आज १९ फेब्रुअरी, यी शब्दहरु लेख्दा १२:४४ भएको छ। सम्भवत्, चीनमा कोरोना भाइरसको संक्रमण नफैलिएको भए वा अझ नियन्त्रणमा आइसकेको भए म यतिबेला कम्प्यूटरमा बसेर यी शब्दहरु टाइप गरिरहेको हुने थिइनँ। सगरमाथाको चुचुरो माथिबाट नेपाललाई स्मृतिमा राख्दै चिनियाँ भूमिमाथि उडिरहेको हुने थिएँ।
३५ दिनको बिदामा चीनको सिचुवानबाट नेपाली भूमि टेक्दै गर्दा वुहानमा माहामारीको रुपमा निमोनियाको संक्रमण फैलिरहेको सन्देश थियो। त्यसको प्रभाव विस्तार हुने क्रममा थियो। तर प्रभाव हामी भएको ठाउँसम्म पुगेको थिएन। चिनियाँहरु नयाँ वर्षको तयारी गर्दै थिए। नेपाली भूमिमा टेकिसकेपछि जनवरी २४ अर्थात 'न्यू इयर इभ'मा चिनियाँ मित्रको सन्देश आयो - फर्किँदा टन्न माक्स बोकेर फर्किनु। नेपाल आएको १० दिन नपुग्दै संक्रमण चिनियाँ मुख्यभूमि भरी फैलिसकेको थियो।
चिनियाँ नयाँ वर्ष विश्वमा मानिस चलायमान हुने समय हो। जसरी नेपालमा दसैँमा शहर रित्तिन्छन्। त्यस्तै गरी चीनका शहरहरु रित्तिन्छन्। मानिसहरु आफ्ना आफन्त भेट्न गाउँ पस्छन्। भ्रमणका लागि विदेश यात्रामा निस्किन्छन्। हुवेइ प्रान्तको वुहानबाट कोरोनाले यात्रा गर्यो। चीनभर यसको संक्रमण फैलियो। हालसम्म विश्वका २५ देशहरुमा यसको संक्रमण देखिएको छ।
पछिल्लो तथ्याकंअनुसार नोवेल कोरोना भाइरसको संक्रमण ७५ हजार नाघेको छ। जसमध्य चीन बाहेकका देशहरुमा ९२१ जनामा संक्रमण देखिएको छ। चीनमा मात्र २ हजार ६ जनाको मृत्यु भइसकेको छ। बाँकी तीन जनाको मृत्यु चीन बाहिर भएको हो।
चीन बाहिर संक्रमितमध्ये ६१६ जना जापानमा मात्र छन्। जसमध्ये एक जनाको मृत्यु भएको छ। त्यस्तै सिंगापुरमा ८१ जनामा संक्रमण देखिँदा दक्षिण कोरियामा ४६ जना, थाइल्याण्डमा ३५ जना, मलेसियामा २२ जना जर्मनीमा १६ जना, भियतनाममा १६ जना अमेरिकामा १५, अष्ट्रेलियामा १५ र फ्रान्समा १२ जनामा संक्रमण देखिएको छ। फ्रान्समा १ जनाको मृत्यु भएको छ। त्यस्तै फिलिपिन्समा ३ जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ। जो हुवेइबाट फिलिपिन्स पुगेकी चिनियाँ नागरिक नै हुन्।
चीन यतिवेला कोरोना भाइरसविरुद्ध युद्धस्तरमा लागि परेको छ। केन्द्र सरकारदेखि स्थानीय सरकारसम्म यस अभियानमा जुटेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी नै यसमा लागेको छ। पार्टीका नेता कार्यकर्ताहरु यसैमा जुट्दा चिनियाँ जनकंग्रेसको वार्षिक भेला स्थगित गर्ने संघारमा पुगेको छ।
सबैभन्दा ठूलो सम्पत्ति जनस्वास्थ्य हो भन्ने मर्मलाई बुझेर नै अन्य गतिविधि नियन्त्रण गर्दै कोरोनाविरुद्ध चीन र चिनियाँ जनताहरु लागेका छन्।
हुवेइमा मात्र हजारौँ चिकित्सकहरु खटाइएका छन्। चिकित्सकहरु दिन रात नभनी कोरोना भाइरसविरुद्धको अभियानमा खटिइरहेका छन्।
संक्रमण नियन्त्रणमा चिनियाँ प्रयास
चिनियाँ शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २०१८ मा चीनमा १९६ देशबाट चार लाख ९२ हजार विद्यार्थीहरु अध्ययन गर्न पुगेका थिए। २०१९ सम्म आइपुग्दा यो संख्यामा वृद्धि भएको हो।
त्यति नै संख्या बढी विदेशीहरु यहाँ काम गरिरहेका छन्। हालसम्म संक्रमित हुने विदेशीको संख्या न्यून छ। दुई जना विदेशी नागरिकको मृत्यु भएको आधिकारिक तथ्यांक छ। जसमा एक जना अमेरिकी र एक जना जापानी रहेका छन्। यद्यपि जापानी नागरिकमा संक्रमणको लक्षण देखिए पनि उनमा कोरोनाकै संक्रमण हो भन्ने पुष्टि भएको छैन।
कोरोना भाइरसविरुद्ध युद्धस्तरमा लागिरहेको चीनले संक्रमण फैलिन नदिन हुवेइ तथा वुहानलाई लकडाउनमा राखेको छ। वुहानका जनतालाई अघोषित रुपमा क्वारेन्टाइनमा राखिएको छ।
यो पनि: कारमै सुतेर रात कटाउँछन वुहानमा खटिएका चिकित्सक
संक्रमण अझै वुहान केन्द्रीत नै छ। पछिल्लो तथ्यांक अनुसार चीनको मुख्यभूमिमा ७४ हजार २७९ संक्रमण हुँदा हुवेइमा ६१ हजार ६८२ जनामा संक्रमण छ। जसमध्ये ४३ हजार बढी वुहानमा मात्र हो। यो तथ्यांक हर्दा करिब ६० प्रतिशत संक्रमण वुहानमा हो।
हुवेइ नजिकैका प्रदेशहरु क्वाङदोङ हनान, जजियाङ, हुनानमा संक्रमण एक-एक हजार माथि उक्लिएका छन्। चीनका अधिकांश प्रान्तमा मृत्यु हुनेको संख्या 'सिंगल डिजिट' मै छ। हनानमा १९ जना हेइलोङजियाङमा १२ जनाको मृत्यु भएको छ।
संक्रमण बाँकी विश्वमा फैलिन नदिन पनि चीनले सर्तकता अपनाएको छ। पाँच लाखको हाराहारीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई उच्च शिक्षा दिइरहेको चीनले उनीहरुको सुरक्षाका लागि ध्यान दिएको छ। उनीहरुलाई सुरक्षित विश्वविद्यालय भित्रै आवासमा सुविधा दिएर राखेको छ। मेरो विश्व विद्यालमा अध्ययन गर्ने एक जना नेपाली मित्र नयाँ वर्षको विदा मनाउनका लागि आफ्ना चिनियाँ साथीको घरमा पुगेका थिए। उनी फर्किँदा १४ दिन सम्म क्वारेन्टाइनमा बस्न पर्यो। एक हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु सुरक्षाका लागि उनलाई क्वारेन्टाइनमा राखियो सुविधासहित।
क्वारेन्टाइनमै बसिरहेका बेला उनले मसँग भनेका थिए, 'बिन्दास छ। सबै सुविधा छ। जाडोमा पकाउन र भाँडा माझ्न परेको छैन। त्यो भन्दा पनि मेरो कारणले अरुलाई जोखिम नहोस भनेर सतर्कता अपनाइएको छ। त्यो राम्रो हो।'
चिकित्सकहरु आफ्नो ज्यानकै जोखिम मोलेर भाइरसविरुद्ध लडिरहेका छन्।
यो पनि: कोरोनाका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु
नयाँ वर्षको वेला लाखौँ चिनियाँ विदेश भ्रमणमा निस्किन्छन्। यस वर्ष चीनले त्यसलाई नियमन गर्दै बाँकी विश्वलाई कोरोना भाइरसको जोखिमबाट बचायो।
२०१९ को सुरुवाती आँकडा अनुसार चीनमा एक अर्ब ४० लाख बढी जनसंख्या छ। जुन अमेरिकाभन्दा चार गुणा बढी र बेलायतभन्दा २१ गुणा बढी हो। २०१८ मा २२ लाख चिनियाँहरुले विदेश भ्रमण गरेका थिए। जसमध्ये १५ लाख बढी चिनियाँहरु नयाँ वर्षकै अवसर पारेर विदेश सयर गरेका थिए। यस वर्ष पनि चिनियाँ नयाँ वर्षको अवसरमा करिब ३ खर्व बराबरको 'ट्रिप' हुने अपेक्षा गरिएको थियो।
जुन चीन भित्र र बाहिर हुने 'ट्रिप' पनि थियो। यो संख्यामा एक व्यक्तिले गर्दे एक भन्दा बढी 'ट्रिप'लाई समेत समावेश गरिएको छ। यातायातका सबै साधनमा खरिद गरिएका टिकट अनुसार गत वर्ष मात्र २ खर्व ९९ करोड ट्रिप भएका थिए।
यस वर्ष यो यात्रा धेरै कम भयो। बिदामा घर गएकाहरु फर्किन पाएका छैनन्। विदेश जाने चिनियाँहरुको संख्या पनि कमी आएको छ। नयाँ वर्षको संघारमा रहँदा भाइरस फैलिएसँगै चिनियाँ पर्यटकहरु बाहिर गएका छैनन्। अधिकांश देशहरुले चिनियाँ नागरिकलाई प्रवेशमा कडाइ गरेका छन्। चीनले पनि आफ्ना नागरिकलाई त्यसका लागि रोक जस्तै लगाएको छ।
कोरोना भाइरसका कारण चिनियाँ अर्थतन्त्रमा असर परेको छ। कामहरु ठप्प छन्। उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन्। यसको असर विश्वभर फैलिएको छ।
यो पनि: एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण
पश्चिमा आलोचना कति जायज?
कोरोना भाइरसको संक्रमण फैलिएसँगै पश्चिमाहरुले चीनको आलोचना गर्दै आएका छन्। अमेरिकाले चीनमा कोरोना फैलिँदा आफ्नो देशमा रोजगारी बढ्ने भन्दै त्यहाँका वार्णिज्य मन्त्रीले अभिव्यक्ति दिएका थिए।
चीनको आलोचना भइरहँदा डेनमार्कको एक पत्रिकाले चिनियाँ झण्डामा प्रयोग भएका ताराको स्थानमा भाइरस अंकित गर्दै कार्टुन प्रकाशित गर्यो। पश्चिमा देशहरुमा चिनियाँ नागरिकहरु अझ एसियाली नागरिकहरु प्रति कोरोना नै बोकेर ल्याएको जस्तो व्यवहार गरिँदै छ। चिनियाँ अनुहार देख्यो की कोरोना भाइरस भन्ने प्रवृत्ति नेपालमा पनि केही ठाउँमा देखियो। पश्चिमाहरु यही विषयलाई लिएर चीनलाई च्याप्दै छन्।
अब विश्वभर भएका यस्ता केही महामारीका केही उदाहरण हेरौँ। २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीले ११ हजार ३२३ जनाको ज्यान लियो। यसको संक्रमण युरोप र अमेरिकासम्म फैलिएको थियो।
२००२ मा फैलिएको सार्सले विश्वभर ७७४ जनाको ज्यान लियो। सार्स कोरोना भाइरसले २००८ मा जिम्वावेमा फैलिएको कोलेराले चार हजार २९३ जनाको ज्यान लिएको थियो। २००९ मा विश्वभर महामारीको रुपमा फैलिएको २००९ फ्लु पाण्डेमिकले विश्वभर १४ हजार २८६ जनाको ज्यान लिएको थियो। जसमध्ये सबै भन्दा बढी उत्तर अमेरिकामा तीन हजार ४३३ जनाको मृत्यु भएको थियो। २००९ को मार्चमा मेक्सिकोमा दुई अमेरिकी बच्चामा देखिएको थियो। स्वाइन फ्लुको रुपमा चिनिने इन्फ्लुएन्जा ए/एच वान एन वानले अमेरिकामा एक लाख १५ हजार बढीलाई संक्रमिति तुल्याएको थियो।
२०१२ मा मिडिल इस्टबाट फैलिएको 'मर्स'का कारण हालसम्म ८६२ जनाको मृत्यु भएको छ।
२०१५-१६ मा देखिएको जिका भाइरस ९० देशमा फैलिएको थियो। ५ हजार बढी मानिसमा यसको संक्रमण देखिएको थियो। २०१९ मा अमेरिकाको गभर्मेन्ट अकाउन्टिबिलिटी अफिसले एउटा प्रतिवेदन प्रकाशित गर्दै अमेरिकी सरकार तयारी अवस्थामा नरहेको आरोप लगाएको थियो। २०१५ मा भारतमा फैलिएको स्वाइन फ्लुले दुई हजार बढीको मृत्यु भएको थियो। ३३ हजार बढी यसको संक्रमणको चपेटामा परेको थियो।
२०१९ को डिसेम्बर अन्तिम तिरबाट संक्रमण वुहानबाट फैलिएको कोरोना भाइरसले चीनलाई पूर्ण रुपमा प्रभावित पारेको नै छ। तर पनि चीनले यसलाई नियन्त्रणको हरसम्भव प्रयास गरिरहेको छ। १० दिनमा कोरोना संक्रमितकै उपचारका लागि भन्दै दुई अस्पताल तयार पार्यो। वुहानमा रहेका अधिकांश रंगशालाहरु यतिबेला मोबाइल क्याबिन अस्पतालको रुपमा प्रयोगमा आएका छन्।
त्यस्तै चिनियाँ जनमुक्ति सेनाका चिकित्सकहरु देशभरबाट वुहानमा उतारिएको छ। सेनाकामात्र हैन गैरसैनिक चिकित्सकहरु देशभरबाट वुहानमा केन्द्रीत गरिएका छन्।
यो पनि: कोरोना भाइरसविरुद्धको लडाईमा खटिएका जोडीहरु, अस्पतालमै भ्यालेन्टाइनदेखि विवाहोत्सव
वुहानमा रहेका विदेशी नागरिकहरुको सुरक्षित रुपमा आफ्नो देश फिर्ता गराउनका लागि स्थानीय सरकार लागि परेको छ। त्यहाँ रहेका १७५ नेपालीहरुलाई उद्धार गर्न चिनियाँ अधिकारीहरुले सहयोग गरेका थिए। नेपाली अधिकारीहरु बेइजिङबाट वुहान पुगेनन्, चिनियाँ अधिकारीहरुले नै उद्धार गरिने नेपालीहरुको सम्पूर्ण तयारी गरिदिए।
यो पनि: वुहानबाट १७० जना नेपाली बोकेर वायु सेवा निगमको विमान नेपालका लागि उड्यो, ६ जना किन आउन पाएनन्?
हामीले अहिले यो भूल्न हुँदैन की चीनले सावधानी नअपनाएको भए यसको संक्रमण विश्वव्यापी रुपमा फैलिने थियो। त्यति मात्र होइन नेपाल चीनको छिमेकी हो। यदि चिनियाँ सतर्कता नहुँदो हो त नेपाल कोरोनाको चपेटामा परिसकेको हुने थियो। त्यतिमात्र होइन, वुहानमा रहेका १७५ जना नेपालीलाई कोरोनामुक्त रुपमा नेपाल फिर्ता पठाउन चीनले गरेको सहयोग पनि हामीले भुल्नु हुँदैन।
यो पनि: बुहान टु खरिपाटी : विमानस्थलमा दुई घण्टा चेकिङ, टुरिस्ट बसमा स्कटिङ
विश्व अर्थतन्त्रमा उदाइरहेको चीनलाई पश्चिमाहरु हरेक विषय घेर्ने बाहना खोजिरहेका हुन्छन्। अहिले पनि घेर्ने प्रयास गरिरहेका छन्। तर, हामीले यो किन नसोच्ने? की एक करोडभन्दा बढी जनसंख्या रहेको वुहान सहरलाई चीनले लक डाउनमा नराखेको भए के हुने थियो। चिनियाँ जनताहरु 'लक डाउन'मा सतर्कतासाथ कोरोना भाइरसविरुद्ध प्रतिकार गरिरहेका छन्। उनीहरुले हेलचेक्राइ गरेको भए थप कस्तो भयावह अवस्था आउने थियो? चीनले नयाँ वर्षमा आफ्ना नागरिकलाई भ्रमणमा रोक नलगाएको भए के हुने थियो? चीनमा रहेका विदेशी नागरिकलाई सुरक्षित नराखेको भए के हुने थियो? चीनको यो प्रयासलाई सलाम छ। चीनको यो लडाइमा मेरो पनि साथ छ।
जियायो चोङ्क्व!, जियायो वुहान!