काठमाडौं : वर्ष २०७६ को सुरुवातमै राष्ट्रपति विद्यादेवी भण्डारीले उत्तरी छिमेकी चीनको भ्रमण गरिन्। बेइजिङमा भएको दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फोरममा राष्ट्रपति भण्डारीले नेपालको प्रतिनिधित्व गरिन्। पहिलो कार्यकालमा चीनको भ्रमण नगरेकी राष्ट्रपति भण्डारीले सो वर्ष उत्तरी छिमेकी चीनको पहिलो राजकीय भ्रमणबाट सुरु भयो।
राष्ट्रपति भण्डारीको ९ दिने चीन भ्रमणका क्रममा दुई देशबीच विभिन्न सात वटा सम्झौता भए।
पढ्नुस् : राष्ट्रपति भण्डारीको चीन डायरी
ग्रेट हलमा भएको वार्तापछि तीन वर्ष अगाडि भएको नेपाल र चीनबीच पारवहान सम्झौताको प्रोटोकलमा हस्ताक्षर भयो। २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सो सम्झौता भएको थियो। ओली २०१६ मा पहिलोपटक प्रधानमन्त्रीको रुपमा चीनको भ्रमण गरेका थिए।
सम्झौता अनुसार नेपालले तेस्रो मुलुकहरुसँगको व्यापारका लागि चीनका सात वटा बन्दरगाह प्रयोग गर्न पाउने निश्चित भएको हो।
यो पनि : चीनका यी बन्दरगाह जुन अब नेपालीले प्रयोग गर्न पाउँछन्
सोही भ्रमणले पाँच वर्षदेखिको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई औपचारिकता दियो। यसअघि पटक-पटक सरकारका तर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिए पनि राष्ट्रपति स्वयम् पुगेर पहिलोपटक निम्तो दिएकी थिइन्।
प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली वैशाखमै दक्षिण पूर्वी एसियाका दुई देशको साता लामो भ्रमणका लागि निस्किए।
वैशाख २६ गते भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओली त्यहीबाट कम्बोडिया पुगे। भियतनाम भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले १६ बुँदे संयुक्त वक्तव्य जारी भयो।
भियतनामबाट कम्बोडिया पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ दुवै देशका प्रधानमन्त्री व्यापार, लगानी, पर्यटन, सांस्कृति तथा शिक्षाका क्षेत्रमा हुने साझेदारीलाई अगाडि बढाउने विषयमा छलफल गरेका थिए। कम्बोडियाबाट दुई देशका प्रधानमन्त्रीले १५ बुँदे संयुक्त वक्तव्य जारी गरे।
यो पनि : कम्युनिस्ट तानाशाह पोलपोटको देशमा नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली जेठ एक गत बैंकक हुँदै थाइ प्रधानमन्त्रीको कोसेली बोकेर जेठ १ गते स्वदेश फर्किए।
भ्रमणले दक्षिणपूर्वी एसियाका दुई देशसँग नेपालको सम्बन्ध सुदृढ भएको प्रधानमन्त्री ओलीले त्यतिबेला बताएका थिए। दक्षिण पूर्वी एसियाबाट फर्किएको दुई सातापछि प्रधानमन्त्री पुन: विदेश भ्रमणमा निस्किए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो इनिङको शुभारम्भका अवसरमा नयाँदिल्ली पुगे।
दोस्रो कार्यकालका लागि २०७४ को फागुनमा सपथ लिएका प्रधानमन्त्री ओलीले सोही वर्ष चैतमा भारतको राजकीय भ्रमण गरेका थिए। पहिलो भ्रमणको १५ महिनापछि ओली उनी पुन: नयाँदिल्ली पुगे।
यसबीच उपराष्ट्रपति नन्दबहादुर पुन जलवायु सम्मेलनमा सहभागी हुन जेठमै अष्ट्रियाको भियना पुगे।
भारतबाट फर्किएको दुई साता नबित्दै प्रधानमन्त्रीको युरोप उडान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली पुगेर फर्किएका प्रधानमन्त्री ओली त्यहाँबाट फर्किएको दुई सातामै युरोपका लागि उडे।
स्वीट्जरल्याण्ड जेनेभा हुँदै प्रधानमन्त्री ओली लण्डन र पेरिस पुगे।
यसपटकको युरोप भ्रमण दुई देशबीचको सम्बन्धमा महत्त्वपूर्ण कोसेढुंगा पनि थियो।
प्रधानमन्त्री ओलीले बेलायतमा रहँदा त्यहाँका प्रधानमन्त्री तथा राज परिवारका सदस्यसँग भेट गरे। नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको देश बेलायतमा १७ वर्षपछि भएको यो पहिलो प्रधानमन्त्रीस्तरको भ्रमण हो।
बेलायतबाट पेरिस पुगेका प्रधानमन्त्री ओलीको पेरिस भ्रमण पनि ऐतिहासिक हो। किनकि नेपालबाट १९ वर्षपछि पहिलोपटक उच्चस्तरीय भ्रमण थियो।
दुई देशले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइरहेका बेला ओली पेरिस पुगे। सन् १९८३ फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्सिस मिट्राण्डले नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट तत्कालीन राजा वीरेन्द्रले १९९४ मा औपचारिक भ्रमण गरेका थिए। त्यस्तै तत्कालीन राजा महेन्द्रले २०२३ सालमा फ्रान्सको राजकीय भ्रमण गरेका थिए। उनलाई फ्रान्सका राष्ट्रपति जनरल चार्ल्स द गाउली स्वागत गरेका थिए।
त्यसअघि बेलायत भ्रमणमा गएका तत्कालीन श्री ३ जंगबहादुर राणा फ्रान्स पुगेका थिए।
फ्रान्स बेलायत र अमेरिका र भारतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो। नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
२०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फ्रान्स भ्रमण तय भएको थियो। तर उनी भ्रमणमा जानु अगाडि नै राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि २०५७ फागुनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला फ्रान्स पुगेका थिए।
त्यसअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी २०५१ सालमा डेनमार्कमा भएको विश्व सामाजिक विकास सम्मेलनमा सहभागी भएर फर्किँदै गर्दा फ्रान्स पसेका थिए।
चिनियाँ राष्ट्रपति सी'को नेपाल भ्रमण
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली असारमा चीन भ्रमणमा निस्किए। चीनको दालियानमा असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिन चीन पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङ पुगेर विदेशमन्त्री वाङ यीसँग भेट गरे। भेटका क्रममा उनले चिनियाँ विदेशमन्त्री यीलाई नेपाल भ्रमणको निम्तो दिए।
सोही निम्तोपछि चिनियाँ विदेशमन्त्री वाङ भदौ २२ गते इस्लामावाद हुँदै काठमाडौं भित्रिए।
यो भ्रमणले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको बाटो सहज बनायो।
सोही पलहस्वरुप सी असोज २५ गते भारत हुँदै नेपाल अवतरण गरे। चिनियाँ राष्ट्रपति सी'को यो भ्रमण १९९६ पछि चीनबाट भएको उच्चस्तरीय भ्रमण थियो। पछिल्लो पटक सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपालको औपचारिक भ्रमण गरेका थिए।
२३ वर्षपछि भएको यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम थप्यो। भ्रमणलाई 'रणनीतिक महत्त्व'को रुपमा हेरिएको छ। सम्बन्ध रणनीतिक दिशामा प्रवेश गरेको बताइएको छ।
राष्ट्रपति सीको भ्रमणका क्रममा दुई देशबीच १४ बुँदे संयुक्त वक्तव्य जारी भयो। त्यस्तै २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भए।
चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो।
पूर्वी एसियाको भ्रमणमा राष्ट्रपति भण्डारी
२३ वर्षपछि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सीलाई बिदाई गरेको साता नबित्दै राष्ट्रपति भण्डारी पूर्वी एसियाका दुई मुलुकको भ्रमणमा निस्किइन्। असोज २९ गते भण्डारी म्यानमार पुगिन्।
नेपालबाट पहिलोपटक उच्चस्तरीय भ्रमण सन् १९७० अप्रिलमा भएको थियो। राजा महेन्द्रले म्यानमारको पहिलो राजकीय भ्रमण गरेका थिए। त्यस्तै सन् १९८० को मार्चमा राजा वीरेन्द्रले म्यानमारको अनौपचारिक भ्रमण गरेका थिए।
राष्ट्रपति भण्डारीको यो भ्रमण सन २०१४ पछिको नेपालका तर्फबाट भएको उच्चस्तरीय भ्रमण थियो भने सन् १९८० यताकै पहिलो राष्ट्र प्रमुखको भ्रमण थियो। नेपालमा गणतन्त्र स्थापना पछि पहिलोपटक नेपालबाट राष्ट्रपति म्यानमार पुगेका हुन्। त्यस्तै १९८० मै तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले म्यानमारको भ्रमण गरेका थिए।
सन् २०१६ मा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०१७ मा म्यानमारको भ्रमण गरेका थिए। त्यसको एक वर्ष पहिला म्यानमारका राष्ट्रपति विन मिन्ट विम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए।
नेपाल र म्यानमारबीच सन् १९६० मार्च १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसपछि पहिलोपटक त्यहाँका सैनिक शासक जनरल ने वीनले नेपाल भ्रमण गरेका थिए। त्यस्तै, उनले दोस्रो पटक सन् १९७७ मा पुनः नेपाल भ्रमण गरेका थिए। सन् १९७५ मा वीरेन्द्रको राज्याभिषेक समारोहमा म्यानमारका प्रधानमन्त्री यु सेङ विङ नेपाल आएका थिए।
यो पनिः म्यानमारबाट १९७७ पछिकै उच्चस्तरीय भ्रमण
म्यानमार भ्रमण सकेर राष्ट्रपति भण्डारी कात्तिक ३ गते जापान प्रस्थान गरिन्। त्यहाँ उनले कात्तिक ५ गते जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी भइन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गरिन्।
टोकियोमै रहँदा राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच शिष्टाचार भेटवार्ता भयो।
यो भ्रमण सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र जापानबीच भएको दुई दशकपछिको उच्चस्तरीय भ्रमण हो। सन् १९९८ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलोपटक जापानको भ्रमण गरेका थिए। उनी नेपालबाट जापान भ्रमण गर्ने पहिलो निर्वाचित प्रधानमन्त्रीसमेत हुन्।
त्यस्तै सन २००० मा जापानी प्रधानमन्त्री योशिरो मोरीले नेपालको भ्रमण गरेका थिए। उनी नेपाल भ्रमण गर्ने पहिलो जापानी प्रधानमन्त्री हुन्।
राष्ट्रपति जापानबाट फर्किएको दुई दिनपछिनै प्रधानमन्त्री फेरि विदेश यात्रामा निस्किए। असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकु पुगे।
बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण
यसै वर्ष बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमण गरे।
कात्तिक २६ गते नेपाल आइपुगेका काठमाडौँ भक्तपुर र पोखराको समेत भ्रमण गरे। त्यस्तै यही वर्ष परराष्ट्रमन्त्री ज्ञवाली फागुनमा बंगलादेश पुगे।
बंगलादेश भ्रमणका क्रममा त्यहाँका परराष्ट्र मन्त्रीसँग द्विपक्षीय भेटवार्ता भयो। भेटवार्ताका क्रममा दुई देशबीच जलविद्युत लगायतका उर्जाका स्रोतहरूको विकास एवम् व्यापार गर्ने विषयमा सहमति भएको छ।
यता यसै वर्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा, सर्विया र मस्को, मालदिभ्स पुगे। यही वर्ष लग्जम्वर्गका विदेशमन्त्रीले नेपालको भ्रमण गरे। उपप्राधानमन्त्री ईश्वर पोखरलेले पनि कतार लगायतका देशहरुको भ्रमण गरे।
यसैवर्ष माघ ५ मा बेल्जियमकी राजकुमारी एस्त्रिदले नेपालको साता लामो भ्रमण गरिन्। बेल्जियमका राजा फिलिपकी बहिनी एस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गरिन्। उनले कैलाली, नवलपरासी, चितवनको भ्रमण गरिन्। कैलालीमा नवनिर्मित क्षयरोग निवारण केन्द्रको उनले उद्घाटन गरिन्।
चार देशसँग कूटनीतिक सम्बन्ध
यस वर्ष नेपालले चारवटा देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। नेपालले वैशाखमै इक्वेटेरियल गिनी र इस्वाटिनीसँग कूटनीतिक सम्बन्ध स्थापना गर्यो।
त्यस्तै २०७६ मै नेपालले सेन्ट लुसियासँग पनि कूटनीतिक सम्बन्ध स्थापना गर्यो। त्यस्तै अफ्रिकी मुलुक घानासँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालले यो सँगै १६८ देशसँग आफ्नो कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।
वर्षको अन्त्य फितलो 'क्राइसिस डिप्लोमेसी'
वर्षभर उच्चस्तरीय भ्रमणमा कूटनीतिक सक्रियता देखाएको नेपालले वर्षको अन्त्यतिर भने कूटनीतिक फितलोपना देखाएको छ। अंग्रेजी नयाँ वर्षको सुरुवात नहुँदै चीनबाट फैलिएको कोभिड-१९ले विश्व आक्रान्त भइरहेका बेला नेपालको कूटनीति फितलो देखिएको छ।
कोभिड-१९ विरुद्ध लड्न विश्वलाई चीनले सहायता सामाग्री सहयोग पठाइरहेको छ। हरेक दिन जस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रभावित मुलुकहरुका राष्ट्रप्रमुखसँग टेलिफोनमा वार्ता गर्दै सहयोगको प्रतिवद्धता जारी गर्दै आएका छन्।
पछिल्लो पटक नेपाल चीनबीच कूटनीतिक सम्बन्ध उच्च नेतृत्वमा अगाडि बढेको बेला पनि सरकारले त्यसलाई क्यास गर्न सकेको छैन।
'नेपालले कूटनीतिक पहल गर्न सकिरहेको छैन। चीन सरकारले तिमीलाई के चाहिन्छ भन हामी दिन्छौं भनेकै छ,' चीनको सिचुवानस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक एवं सेन्टर फर ट्रान्स हिमालय स्टडिजका सिनियर रिसर्च फेलो बुद्धिप्रसाद शर्माले भने, 'तर पनि हामीले यो चाहियो भनेर भन्न सकिरहेका छैनौँ।'
कोभिड-१९ विरुद्ध लड्न फितलो 'क्राइसिस डिप्लोमेसी' : कहाँ चुक्यो नेपाल