काठमाडौं : कोरोना भाइरस रोग (कोभिड-१९) बाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृत्यु भएका ८ मध्ये ७ जना आफूमा कोरोना भाइरसको संक्रमण छ भन्ने थाहा नभई बिदा भए।
गुल्मीको मदाने गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापक ४१ वर्षका व्यक्ति बाहेक अरुले आफूमा कोरोना छ भन्ने थाहा त पाएनन्। दुई जनामा त अझै दाहासंस्कारपछि मात्र थाहा भयो- उनीहरुको मृत्युको एक कारण कोरोना भाइरस थियो।
संघीय संसदको संयुक्त बैठकमा पेश भएको सरकारको नीति तथा कार्याक्रमबारे राष्ट्रिय सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको मृत्यु नभएको दाबी गरेका थिए।
'कोरोनाले छोएपछि मरेकालाई कोरोनाले नै मरेको मान्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मापदण्डको कारणले मात्रै कोरोनाले भन्या हो। बास्तवमा कोरोनाले वितेको होइन। वितेको अरु कारणले हो। अरु कम्प्लिकेसनले हो,' राष्ट्रिय सभामा जेठ ६ गते सरकारको नीति तथा कार्यक्रमबारे उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, 'कोरोना लागिसेकको छ भने कोरोनामै गन्नुपर्छ भन्ने हुनाले हाम्रोमा यो कोरोनाले वितेको दुई जनाको संख्या आएको हो।'
त्यतिबेला कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको थियो। उनीहरु दुवैमा मृत्युपछि मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यसबीच मृत्यु हुनेको संख्या ८ पुगेको छ। प्रधानमन्त्रीको भनाइ मान्ने हो भने अझै पनि कोही कोरोनाका कारण नेपालमा मरेका छैनन्।
गुल्मीका एक जना उपचारका लागि अस्पतालमा भर्ना भएका कारण उनको परीक्षण तीब्र भयो। त्यसैले उनमा मृत्युपूर्व नै कोरोना भाइरसको संक्रमण पुष्टि भयो। अरु कोही क्वारेन्टाइनमै मरे। कोही उपचारका क्रममा मृत्यु भयो। दुई जनाको त दाहसंस्कारपछि मात्र कोरोना संक्रमण भएको पुष्टि भयो।
जेठ २ गते मृत्यु भएकी सिन्धुपाल्चोककी महिला त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन्। त्यहाँ उनको कोरोना परीक्षण गर्न प्रोटोकलले रोकेको भन्दै परीक्षण गरिएन्। कोरोना संक्रमणले 'प्रिम्याच्युर वर्थ' गराउँछ भन्ने तथ्यलाई नजरअन्दाज गर्दै घर पठाइयो। बेलैमा 'लाइफ सपोर्ट' नपाएका कारण उनको मृत्यु भयो।
बाँकेका नरैनापुरका युवाको मृत्यु क्वारेन्टाइनमै भयो। जेठ ४ गते उनको क्वारेन्टाइनमा मृत्यु हुँदा उनमा संक्रमणका उच्च लक्षणहरु देखिएका थिए।
अघिल्लो रात नै उच्च ज्वरो, वान्ता लगायतका लक्षण देखिँदा पनि उनलाई अस्पतालसम्म पुर्याइएन्। अव्यवस्थित क्वारेन्टाइनमै राखियो। विहान उनको अवस्था थप बिग्रियो तर पनि स्वास्थ्यकर्मीको मुहार उनले देख्न पाएनन्। अनी मृत्यु भयो। उनको मृत्युपछि मात्र कोरोना पुष्टि भयो।
जेठ १२ गते नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुग्यो। यसपटक मृत्यु भइसकेका व्यक्तिको दाह संस्कार भइसकेको थियो।
मृत्यु भएको ८ दिनपछि उनको मृत्युको पछाडिको एक कारण कोरोना पनि थियो भन्ने पुष्टि भयो। उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। वीरगंजको नेसनल मेडिकल कलेजले जेठ २ गते भर्ना भएका उनलाई जेठ ४ गते मृत्यु भएको घोषणा गर्यो।
कोरोना भाइरसको संक्रमण थियो। तर उनको समयमै परीक्षण भएन। परीक्षण नहुँदा उनको मृत्युको कारण सातासम्म पनि बाहिर आएन्। दाह संस्कारसमेत भयो। मृत्यु भएको ८ दिनसम्म उनको परीक्षणको रिपोर्ट किन आएन् त?
यो त्यही समय थियो जतिबेला काठमाडौंमा सरकारले बनाएको 'प्रोटोकल' बाहिरका पत्रकारहरु नेताका नजिकका मान्छेहरुले धमाधम कोरोना भाइरसको 'नेगेटिभ रिपोर्ट' सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका थिए। प्रोटोकल भित्र परेका र मृत्यु पछि दाहासंस्कार भइसकेपनि उनको थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लाइनमा थियो। अघि थिए नेता र नेताका नजिकका मान्छेका स्वाब।
पाँचौं मृत्यु अर्घाखाँचीका व्यक्तिको भयो। भारतमा मजदुरी गर्न पुगेका उनी नेपाल फर्कँदै थिए। भारतीय भूमिमै देह त्याग गरे। उनको शब अर्घाखाँची पुर्याइयो। दाहसंस्कार गरियो तीन दिन पछि मात्र रिपोर्ट आयो पोजेटिभ।
ललितपुरको किस्ट अस्पतालमा उपचार गर्दा गर्दै एक जनाको मृत्यु भयो। कोभिड विशेष अस्पताल भनेर तोकिएको पाटन अस्पतालबाट रिफर भइ किस्ट पुगेका उनको मृत्यु भयो। मृत्युपछि मात्र परीक्षणको नतिजा आयो कोरोना पोजेटिभ।
दैलेखको दुल्लुमा एक जना व्यक्तिको मृत्यु भयो। १६ गते मृत्यु भएका उनमा कोरोनाको लक्षण थियो। तर अस्पतालमा लगिएन। उनको मृत्यु भयो।
मृत्युपछि नतिजा आयो पोजेटिभ। उनी क्वारेन्टाइनमै तीन दिन अर्थात् ७२ घण्टादेखि कोरोना परीक्षणको नतिजा कुर्दै थिए।
सामान्यत: ६ घण्टामा आरटी-पीसीआर टेस्ट सम्पन्न हुन्छ। प्राविधिक जटिलता मिलाउन, स्वाब संकलन, संकलित स्वाब प्रयोगशाला सम्म पुर्याउन अरु एक दिन लाग्ला। नमुनाको चापले थपिएला तर संक्रमित व्यक्ति नतिजाको पर्खाइमा आफूमा कोरोना भाइरस छ भन्ने थाहा नपाईँ मृत्युवरण गर्नु दु:खद् हो।
उनको नतिजा रिपोर्ट तीन दिनमै आयो। तर, यहाँ क्वारेन्टाइनमा स्वाब संकलनको पालो महिनादेखि कुर्दै बसिरहेका छन्। स्वाब संकलन गरेको १० दिनसम्म रिपोर्ट नआउँदा अव्यवस्थित क्वारेन्टाइनमा संक्रमणको जोखिम मोलेर मानिसहरु बस्न बाध्यछन्।
त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने अर्की एक बालिका। उनलाई पनि आफ्नो मृत्युको कारण थाहा भएन्। हुन त अवोध बालिकालाई मृत्यु के हो भन्ने थाहा नहोला तर, उनका अभिभावकलाई आफ्नो छोरीमा कोरोना भाइरसको संक्रमण छ भन्ने मृत्यु अगाडि थाहा पाएनन्। मृत्युपछि मृत्युको कारण कोरोना भाइरस थियो भन्ने थाह पाउन झन्डै एक दिन लाग्यो।
मृत्यु अघिअघि, सरकार पछिपछि, अनि सधैं लकडाउन? [सम्पादकीय]
विश्व स्वास्थ्य संगठनले अल्प विकसित राष्ट्रमा मृत्युको कारणसहितको तथ्यांक नभएको र कोरोना भाइरसको संक्रमण थियो थिएन भन्ने एकीन हुन नसकेको भन्दै मृत्युका हरेक घटनालाई निगरानीमा राख्न निर्देशन दिएको छ।
मृत्युको 'रियल टाइम सर्भिलेन्स' गर्दै परीक्षणको सुविधा नभएका, अस्पतालको पहुँच भन्दा बाहिर रहेर मृत्यु भएकाहरुको पनि तथ्यांक राख्न विश्व स्वास्थ्य संगठनले भनेको छ। त्यति मात्र होइन त्यस्ता तथ्यांक समेत अध्ययनका लागि सार्वजनिक रुपमा उपलब्ध हुने गरी राख्न भनेको छ।
तर, नेपालमा क्वारेन्टाइनमा कोरोना भाइरसको संक्रमण लिएर मर्नेको व्यक्तिलाई मृत्युको कारण 'कोरोना भाइरस नभएको' भन्ने प्रधानमन्त्री र सरकारले 'जिरो डेथ'को नीतिलाई सफल पार्न भएको असफलता ढाक्नलाई रेकर्ड राख्ला त?
यसबीच अस्पताल बाहिर भएका मृत्युका घटनाहरु कति छन्। अस्पतालमै मृत्यु भए पनि कोरोना परीक्षण नगरिएका घटना कति छन् रेकर्ड छैन।
विश्व स्वास्थ्य संगठनले संक्रमणको पहिचानलाई जोड दिँदै परीक्षणलाई बढाउन भनेको छ। चीनको वुहानमा संक्रमण फैलिँदै गर्दा नियन्त्रणको रणनीति अनुरुप घरघरमा गएर संक्रमित खोज्ने काम भए। लक्षण भएकाहरुलाई संक्रमितकै रुपमा अस्पताल भर्ना गरियो। आइसोलेसनमा राखियो। सेल्फ आइसोलेसनमै भए पनि निगरानीमा राखियो।
तर, नेपालमा क्वारेन्टाइनमा राखिएकाहरुमा पनि स्वास्थ्य निगरानी भएको छैन। क्वारेन्टाइनमा राखिएको १४ दिनमा परीक्षण नगरी घर फर्काइएका पनि छन्। नेपालमा अधिकांश संक्रमण लक्षण बिनाका छन्। यस्तोमा परीक्षणको दायरा फराकिलो नपारी क्वारेन्टाइनमा विदेशबाट आएकालाई कहिलेसम्म राख्ने? स्थानीय तहमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीहरु भन्छन्।
'क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण हुन सकेको छैन। स्वाब संकलन गरि लगेकाको नतिजा साता दिनसम्म आउँदैन्,' सबैभन्दा बढी संक्रमित जिल्ला कपिलवस्तु र कपिलवस्तुको पनि बढी संक्रमित गाउँपालिका यशोधरा गाउँपालिकामा स्वास्थ्य संयोजक ज्योति प्रकाश दुबेले भने, 'हामीले परीक्षणको दायरा फराकिलो बनाउँदै तीब्र परीक्षणका लागि आग्रह गरिरहेका छौं। परीक्षणको रिपोर्ट समयमै आए हामीले उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा पठाउँदै नयाँ आउनेलाई व्यवस्थापन गर्न सक्थ्यौं।'
पुरानालाई घर पठाउन नसक्ने र नयाँ थपिँदै जाँदा क्वारेन्टाइन अव्यवस्थित हुँदै गइरहेको उनको गुनासो। 'थोरै हुँदा जस्तो राम्रो व्यवस्थापन धेरै हुँदा नहुनु स्वभाविक हो,' उनले भने।