PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

लाल महम्मद केही दिनदेखि अभियुक्तको 'टार्गेट'मा : के अघिल्लो पटक आक्रमण गरेको गिरोहले नै गोली हान्यो?



पहिलोपोस्ट

लाल महम्मद केही दिनदेखि अभियुक्तको 'टार्गेट'मा : के अघिल्लो पटक आक्रमण गरेको गिरोहले नै गोली हान्यो?

काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमवार साँझ गोली हानेर हत्या भएका सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी) आफैँ सन्दिग्ध व्यक्ति भएको खुलेको छ। नक्कली नोट र हत्या अभियोगमा करिब ९ वर्ष जेल बसेर निस्किएका उनी त्यसपछि पनि आपराधिक गतिविधिमा संलग्न भएको आशङ्का गरिएको छ।

यसरी आपराधिक गतिविधिमा संलग्न भएकोले अर्को गिरोहले उनीमाथि आक्रमण गरेको हुनसक्ने आशंकामा अर्को कोणबाट अनुसन्धान गरिरहेको छ। त्यसो त व्यवसायीकरण उनी कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्ण मन्दिर नजिक रहेको एभेन्जर इन्टरप्राइजेज (गार्मेन्ट)का प्रोप्राइटरसमेत हुन्।

सोमवार साँझ हत्या भएपछि अनुसन्धानमा खटिएको प्रहरीले दर्जीमाथि केही साता अगाडि पनि आक्रमण भएको खुलेको छ। त्यस घटनाबाट उनी जोगिन सफल भएका थिए। शरीरमा चोट लागेका दर्जी उपचारको लागि अस्पतालमासमेत पुगेको खुल्छ। त्यसको भोलिपल्ट उनी जम्बुडाँडा नजिकै रहेको प्रहरी बिटमा पुगेर आफू असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था मिलाउन माग गरेका थिए। तर उनले त्यतिखेर आक्रमण भएको घटना भने नखुलाएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए। तर बिटले आफूभन्दा माथिल्लो निकायमा दर्जीको कुरालाई जाहेर गरेन। उनले उजुरी लिएर पुगेको बिट सोमवर घटना भएको स्थानबाट करिब ५ सय मिटरको दुरीमा पर्छ। घटना भएको स्थानबाट वाग्मती खोला तरेपछि जम्बु डाँडामा प्रहरी बिट रहेको छ।

 

तर घटना भएको दुई साता बित्न नपाउँदै उनी अर्को आक्रमणमा परे। पछिल्लो आक्रमणबाट उनी बच्न सकेनन्। गोली लागेर घाइते भएका दर्जीको उपचारको क्रममा शिक्षण अस्पताल महाजगञ्जमा मृत्यु भएको थियो। महम्मदलाई हाल नम्बरप्लेट नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले कृष्ण मन्दिर नजिक गोली प्रहार गरेका थिए।

सुरुमा गोली प्रहार गर्दादेखि दुई जना आएको र भाग्दा खेरी मोटरसाइकलमा तीन जना चढेर भागेको प्रत्यक्षदर्शी रामप्रसाद गौतमले बताए। सोमवार साँझ करिब पौने सात बजेतिर सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी) बा ६ च ५१५२ नम्बरको कारबाट ओर्लिन्छन्। कार उनका साथी रामप्रसाद गौतमले चलाएका हुन्छन्। उनीहरू जोरपाटी पुगेर सामान लिएर साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार फर्किएका हुन्छन्। कारबाट झर्ने वित्तिकै उनलाई पछाडिबाट गोली प्रहार हुन्छ। उनी ज्यान जोगाउन कारको वरिपरि लुक्दै भाग्छन्। तर पेस्तोल बोकेका युवकले गोली प्रहार गर्छन्। त्यही क्रममा दर्जीकी छोरीले घटना देख्छिन्। र हामफाल्दा अभियुक्त हतियारसमेत छोडेर भाग्छन्।

घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ। हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। उनी नक्कली नोट र कर्तव्य ज्यान मुद्दा ८ वर्ष ७ महिना जेल बसेर निस्किएको खुलेको छ।

 

प्रहरीले अहिले घटना गरेर फरार भएका तीन जना युवकको खोजी गरिरहेको छ। तर २४ घण्टा भइसक्दा पनि पत्ता लगाउन सकेको छैन। घटना भएको थाहा पाएपछि नै प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकामा कडाइ गरेको थियो। अघिल्ला यस्ता घटनामा घटना गरेपछि सीमा नाका हुँदै भारत लुक्ने गरेकाले प्रहरीले नाका कडा बनाएको हो।

लाल महम्मदको हत्या गर्ने उनीहरूले केही समयदेखि उपयुक्त समय कुरिरहेको देखिन्छ। तीन दिनदेखि उनीहरू घटना भए नजिकैको एक गेष्टहाउमा बसेको खुलेको छ। भदौ ३० गते एक भारतीय मुलको नाममा कोठा बुक भएको देखिन्छ। एक जना व्यक्तिले मात्र आफ्नो परिचय फेरेर कोठा बुक गरेर बसेको अनुसन्धान खटिएका एक अधिकृतले बताए।

प्रहरीले घटना प्रयोग भएको पल्सर बाइकबाट पनि अनुसन्धान अगाडि बढाएको छ। अहिलेसम्म बाइकको नम्बर खुल्न सकेको छैन। तर यस्ता घटना अभियुक्तले चोरीको मोटरसाइकलमा नम्बर प्लेट फेरेर प्रयोग गर्ने गरेको अघिल्ला घटनाको नजिर रहेको छ।

 

'हामीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ,' उपत्यका प्रहरी कार्यालयका एआइजी रवीन्द्र धानुकले भने। सञ्चार उद्यमी जमिम शाह, मिर्जा दिलसाद बेग, फैजान अहमदल, निर्माण व्यवसायी शरद गौचन शैलीमा नै यो घटना पनि भएको देखिन्छ। त्यस्तै सोमवारको घटना पनि अन्तराष्ट्रिय गिरोहसँग जोडिन सक्ने आशङ्का प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

सम्बन्धित समाचारहरु

गार्मेन्ट व्यवसायी मोहम्मद हत्या प्रकरण : ज्यान मुद्दा र जाली नोट कारोवारमा बसेका थिए ९ वर्ष जेल, अपराधी समूहसँग उनको के छ कनेक्सन?

गोठाटार गोली प्रकरणः घाइते गार्मेन्ट व्यवसायी मोहम्मदको उपचारको क्रममा मृत्यु, गोली प्रहार गर्ने खोजीमा प्रहरी

गाडीबाट ओर्लिनेबित्तिकै मोहम्मदमाथि गोली प्रहार, त्यसपछि पल्सर बाइकमा चढेर फरार…

यस्तो छ गोठाटार गोली प्रकरणको घटनास्‍थल

गोठाटार गोली प्रकरणः घाइते हुने सर्लाहीका लाल मोहम्मद दर्जी

व्यस्त चोकमा गाडीमा वरिपरि घुमाइ-घुमाइ यसरी हानियो मोहम्मदलाई गोली…(भिडिओ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell