२०४६ सालमा पंचायतको अन्त्य र प्रजातन्त्रको माग गर्दै ‍जनता सडकमा ओर्लिएका बेला नागरिकको पहिलो तारो बन्थे प्रहरी र प्रहरी चौकी। मल्लकालिन दरबार क्षेत्रमा रहेको प्रहरी कार्यालयमा पनि त्यही घानमा पर्‍यो। प्रजातन्त्रको माग गर्दै आन्दोलनमा होमिएका प्रदर्शनकारीहरुले मंगलबजार क्षेत्रबाट प्रहरी कार्यालय रहेको दरबारको भवनमा ढुंगा प्रहार गरे। जसकारण त्यहाँको हस्ती हाड (हात्तीको दारा) को झ्यालसहित अन्य काष्ठकलामा असर पुग्यो।

आन्दोलनको बलमा देशमा पंचायत अन्त्य भयो नै वर्षौंदेखि प्रहरीको नियन्त्रणमा रहेको सुन्दरी चोकले पनि प्रजातन्त्रको अनुभूति गर्न पायो। दरबारबाट प्रहरी कार्यालय हटाइयो। त्यसबेलासम्म सुन्दरी चोकमा रहेको तुसा: हितिमा पानी आउने गरेको स्थानीय बताउँछन्।

प्रजातन्त्रसँगै काठमाडौं उपत्यकामा ‘प्रजा’को संख्या पनि बढ्यो। पाटन दरबार आसपास घरहरु थपिए। ललितपुरमा शहरीकरण बढ्यो। जसकारण बिस्तारै त्यहाँका प्राकृतिक स्रोतबाट आउने पानीमा असर पुग्यो। कारण- राजकुलोहरु मासिए। कुलोमाथि नै घर बने। पोखरीमाथि घर बने। त्यसकारण हिति (ढुंगेधारा) मा पानी आउन काम भयो। विस्तारै हितिहरु नै पानीको लागि तिर्खाए। तुसा: हितिमा पनि पानी आउन बन्द भयो।

+++

सुन्दरी चोकको पछाडि राजारानी घुम्न बगैंचा थियो। भण्डारखाल बगैंचासँगै बनाइएका थिए पोखरी र हिति। कमल फुल्ने भएकोले पोखरीको नाम कमल पोखरी र हितिको नाम भण्डारखाल हिति हुन गयो।

यही पोखरीमा राजा रानी र राजपरिवारका सदस्यहरु स्नान गर्थे। अन्यलाई पोखरीमा स्नान गर्न रोक थियो। पोखरी परिसरमा जुत्तासमेत लगाएर जान निषेध थियो। रानीहरुलाई स्नानपछि लुगा फेर्नका लागि पोखरी छेउमा नै ढुंगाको कलात्मक कोठा बनाइएको छ। जुन अहिले पनि देख्न सकिन्छ।

किम्बदन्ती अनुसार सिद्धिनरसिंह मल्ल कमल पोखरीमा स्नान गरेर, पोखरीको पश्चिममा रहेको इनारमा हात खुट्टा धोएर शुद्ध हुन्थे। त्यसपछि मात्रै सुन्दरी चोक प्रवेश गर्थे र तुसा: हितिमा रहेका देवी देवतालाई जल अर्पण गर्थे।

कालान्तरमा मल्लकालिन कमल पोखरीको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगिसकेको थियो। कमलको फूल फुल्ने पोखरी घाँसे मैदान बनिसकेको थियो। पोखरी माटोले पुरिसकेको थियो। शहरीकरणको असर- भण्डारखाल हितिमा पनि पानी आउन बन्द भयो।

+++

सुन्दरी चोक र भण्डारखाल बगैंचामा राजकुलाबाटो पानी ल्याइएको थियो। सिद्धिनरसिंह मल्लको समयमा निर्माण भएको सुन्दरी चोकको मध्य भागमा रहेको तुसा: हिति ‘चोखो पानी’ आउने ढुंगेधारा थियो। सुन्दरी चोक बनाउने क्रममा त्यसको मध्यभागमा तुसा: हिति बनाइएको थियो, जसमा पाटनको धेरैजसो मठमन्दिरका देवीदेवता स्थापना गरिएको छ। करिब ७८ देवी देवताको मूर्तिसहित अदृशय शक्तिको उपासनाको लागिसमेत हिति परिसरमा स्थान छुट्याइएको छ।

तुसा हितिको नामाकरणमा विभिन्न कथन रहेका छन्। नेपाल भाषामा ‘तु’ अर्थात उखु र ‘सा’ भनेको स्वाद। त्यो धाराबाट आउने पानी उखुको झोल जस्तै असाध्यै मिठो स्वादको हुने भएकोले त्यसलाई तुसा: हिति भन्ने गरिएको कथन छ। कसैले भने तुं (इनार) बाट पानी ल्याइएको भएरपनि तुसा हिति भनिएको कथा छ।

यता भण्डारखाल हिति भने कमल पोखरीलाई जीवन्त बनाउन निर्माण गरिएको थियो। कमलको फूलले ढकमक हुने पोखरीमा पानीको बहाव निरन्तर होस् भन्ने हेतुले भण्डारखाल हिति निर्माण गरिएको कथन छ। टिकाभैरवको बाटो हुँदै राजकुलो, राजकुलोबाट पोखरी र हितिहरुमा पानी ल्याइएको विश्वास गरिन्छ। तर शहरीकरणसँगै राजकुलो हराए। अनि हितिहरु पनि पानी बिहिन बने। दरबार भित्रका हिति र पोखरीसमेत प्रभावित बने। सुख्खा भए।

घाँसे मैदान बनिसकेको भण्डारखालस्थित कमल पोखरी त करिब १० वर्ष अघि नै जीर्णोद्धार गरिएको थियो। काठमाडौं उपत्यका संरक्षण ट्रस्ट (केभीपीटी) ले पोखरीको संरक्षणका लागि प्रस्ताव राखेको थियो। त्यसपछि पोखरीको संरक्षण कार्य सुरु भयो। पानी बिहिन बनिसकेको पोखरीमा पानी जम्न थाल्यो। पोखरीमा ट्याकंर र पाइपलाइनबाट पानी भर्ने थालियो। बर्खायाममा भने मंग हितिबाट समेत पानी ल्याएर भरिने गरियो। पोखरी त बन्यो। तर लामो समयसम्म पोखरीको सरसफाई हुन सकेन। लेउले पोखरी भरिँदा पोखरी फेरि मैदान बन्ने हो कि भन्ने चिन्ता नि बढ्यो।

धेरै वर्ष ओझेलमा परेको पोखरी ब्युताउँन स्थानीयले दबाब दिँदै आएका थिए। फलस्वरुप संग्राहलयले पनि पोखरीको संरक्षणका लागि ठोस् पहल गर्‍यो। पोखरीको जीर्णोद्वार गर्दै सफा गर्ने काम भयो। पोखरी संरक्षण गर्ने क्रममा परम्परागत र मौलिक प्रविधि प्रयोग गरियो। पोखरीको पानी नचुहियोस् भनेर केही आधुनिक प्रविधिको समेत प्रयोग गरिए। पोखरीमा माछा समेत राखियो। तर, पोखरी बन्दै गर्दासँगै रहेको भण्डारखाल हिति भने आफ्नो अस्तित्व बचाउन संघर्षरत् नै थियो।

ब्युँतिए हिति

वर्षौसम्म पाटन दरबार क्षेत्रमा रहेर पानीका लागि तिर्खाएका यी दुई हितिहरुले अहिले भने पुन: जीवन पाएका छन्। स्थानीय र पाटन संग्राहलय विकास समितिको पहलमा र काठमाडौं उपत्यका संरक्षण कोषको सहायतामा अहिले तुसा: हिति र भण्डारखाल हितिमा पानी ल्याइएको छ।

भण्डारखाल हितिमा केही वर्षअघि बर्खायाममा पानी आएको थियो। तर तुसा: हितिमा भने पानी नझरेको निकै वर्ष भइसकेको थियो। अहिले भने परम्परागत र नयाँ प्रविधिको मिश्रणबाट दुवै हितिलाई जीवन्त बनाउने प्रयास गरिएको छ।

केही हप्ताअघि मात्रै रविन कपालीको टोलीले भण्डारखालस्थित कमल पोखरीको पानी नै ‘रिसाइकल’ गरेर तुसा: हिति र भण्डारखाल हितिमा पानी पुर्‍याउन सफल भएका छन्। भण्डारखालबाट दुवै हितिमा पानी जाने र रिसाइकल भएर पोखरीमा आउने विधि अपनाइएको छ।

‘राजकुलोबाट नै पानी ल्याउन अनुसन्धान भएको थियो। तर विभिन्न प्राविधिक कारणले त्यो सम्भव भएन। त्यसकारण पोखरीबाट नै पानी रिचार्ज गरेर ल्याउने प्रयास गर्‍यौं,’ कपालीले भने।

हाल पोखरीबाट नै पानी रिचार्ज गरेर ल्याइएपनि पछि भने प्राकृति स्रोतबाटै पानी ल्याउने योजना रहेको कपाली बताउँछन्। 

फर्किएला त राजकुलो?

पोखरी रिचार्ज गरेर हितिलाई जीवन्तता दिने अभियानमा मुख्य भूमिका पाटन संग्राहलय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंहको पनि रह्यो।

सिंह अहिलेको अवस्थामा प्राकृतिक रुपमा ढुंगेधारामा पानी ल्याउन गाह्रो हुने भएकोले हाल पानीको पुन: प्रयोग हुने गरि हितिलाई जीवन्त बनाएको बताउँछिन्।

 ‘यो ढुंगेधारा जमिनको लेभल भन्दा निकै तल छ। अहिले राजकुलो देखि पोखरी जस्ता प्राकृतिक स्रोत मासिसक्यो। त्यसैले पहिला जस्तै पानी आउन सम्भव छैन’ उनले भनिन्।

हालको अवस्थामा प्राकृतिक रुपमा पानी ल्याउन सम्भव नभएपनि प्रयास गरे राजकुलोबाट पनि फेरि पोखरी र हितिमा पानी ल्याउन सक्न उनको भनाइ छ।

सिंह भन्छिन्,  ‘राजकुलो नै कति ठाउँमा मासिसकेको छ। तर प्रयास गरे सम्भव नहुने भन्ने हुँदैन। विश्वमा धेरै असम्भव मानिएको कुरा त रिभाइभ गरिएको छ। हिति प्रणाली त हाम्रो मौलिक प्रणाली हो। त्यसैले पानी ल्याउन असम्भव नै चाहिँ छैन। त्यसरी पानी ल्याउन सके राम्रो हो। प्रयास गर्नुपर्छ। त्यसको लागि पहल हुनु आवश्यक छ।’

धेरै वर्ष अघिदेखि पानी नबगेको हितिलाई पुन: जीवन दिन र पोखरीमा प्राकृतिक रुपमा नै पानी संचय गर्न अहिले पाटनका स्थानीय लागिपरेका छन्।

स्थानीय सुदर्शन महर्जन पनि सकेसम्म अब फेरि प्राकृतिक स्रोतबाट नै पानी ल्याउनुपर्ने बताउँछन्।

भन्छन्, ‘यसरी हितिमा पानी ल्याउनु त राम्रो काम हो। अझै प्राकृतिक रुपमा नै पानी ल्याउने प्रयास छ। त्यो सम्भव गर्न हामी सबै मिलेर लाग्नुपर्छ। पर्यटक पैसा तिरेर आउँछन अनि सुख्खा हिति हेरेर जान्छन्। पानी नबग्ने हिति हेर्न पर्यटक आउने नि होइन। यस्तो सम्पदाहरु जोगाउनुपर्छ। पर्यटकले तिरेको पैसा यसरी नै सम्पदा संरक्षण र जगेर्णामा लगाउनुपर्छ।’

पाटनमा पानीको मूल स्रोतका रुपमा रहेको सप्तपाताल पोखरी ब्युताउँन समेत स्थानीय लागेका छन्। यो पोखरीमा पानी भरेपछि टिका भैरवदेखि सप्तपातालसम्मको राजकुलो र त्यहाँबाट पाटनसम्मको राजकुलोलाई व्यवस्थित गर्ने योजना समेत रहेको छ। सप्तपाताल बनेपछि पाटनका ढुंगेधारा र पोखरीमा त्यहीको च्यानलबाट पानी ल्याउने बारे अध्ययनसमेत भइरहेको छ। सप्तपातालको सम्बन्ध बुंगद्य: रातो मछिन्द्रनाथसँग रहेको छ। रातो मछिन्द्रनाथको जात्रा सकिएपछि यस सप्तपाताल पोखरीमा एक जोर माछा छाड्ने गरिन्छ। ती माछाले पातालमा रहेको नाग देवताकहाँ जात्रा समापन भएको सन्देश पुर्‍याउने मान्यता छ। केही वर्षअघिसम्म अतिक्रमणमा परेको सो पोखरीलाई हाल गुरुयोजना बनाएर ब्युताउँने प्रयास भइरहेको छ।    

यता, पाटन दरबारमा रहेको तुसा: हिति र भण्डारखाल हितिमा सौगल हुँदै पानी ल्याइएको एक अनुसन्धानका क्रममा फेला परेको थियो। सौगलबाट ल्याइएको पानीको च्यानलको मूल स्रोत त्यही सप्तपाताल पोखरी नै रहेको अनुमान छ।

‘अहिले हाम्रो प्रयास सफल भएको छ। पानी रिसाइकल गरेका छौं। प्राकृतिक रुपमा नै पानी ल्याउन अहिले असम्भव देखिए यही रिचार्ज गर्ने प्रकृयालाई निरन्तरता दिने हो। समयसमयमा पोखरीमा पानी चाहिँ भर्नुपर्छ। पानी बिहिन राख्नुभन्दा यसरी नै व्यवस्थापन गर्नु उचित हुन्छ’ कार्यकारी निर्देशक सिंहले भनिन्।

सिंहका अनुसार ढुंगेधारमा पानी आएको खबर सार्वजनिक भएसँगै दरबार क्षेत्रमा आउने पर्यटकहरुको चासोसमेत बढेको छ। कोरोना संक्रमणका कारण करिब १० महिना बन्द रहेको पाटन दरबार संग्राहलय केही हप्ता अघिमात्रै पर्यटकका लागि खुलेको हो।

सम्बन्धित समाचार : तिर्खाएका ढुंगेधारा ब्युताउँने प्रयास, आउला त पानी?

ओझेलमा दरबारमार्गको परिचय तीनधारा, ब्युँतने प्रयासमा स्वह्रा हिटी

धरहरा बनाउँदा सुन्धाराको सुर्ता : पैसा तिर्नुपर्ने बनाउछौ भने छाड, हामी आफै बनाउँछौं

पलेस्वाँ पुखु ब्युताउँने सहमति तर भ्रमण वर्षसम्म भने पार्किङ स्थल नै

रातो मछिन्द्रनाथको दु:ख: जात्रा सकिएको सन्देश पाताल पुर्‍याउन पोखरीमा खाल्डो खनेर छाडियो माछा

भक्तपुर र काठमाडौंका पोखरीसँगै पाटनको मल्लकालीन पोखरी ब्युताउँदै भक्तपुरबासी

रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी

गुइ टोलमा चन्द्रलोक धाराको यस्तो हालत! एक गाग्री पानीको ६ रुपैयाँ

सेनाको कब्जाबाट मुक्त हुँदै भक्तपुरको रानीपोखरी, काठमाडौंको टुँडिखेललाई कसले बचाउने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell