PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेकपा जोगाउन शक्ति केन्द्रको दौडधुप : शीतल निवासको कसरत, चिनियाँ दूतावासको सक्रियता



विधुर ढकाल

नेकपा जोगाउन शक्ति केन्द्रको दौडधुप : शीतल निवासको कसरत, चिनियाँ दूतावासको सक्रियता

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजनोन्मुख विवाद चर्किँदै जाँदा आन्तरिक तथा बाह्य शक्तिकेन्द्रको सक्रियता बढ्न थालेको छ।

नेकपाभित्रको विवाद मथ्थर पार्न र विभाजनबाट रोक्नका लागि आन्तरिक शक्ति केन्द्रको रुपमा रहेको राष्ट्रपति कार्यालयको सक्रियता बढेको छ। केही दिन देखि राष्ट्रपति विद्यादेवी भण्डारीको नेकपाका नेताहरुसँग बाक्लै  भेटघाट भएको छ।

त्यस्तै, बाह्य शक्ति केन्द्र 'चिनियाँ दूतावास'ले पनि आफ्नो सक्रियता बढाएको छ। चिनियाँ राजदूत होउ यान्छीले पनि राजनीतिक भेटलाई बढाउँदै लगेकी छन्।

राजदूत होउ मंगलवार रात छिप्पिँदै लाग्दा बालुवाटर प्रधानमन्त्री निवास पुगिन्। राति ९ बजे प्रधानमन्त्री निवास छिरेकी होउ साढे १० बजेपछि मात्र त्यहाँबाट निस्किइन्। बालुवाटारमा साढे १ घण्टा भएको छलफलमा राजदूत यान्छीले नेकपाको विवादको विषयमा चासो राखेको बालुवाटार निकट स्रोतले बतायो।

परराष्ट्र मन्त्रालयलाई जानकारी नगराई भएको भेटमा दुई देशबीचको सम्बन्ध वा कुटनीतिक विषयमा भन्दा पनि नेकपाकै विवादको विषयमा छलफल भयो।

'मंगलवारको भेट कुटनीतिक भेट होइन। परराष्ट्रलाई यसबारे जानकारी पनि छैन,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'भेटमा के छलफल भयो भन्ने रेकर्ड हामीसँग छैन। दुई देशको हितको विषयमा वा द्वीपक्षीय भेट भएको भए रेकर्ड हुन्थ्यो। त्यस्तो होइन।'

नेकपा भित्र आन्तरिक किचलो बढ्दै जाँदा चिनियाँ दूतावासको सक्रियता यो पहिलो पटक भने होइन्। यसअघि पनि गत वैशाखमा प्रधानमन्त्री माथि राजिनामा दिन दबाब बढ्दै गएपछि राजदूत होउले सक्रिता बढाएकी थिइन्। त्यतिबेला पनि सचिवालय बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।

राजदूत होउले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेर पार्टी भित्रको विवादको विषयमा चासो ब्यक्त गरेकी थिइन्।

सम्बन्धित समाचार:

नेकपामा चर्किएको राजनीतिक किचलोसँगै चलायमान भयो चीन, सक्रिय भयो राजदूतावास

त्यतिबेलाको विवाद केही मथ्थर हुन नपाउँदै फेरि असारमा विवाद चर्कियो। पुन: पार्टीको सचिवालयसँगै स्थायी कमिटीको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामा मागियो। असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश नेताहरुले राजीनामा माग गरेका थिए।

यो विवादमा पनि राजदूत होउले राजनीतिक भेटघाटलाई तीब्रता दिएकी थिइन्। मदन भण्डारी स्मृति दिवसमा भारतको इसारामा आफूलाई हटाउन खोजिएको भन्दै प्रधानमन्त्री ओली अभिव्यक्ति दिएसँगै उनी फेरि विवादको केन्द्रमा तानिए। ९ गते उनले दिएको अभिव्यक्तिले नेकपामा अर्को कम्पन ल्याइदियो।

प्रचण्डले 'भारतले होइन मैले मागेको हुँ राजीनामा' भन्दै बैठकमै ओलीलाई राजीनामा दिन दबाब दिए। १० असार देखि सुरु स्थायी कमिटीमा बोल्ने प्रचण्ड-नेपाल पक्षका नेताहरुले ओलीको राजिनामा माग गरे। त्यतिबेला पुन: राजदूत होउले प्रधानमन्त्री, राष्ट्रपतिसहित प्रचण्ड, नेपाल, र खनालसँग पनि भेट  गरिन्।

सम्बन्धित समाचार:

चिनियाँ राजदूतको 'ग्लु'ले कति समय जोडिएला नेकपा? यान्छीको सक्रियता, परराष्ट्र बेखबर

त्यतिबेलाको विवाद लामो चर्कियो। सचिवालयमा बैठक हुँदै सुरु भएको विवादको असर स्थायी कमिटीको बैठकमा पर्‍यो। असारमा सुरु बैठक भदौ २६ गते सकियो। बैठकले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिँदै ओलीलाई सरकारको नेतृत्‍व पाँच वर्षसम्मकै लागि दियो। स्थायी कमिटीको निर्णयसँगै विवाद समाधान भए जस्तै देखियो।

फेरि ओलीको कार्यशैलीका कारण विवाद उत्कर्षमा पुग्यो। 'हामीले हरेक पटक विवाद समाधान गर्न खोजिरहेका छौं। विवाद हुँदा भएको सहमति पालना भए पुन: विवाद निस्किँदैनथ्यो,' नेकपाका एक सचिवालय सदस्यले भने, 'प्रधानमन्त्री ज्यूले सहमति पालना गरिदिएमात्र पुग्छ। अहिलेको विवाद पनि समाधान हुन्छ। तर, उहाँ सहमति गर्ने पालना नगर्ने गर्नुहुन्छ। त्यसैले विवाद बल्झिएको हो।'

पार्टी विभाजन उन्मुख रहेको बेला ओली स्थायी कमिटीको बैठकको पालना नगर्ने र गुट भेला गर्दै हिँड्दा विवाद बल्झिएको ती नेताको भनाई छ।

पार्टी एकता जोगाउन शक्ति केन्द्रको सक्रियता आवश्यकता नभएको उनको भनाई छ। 'विवादको समाधान हामीभित्रै छ। पार्टी विधान, विधि र पद्धतिको पालना गरौं। यसअघि भएका सहमतिको कार्यान्वयन गर्दै अगाडि बढौँ। विवाद आउँदैन,' उनले भने, 'नेकपाको विवाद कसैले मिलाउने होइन। कुनै देशको राजदूतको पनि आवश्यकता पर्दैन। पार्टी नफुटोस् भन्ने उनीहरुको चाहना हो। भेटमा त्यही प्रकट भएको हो। दूतावासले नै विवाद समाधान गरिदियो या गरिदिने होइन।'

शीतल निवासको कसरत

यता नेकपाको विवाद समाधानका लागि भन्दै राष्ट्रपति कार्यालय शीतल निवासबाट पनि कसरत भइरहेको छ।  

मंगलवार दिउँसो प्रचण्ड शीतल निवासमा पुगेर विद्यादेवी भण्डारीसँग छलफल गरे। करिब दुई घण्टा भएको छलफल नेकपाको विवादका विषयमा थियो। स्रोतका अनुसार पार्टी विभाजन रोक्नका लागि ‌ओलीलाई सम्झाउन प्रचण्डले राष्ट्रपतिलाई आग्रह गरेका थिए।

यद्यपि, त्यस भेटमा के के विषयमा छलफल भयो भन्ने कुरा शीतल निवास र खुमलटारबाट आइसकेको छैन। पछिल्लो पटक नेकपामा दुई अध्यक्षबीच 'पत्रयुद्ध' चलिरहेको बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली मध्यान्न शीतल निवासमा पुगेर राष्ट्रपति भण्‍डारीसँग छलफल गरेका छन्।

त्यसअघि मंगलवार राती पनि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए। राजदूत होउसँगको भेटपछि मंगलवार राती ओली शीतल निवास पुगेका थिए।

त्यस्तै प्रधानमन्त्री ओली यसअघि पनि कार्तिक २९ गते पनि शीतल निवास पुगेका थिए

२८ गते सचिवालय बैठक बसेको थियो। बैठकमा प्रचण्डले छुट्टै राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए। अघिल्लो स्थायी कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानी), प्रचण्डलाई ओलीले पठाएको पत्रसहित प्रचण्डले सचिवालय सदस्यहरुलाई अध्ययनका लागि वितरण गरेको दस्तावेजमा ओली माथि पार्टीको नीति निर्देशन, विधान, चुनावी घोषणा पत्र विपरित हिँडेको गम्भीर आरोप लगाएका थिए।

प्रचण्डको फरक प्रस्ताव राखेको भोलिपल्ट नै ओली शीतल निवासमा पुगेका थिए। पछिल्लो समय ओलीको शीतल निवास आउजाउ बाक्लिँदै गएको छ। हाल पार्टी भित्र अल्पमतमा रहेका ओलीले पार्टी विभाजन गर्न सक्ने एउटा अस्त्र भनेको राजनीतिक दल सम्बन्धि अध्यादेश हो। त्यसका लागि ओलीले राष्ट्रपति भण्डारीलाई मनाउने प्रयास गरिरहेको स्रोत बताउँछ। यसअघि पनि उनले यस्तै अध्यादेश ल्याएका थिए। तर विवाद र आलोचना पछि फिर्ता भएको थियो।

राष्ट्रपति भण्डारीले सकभर पार्टी एकता जोगाउन प्रयास गर्न ओलीलाई सुझाब दिएको स्रोत बताउँछ। तर पनि ओलीले र राष्ट्रपतिबीच अन्तिम अवस्थामा पार्टी फुटाउने गरी अध्यादेश ल्याउने वा संसद विघटन गर्ने सम्मको विषयमा छलफल चलिरहेको छ।

पार्टी भित्र अल्पमतमा रहेका ओलीले संसदीय दलमा संख्या पुर्‍याएर नयाँ दल बनाउने तयारी पनि भित्रभित्रै गरिरहेका छन्। तर त्यसका लागि कानुन बाधक छ। पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतर्फ ४० प्रतिशत आवश्यक पर्छ। त्यसैले ओलीले संसदीय दलमा मात्र न्यूनतम ४० प्रतिशत पुर्‍याएर पार्टी विभाजन हुन सक्ने गरी अध्यादेश ल्ययाउने तयारी गरेका छन्। जसका लागि राष्ट्रपतिलाई पनि सहमतिमा ल्याउनु आवश्यक छ।

यसअघि पनि उनले त्यस्तै अध्यादेश जारी गरेका थिए। यस विकल्पका विषयमा प्रधानमन्त्रीले कानुन व्यवसायीहरुसँग पनि छलफल गरिरहेका छन्।

तर, राष्ट्रपतिले तत्काल विभाजन भन्दा पनि एकताका लागि पहल गर्न दुवै पक्षलाई आग्रह गरेका थिए। सोही पहलस्वरुप राष्ट्रपति भण्डारीले नेकपाका सचिवालय सदस्यहरु वामदेव गौतम, रामबहादुर थापा बादलसँग पनि छुट्टा छुट्टै भेट गरिसकेकी छन्।  गत कार्तिक १९ गते राष्ट्रपति भण्डारीले गौतमलाई शीतल निवासमा नै बोलाएर पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी थिइन्।

राष्ट्रपतिले गौतमलाई पार्टी एकता संकटमा परेको बेला विगतमा पनि तपाईंले पटक पटक एकता जोगाउने काम गरेको भन्दै अहिले पनि त्यस्तै भूमिका खेल्न आग्रह गरेकी थिइन्।

नेकपाको गुटगत विवादमा शीतल निवास सक्रिय भएको यो पहिलो भने होइन्। यसअघि पनि असारमा नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले नेकपाका नेताहरुसँग छुट्टा छुट्टै भेट गरेकी थिइन्।  

सम्बन्धित समाचार:

नेकपाको गुट राजनीतिमा शीतल निवास सहजकर्ता, नेता मिलाउँदा जोगिएला राष्ट्रपतिको गरिमा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell