PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कोरोनाविरुद्ध भगवान भरोसे तयारी! शंका लागेर अस्पताल गए, ज्वरो जाँचेर भनिन्छ : घर जानुस्



विधुर ढकाल

कोरोनाविरुद्ध भगवान भरोसे तयारी! शंका लागेर अस्पताल गए, ज्वरो जाँचेर भनिन्छ : घर जानुस्

काठमाडौं : चीनको हुवेइ प्रान्तको बुहानबाट फैलिन सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण विश्वका ७६ देशमा फैलिसकेको छ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको बुधवारसम्मको तथ्यांकअनुसार विश्वभर ९३ हजार ९० जनामा यसको संक्रमण पुष्टि भएको छ। बुधवारमात्र दुई हजार दुई सय २३ जनामा यसको संक्रमण देखिएको छ।

चीनमा मात्र बुधवारसम्म ८० हजार चार सय २२ जनामा यसको संक्रमण पुष्टि भएको छ। बुधवार चीनमा १२० जना संक्रमित फेला परेका थिए। त्यस्तै मृत्यु हुनेमा दुई हजार नौ सय ८४ जना चीनका नागरिक छन्। बुधवार चीनमा ३८ जनाको मृत्यु भएको थियो।

चीन बाहिर ७६ देशमा फैलिएको कोभिड-१९ को संक्रमणले १२ हजार छ सय ६८ जनालाई संक्रमित बनाएको छ। जसमध्ये बुधवारमात्र दुई हजार एक सय ३ जना संक्रमित भएका छन्। चीन बाहिर २१४ जनाको मृत्यु भएकोमा ४८ जनाको मृत्यु बुधवारमात्र भएको डब्लुएचओको तथ्यांकमा उल्लेख छ।

गत वर्ष डिसेम्बरको अन्तिम तिरबाट वुहानबाट सुरु भएको यसको संक्रमण फेब्रुअरीको तेस्रो हप्तासम्म चीनमा उच्च थियो। चीनमा संक्रमण र मृत्यु दर घट्दै जाँदा बाँकी विश्वमा भने यसको संक्रमण बढ्दै गएको छ। जुन मंगलवारको तथ्यांकले पनि देखाउँछ।

कोभिड-१९ को असर विश्वभर फैलिँदै गर्दा नेपालमा पनि त्रास भित्रिन थालेको छ। सरकारले सार्वजनिक सभा सम्मेलन नगर्न आग्रह गरेको छ।

भ्रमण वर्ष २०२० मनाइरहेको नेपालले यसलाई स्थगित गरिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२० लाई २०२२ मा मनाउने प्रस्ताव अगाडि सारेका छन्।

त्यस्तै सरकारले आयोजना गर्ने भनिएको वहुप्रतिक्षित 'सगरमाथा संवाद'लाई स्थगित गरिसकेको छ।

सरकारले वैदेशिक भ्रमण नगर्न समेत आग्रह गरेको छ। यसबीच शिक्षा मन्त्रालयले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुलाई 'नो अव्जेक्सन सर्टिफिकेट (एनओसी)' नदिने निर्णय गरेको छ।

श्रम मन्त्रालयले पनि श्रम स्विकृति दिनसमेत कडाइ गरेको छ। मन्त्रालयले हाललाई श्रम स्वीकृति दिन रोकेको मन्त्री रामेश्वर राय यादवले जानकारी दिएका छन्।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने निर्णय गरेका छन्।

उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतवार नै निजी सचिवालयलाई निर्देशन दिएका हुन्।

त्यस्तै, सत्तारुढ दल नेकपाले पनि आफ्ना कार्यक्रम स्थगित गरेको छ। बुधवारमात्र नेकपाको प्रदेश १ को प्रदेशस्तरीय भेला स्थगित भयो।

भेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो। नेता खनाल भने सोमवार नै झापा पुगिसकेका छन्।

सचिवालय सदस्यहरु रामबहादुर थापा र महासचिव पौडेल आज बिहान झापा पुग्ने कार्यक्रम थियो। तर, नेता बादल भने कार्यक्रम स्थगित हुने जानकारी पाएपछि विमानस्थलबाट फर्किए।

चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुमा दुई साताको क्वारेन्टाइनबाट घर गएका छन्। यता नेपालले कोरोनाबाट प्रभावित देशका नागरिकलाई 'अराइभल भिसा' दिन रोक लगाउँदै छ।

नेपाल सरकारले विदेशी नागरिकहरुलाई दिँदै आएको अन अराइभल भिसा नदिने निर्णय गरेको हो। नेपालमा लगभग सबै देशका नागरिकलाई अराइभल भिसा दिँदै आएको थियो। नेपालमा १२ देशका नागरिक तथा यात्रा अनुमति पत्र बोकेका शरणार्थीहरुले अग्रिम भिसा लिनुपर्ने व्यवस्था छ। नाइजेरिया, घाना, जिम्वावे, स्वाजिल्याण्ड, सोमालिया, क्यामरुन, लिवेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानस्तान र सिरियाका नागरिकले अग्रिम भिसा लिनुपर्ने प्रावधान थियो।

अब विदेशीले नेपाली भिसा प्राप्त गर्नका लागि अग्रिम अनलाइनबाट भिसा आवेदन दिनुपर्ने तथा स्वास्थ्य रिपोर्टसमेत पेस गर्नुपर्ने छ।

चीनबाट ल्याइएका १ सय ७५ जना नेपालीलाई राखिएको खरिपाटीको क्वारेन्टाइन कायम राख्दै निजी अस्पतालहरुलाई पनि तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ।

मास्कमा कालो बजारी

यता कोरोनाको त्रास फैलिएसँगै बजारमा मास्क, स्यानिटाइजर लगायतका सामाग्रीहरुको कालोबजारी हुन थालेको छ। बजारमा यी सामाग्रीहरु पाइन छाडेका छ। पाइए पनि सामान्य भन्दा बढी मूल्य तिर्न उपभोक्ताहरु बाध्य छन्।

तीन साता अघिसम्म प्रति गोटा ५ रूपैयाँ पर्ने मास्कको मूल्य कम्तिमा चार गुना बढेर २० देखि २५ रूपैयाँ प्रति पिस पुगेको छ। १० रूपैयाँ पर्ने मास्कको मूल्य ५० रूपैयाँ पुगेको छ। त्यतिमै बिक्री गरिरहेका खुद्रा व्यापारी अब थोक बजारमै अभाव भइसकेको बताउँछन्।

एउटा डिब्बाको ३ सयदेखि ५ सय रुपैयाँ पर्ने सामान्य सर्जिकल मास्क यतिबेला सजिलै पाइँदैन, पाइहाले १७०० देखि दुई हजार रूपैयाँसम्म परिरहेको खुद्रा व्यवसायीहरु बताउँछन्।

गृहमन्त्रालयका कार्यक्रम स्थगित, मापासे चेकिङ रोकियो

गृहमन्त्रालयले पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरेको छ।

नेपाल प्रहरीले समेत सार्वजनिक कार्यक्रम नगर्ने भएको छ। फागुन २३ र २४ गते धनगढीमा हुने भनिएको सुरक्षा गोष्ठी रद्द भएको छ। सुरक्षालाई ध्यानमा राख्दै धनगढीमा हुन लागेको सुरक्षा गोष्ठी रद्द गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरीलाई कोरोनाको संक्रमणबारे जानकारी दिन स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन गरिरहेको छ। देशभर झन्डै ८० हजार प्रहरी छन्। उनीहरु समूहमा नै बस्ने गर्दछन्। एक जनलाई संक्रमण भएको खण्डमा अरुलाई पनि सर्ने सम्भावना झनै धेरै हुन्छ। त्यस्तैले नेपाल प्रहरीले प्रहरी कसैलाई रुखाखोकी, ज्वरो देखिएमा तत्कालै जानकारी गराउन र अस्पतालमा गएर चेक गर्न आह्वान गरेको छ।

प्रहरीले दैनिक सडकमा रहेर काम गर्नुपर्ने हुन्छ। दैनिक जाँचको क्रममा मानिससँग सम्पर्क हुन्छ। ट्राफिक प्रहरीले मापसेदेखि कागजपत्र समेत हेर्ने हुँदा सावधानि उपनाउनु पर्ने देखिएको छ। त्यसैले प्रहरीले अत्याआवश्यक चेकिङबाहेक अन्य चेकिङ कम गर्ने र सरलीकरण गर्न निर्देशन दिएको छ। 'मास्क र सेनिटाइजर लगायत सामाग्री प्रयोग गरेर काम गर्न भनेका छौं,' डिआइजी थापाले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे चेकिङ गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ। मापसे चेकिङमा ट्राफिक प्रहरीले मुखले सुँघेर पनि गर्न गर्दछ। सबै स्थानमा ब्रेथलाइजर छैनन्। ब्रेथलाइजर नभएको अवस्थामा मुखले सुँघेर मात्र चेकिङ नगर्न निर्देशन दिएको छ।

'मुख नजिकै गएर चेकिङ नगर्नु भनेका छौं। माक्सको प्रयोग अनिवार्य गर्न निर्देशन दिएका हौं,' महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने।

शैक्षिक कार्यक्रमहरु प्रभावित

यता कोभिड-१९ को जोखिम बढ्दै गएसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तेह्रौं दीक्षान्त समारोह कार्यक्रम स्थगित गरेको छ।

फागुन २४ गतेका लागि निर्धारित दीक्षान्त समारोह स्थगित भएको जानकारी दिएको हो।

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालु शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) चैत ६ गतेदेखि सञ्चालन हुने तय भइसकेको भन्दै त्यसभन्दा अगाडि नै कक्षा ९ सम्मका परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए।

काठमाडौं प्रशासनले रोक्यो सार्वजनिक कार्यक्रम

यता काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ कै कारण सार्वजनिक सभा समारोहमा रोक लगाएको छ।

प्रशासन कार्यालयले संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भिडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरेको भन्दै काठमाडौं जिल्लामा अर्को निर्णय नभए सम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायतका कार्यक्रमको आयोजना नगर्न अनुरोध गरेको छ। त्यस्तै प्रशासन कार्यालयले पनि त्यस्ता सम्मेलनमा सहभागि नहुन अनुरोध गरेको छ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरण र पर्यटन बोर्डमा 'एक्सन टिम' बनाउन निर्देशन दिएको छ। पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड-१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न त्यस्तो टीम बनाउन निर्देशन दिएका हुन्।

भट्टराईले मन्त्रालयमा सम्बन्धित निकायका अधिकारीहरुलाई बोलाएर यस्तो निर्देशन दिएका छन्। त्यसका लागि नीतिगत निर्णय आवश्यक भए मन्त्रालयले गर्ने बताए।

त्यस्तै विमानस्थलबाहेकका क्षेत्रमा पनि हेल्थ डेक्स राख्ने तयारी भइरहेको उनले जानकारी दिए।

त्रास जताततै तयारी न्युन

कोभिड-१९ को असर जताततै पर्न थालेको छ। महामारीको चिन्ता र त्रास एकातिर छ तर, अझै पनि ठोस तयारी भने हुन सकेको छैन। स्वास्थ्य मन्त्रालयले विमानस्थलमा हेल्थ डेक्स राख्नु र अस्पतालालाई तयारी अवस्थामा बस्न निर्देशन दिनु बाहेकको तयारी गर्न सकेको छैन।

यसको छनक यही आइतवार स्वास्थ्य मन्त्रालयमा सय दिनको प्रगति विवरण सुनाउँदै गर्दा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको अभिव्यक्तिले दिएको छ।

मन्त्री ढकालले कोरोनाबाट बच्न तयारी गरिने तर बिरामी नै बेडबाट झारेर तयारी भने नगरिने तर्क गरे।

उनले दुई ठूला छिमेकीले तयारी गरिरहेको भन्दै त्यसै तयारीले नेपालमा जोखिम कम हुने अभिव्यक्ति दिए। 'भारतले अब आफ्ना देशका लागि भए पनि राम्रै गरिरहेको छ। अब चीन त यसैमा छ। त्यसैले पनि हाम्रोमा अलि जोखिम कम होला,' उनको भनाइ थियो।

मन्त्रालयले कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा ब्यवस्थापन गरी तीन चरणको कार्य योजना तयार पारेको बताए।

'सुरुमा आउनै नदिने उपाय अपनाइने छ, त्यसपछि नेपालमा के कतिलाई छ भन्ने पहिचान गर्ने र यदि नेपालमा पनि व्यापक भएमा आपतकाल घोषणा गर्ने हो,' मन्त्री ढकालले भनेका थिए।

नेपाल-भारतबीच खुला सीमाना छ। खुला रुपमा आवातजावत गर्ने व्यवस्था छ। केही क्षेत्रमा हेल्थ डेक्स स्थापना गरिए पनि खुला सीमानाका कारण पारीका मानिस वारी आउँछन्। यसलाई रोक्ने तर्फ सरकारले काम अगाडि बढाउन सकेको छैन। सांसदहरुले नै सरकारसँग खुला सीमाना बन्द गर्न आग्रह गरिरहेका छन्।

सांसद उमा रेग्मीले कोरोनाको संक्रमणबाट बच्न खुल्ला नाकालाइ बन्द गर्न संसद बैठकमा सरकारसँग माग गरेकी थिइन्।

उनले भनिन्, 'डब्लुएचओले नेपाललाई पनि कोरोनाको उच्च जोखिम रहेको बताएको छ। अरु देशले उच्च सतर्कता अपनाएका पनि छन्। तर, हाम्रोमा सीमा नाका खुल्ला छ। यी नाकाहरु बन्द गर्नु पर्‍यो।'

सरकारले कोरोनाका शंकास्पद विरामीहरु आए उपचारका लागि काठमाडौंका सरकारी तथा निजी अस्पताललाई निर्देशन दिएको बताइरहेको छ। तर, अस्पतालमा उपचारपद्धति प्रति भने शंका छ।

चीनको सिचुवानबाट गत साता मात्र नेपाल आइपुगेका एक विद्यार्थीले भने, 'अलिअली त रुघा लागेको थियो। अस्पताल गए, चेक गराउन,' ती विद्यार्थीले पहिलोपोस्टसँग भने, 'टेकु अस्पतालमा पुगेको थिए। त्यहाँका चिकित्सकले सामान्य ज्वरो नापे। रगतको नमुना दिएँ। तपाईँलाई यहाँ झन जोखिम हुन सक्छ। घर जानुस भनेर पठाए।'

उनले आफू क्वारेन्टाइनमा बस्न चाहे पनि त्यसको व्यवस्था नभएको बताए।

'घरमै एक साता एक्लै कोठामा बसे। त्यसपछि बाहिर निस्किएँ,' उनले भने।

हाम्रो अस्पतालमा कति सतर्कता अपनाइएको छ भन्ने कुरा पछिल्लो सयम सार्वजनिक भएको एउटा समाचारले छताछुल्ल पारेको छ। कोरियाबाट फर्किएका एक युवामा कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचारका लागि राखिएको थियो। उनी अस्पतालको झ्यालबाटै भागे।

अस्पतालबाट गायव भएका ती व्यक्ति २० गतेमात्रै नेपाल आएका हुन्। उनमा कोरोनाको संक्रमणका संकेतहरु देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

यस्तै अर्का सांसद छक्कबहादुर लामाले पनि शुन्य समयमै बोल्दै चीनसँग जोडिएको तातोपानी र रसुवामा मात्रै क्वारेण्टाइनको व्यवस्था गरिएको र बाँकी नाकामा त्यस्तो व्यवस्था नभएको भन्दै ती नाकाबाट कोरोना भाइरसका संक्रमित भित्रिन सक्ने बताए।

'चीनसँग जोडिएका तातोपानी र रसुवाबाहेक नाकामा क्वारेन्टाइनको व्यवस्था छैन। अरु ठाउँमा हिउँले मात्रै क्वारेन्टाइनको काम गरिरहेको छ। हिउँ पग्लियो भने स्थिति भयावहको अवस्था छ,' उनले भने।

अर्की सांसद तुलसी थापाले नेपाल प्रवेश गर्ने यात्रुलाई ट्राभल हिस्ट्री फर्म भराउनुपर्ने बताइन्।

कोरोना भाइरसलाई लिएर मानिसहरु आतंकित भएको र त्यसले मानसिक असर पारेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन बताउँछन्। 'संक्रमणको जोखिम र सम्भावना विश्वभर यथावत् छ। तर, हामी शर्तक रहन आवश्यक छ। भाइरसभन्दा अगाडि त्रास फैलनुले निकै समस्या सिर्जना गरेको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell