PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

वुहानमा रहेका नेपालीलाई तीन दिन भित्र उद्धार गरिने, बेइजिङस्थित दूतावासले थाल्यो तयारी



विधुर ढकाल

वुहानमा रहेका नेपालीलाई तीन दिन भित्र उद्धार गरिने, बेइजिङस्थित दूतावासले थाल्यो तयारी

काठमाडौं :  सरकारले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीहरुको उद्धार प्रक्रिया सुरु गरेको छ। चीनमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्ने निर्णय भएको भन्दै तयारी थालेको हो।

नेपालीको उद्धारका लागि काठमाडौंबाट विशेष चार्टर विमान पठाउने तयारी भइरहेको छ। यस विषयमा थप जानकारी पछि दिने भन्दै हुवेइ प्रान्तमा रहेका नेपालीहरुलाई अनलाइनबाट आवेदन फर्म भर्न दूतावासले अनुरोध गरेको छ। दूतावासले दिएको आवेदन फर्म भरेर आइतवार बिहान ९ बजेसम्म दूतावासको इमेलमा पठाउन भनिएको छ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुवेइमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा राखेका बताएका थिए। दूतावासले हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको छ। नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय  एयरलाइन्सलाई विमान तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। 

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार नेपाल सरकारको निर्णय हुनासाथ दूतावासले उद्धारको तयारी थालेको हो।

'सरकारले निर्णय गर्नासाथ हामीले यहाँबाट उद्धारको लागि आवश्यक प्रक्रिया थालनी गरिसकेका छौँ,' उनले भने, 'हुवेइमा रहेका नेपालीहरुलाई आफ्नो राहदानी, स्वास्थ्य विवरणसहितको आवेदन पठाउन भोलि बिहान ९ बजे सम्मको लागि समय दिएका छौँ।'

उनका अनुसार हुवेइमा हाल १ सय ८८ जना नेपाली विद्यार्थीहरु रहेका छन्। 'कति जनाको उद्धार गर्ने भन्ने भोलि विहानमात्र टुंगो लाग्छ,' उनले पहिलोपोस्टसँग भने, 'पहिले उद्धार गर्नुपर्‍यो भन्नेहरु केहीले अहिले नेपालमा लगेर कहाँ राख्ने के गर्ने भन्नुभएको छ। अब कतिले फर्म भर्नुहुन्छ त्यसपछि संख्या टुंगो लाग्छ।'

उहानस्थित त्यानह इन्टरनेसनल एयरपोर्टबाट उद्धार गरिने छ। त्यहाँसम्म पुग्नका लागि नेपालीहरुलाई स्थानीय चिनियाँ सरकारले सहयोग गर्नेछ। त्यसका लागि दूतावासले नेपालीहरुलाई आफू बस्ने स्थान र विमानस्थलसम्म पुग्ने दुरीसहितको विवरण पठाउन भनेको छ। विमानस्थलमा पुगेपछि नेपालीहरुको स्वास्थ्य परीक्षण गरिने लम्सालले जानकारी दिए।

नेपाल सरकारको निर्णयसँगै दूतावासले चिनियाँ अधिकारीहरुसँग उद्धारको विषयमा छलफल गरेको छ।

'हामी उहाँहरुसँग निरन्तर सम्पर्कमा छौँ। उहाँहरुले फ्लाइट डिटेल र नेपाल फर्किने व्यक्तिहरुको विवरण माग गर्नुभएको छ,' उपप्रमुख लम्सालले भने, 'हामीले भोलिसम्म यी सबै जानकारी उहाँहरुलाई उपलब्ध गराउँछौँ। सोमवार वा मंगलवार नेपालीहरु उद्धार गरिने छ।'

यसअघि शुक्रवारमात्र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पर्यटनमन्त्री योगेश भट्टराई, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेट गरेकी थिइन्।

भेटपछि दूतावासले वुहानमा रहेका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने भन्दै वक्तव्य मार्फत् जनाएको थियो। वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने चीनले बताएको छ।

साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने खालको भएको भन्दै कोरोना भाइरसलाई जितेरै छाड्‍ने आत्मविश्वास आफूहरुसँग भएको दूतावासले जनाएको थियो।

साथै चिनियाँ विदेश मन्त्रालयले आपतकालीन उद्धारका लागि सबैसँग समन्वय गर्ने प्रतिवद्धता जनाएको थियो।

चीनले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग मिलेर नेपालले कोरोना भाइरस रोकथामका लागि चालेका कदमको प्रशंसा गरेको छ। तत्काल केही सहयोगको आवश्यक परे काठमाडौंस्थित चिनियाँ दूतावास र विदेश मन्त्रालयलाई सम्पर्क गर्न पनि नेपाललाई चीनले आग्रह गरेको छ।

शुक्रवार भएको भेटमा चिनियाँ राजदूत होउले राष्ट्रपति सी जिनफिङको नेतृत्वमा चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टीले कोरोना भाइरस रोकथापमा लागि पहल गरिरहेको भन्दै संक्रमणलाई परास्त गरिने बताएकी थिइन्।

भेटमा उनले नेपाल र चीन छिमेकी मित्र राष्ट्र हुनुका साथै जनसम्बन्ध भएका देशहरु भएको भन्दै यस्तो अवस्थामा दुई देशबीचको आवतजावत कम गर्न सुझाव दिएकी थिइन्। उनले संक्रमण रोकथामका लागि नेपाललाई चीनले सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन्।

भेटमा वुहानमा रहेका नेपालीहरुको सुरक्षाका ग्यारेन्टी चीन सरकारले लिने उनीहरुका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन्।

भेटसँगै नेपालले उद्धारका लागि तयारी थालेको हो। परराष्ट्र मन्त्रालयले चार दिन अगाडिमात्र चिनियाँ विदेश मन्त्रालयलाई पत्राचार गर्दै नेपाल सरकारले नेपाली नागरिकहरुको उद्धार गर्न आवश्यक परे गर्ने र त्यसका लागि सहयोग गर्न अनुरोध गरेको थियो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ। त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उद्धारका लागि परराष्ट्र मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्राचार गरेको छ। सोही अनुसार पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स दुवैलाई अलर्ट रहन जानकारी गराएको छ।

सम्बन्धित समाचार: 

चीनबाट फर्किएका नेपालीको पीडा : आफ्नैले समेत हेयको व्यवहार गर्छन्

कोरोना भाइरस अनुसन्धानका लागि 'ज्याक मा' फाउन्डेशनद्वारा १०० मिलियन युआन सहयोग

वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाँदै विभिन्न देश, नेपालीको उद्धार कहिले होला?

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै

पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

कोरोना भाइरसको विश्वव्यापी प्रभाव, विश्व स्वास्थ्य संगठनले गर्‍यो आपतकालको घोषणा

चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell