PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओलीको आठ घण्टे उलटपुलटः खुमलटारमा बढेको तापक्रम, बालुवाटारको 'इन्फोडेमिक'



प्रकाश भण्डारी

ओलीको आठ घण्टे उलटपुलटः खुमलटारमा बढेको तापक्रम, बालुवाटारको 'इन्फोडेमिक'

काठमाडौं: बिहान ९ बजे कीर्तिपुरस्थित घरबाट दरबारमार्गस्थित कार्यालय आउनु दैनिकी थियो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिटमा रिपोर्टिङ मेरो काम। दिउँसो १ बजे स्थायी कमिटीबाहेक पूर्व निर्धारित केही थिएन। नियमित समयमा कार्यालय लागें।

त्रिपुरेश्वरमा जाम रहेछ। 'मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै रे! थप बुझ्नुपर्‍यो,' डेस्कबाट फोन आयो।

'यस्ता बैठक बसिरहन्छन् नि। केहीबेरमै अफिस पुगेर अपडेट गरौंला,' गम्दै फोन खल्तीमा हाले। फोन त फेरि बज्यो। 'प्रचण्ड नि बालुवाटार पुगे रे। मन्त्रिपरिषद्बारे केही पत्तो लाग्यो,' डेस्कबाट सोधियो।

१. मन्त्रिपरिषद्को आकस्मिक बैठक, संसद् विघटनको प्रस्ताव

लगतै प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरे। 'आकस्मिक बैठक हो। अहिले भर्खरै सुरु भयो। एजेण्डा सोध्न नपाउँदै फोन काटियो।

नेकपा विवाद चरम अवस्थामा पुगेकाले ओलीले केही कदम चाल्ने पो हुन् कि! त्रिपुरेश्वरबाटै यसबारे अपडेट गराएँ। अनि कार्यालय हिँडे।

कार्यालय पुगेर एकछिन नबस्दै प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको खबर आयो। त्यसपछि लगातार बालुवाटार र खुमलटारमा सम्पर्क जारी राखेँ। बालुवाटार कुदिहाल्नुपर्ने स्थिति देखियो। प्रधानमन्त्री कार्यालयमा पुगेको मात्र थिएँ, मन्त्रीका गाडी निस्कन थाले। त्यसबेला मन्त्रीहरुले कुनै प्रतिक्रिया दिन मानेनन्।

त्यहाँ पुग्दा पनि स्रोतलाई नै सम्पर्क गर्नुपर्‍यो मन्त्रिपरिषदको कदमबारे। 'मन्त्रीलाई बुझ्नुस्। केही गम्भीर निर्णय भएको छ,' स्रोतले यति बोल्यो।

सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग सम्पर्क भएपछि पुष्टि भयो- प्रतिनिधि सभा विघटनको सिफारिस

अपेक्षितभन्दा फरक घटनालाई फेरि थप भेरिफाइ गरें। थप बुझ्दा निर्णय भएको बुझियो।

२. खुमलटारमा पाँच भाइको भेला

यतिञ्जेल नेकपाका नेताहरुको दौडधुप सुरु भइसकेको थियो। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरु खुमलटार हान्निए भने प्रम ओली गुटका नेता बालुवाटार।

प्रचण्ड ओलीसँग छलफल गर्न भन्दै मन्त्रिपरिषदको बैठक सुरु नहुँदै बालुवाटार पुगेका थिए। यसमा पनि प्रचण्ड ओली गुटले आफू अनुकूलको सूचना दिइरहेको थियो। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ओलीसँग मन्त्रिपरिषद् सुरुअघि नै भेट भएको दाबी गरिरहेका थिए भने प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइँले भेट भएको अस्वीकार गरिरहेका थिए। बालुवाटारले त्यसअघिको भेटलाई गोप्य राख्न खोजेको थियो।

संसद् विघटन गरेर ओली शीतलनिवास लागेको खबर पनि बालुवाटारले नै प्रचार गरेको थियो। प्रचण्ड भने उनलाई पर्खिरहेका थिए। त्यति बेलासम्म साढे ११ बजिसकेको थियो। खाना खाने बेला थियो त्यो। उता प्रचण्ड पनि ओलीले भेट्न नमानेपछि खाना खान भन्दै खुमलटार लागेछन्। तारन्तार आइरहेका जानकारी अपडेट गर्न खाना खाने समय छुट्याउन भ्याइ-नभ्याइ थियो। खाना खाँदै स्रोतहरुसँग सम्पर्कमै बसियो।

३. प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

बालुवाटारको सूचना दिने रणनीति पनि अनौठो छ। आफू अनुकूलका सूचनालाई जसरी पनि प्रचार गर्छ बालुवाटार। प्रधानमन्त्रीकै सचिवालयका एक जनाले आफैँले फोन गरेर भने, 'तपाईँले संसद् विघटन भएको लेख्नुभएको रहेछ। यो कसरी गरिएको भनेर म तपाईँलाई भनिदिन्छु।

प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव जनार्दन शर्माले बोकेर हिँडेका रहेछन्। दर्ता हुन लागेको थाहा पाएपछि विघटन गरिएको हो। बालुवाटरको सूचना प्रायजसो 'इन्फोडेमिक' हुने गर्छ। त्यसैले पुष्टि गर्नुपर्ने भएकाले जनार्दन शर्मालाई नै फोन गरियो। शर्माले फोनमा होइन भनेनन्। बरु आफू मिटिङमा भएको र यसबारे केही समयमा बोल्ने प्रतिक्रिया दिए। बालुवाटारले सही नै सूचना दिएको रहेछ। ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गर्दागर्दै संसद् विघटन गरिएको रहेछ। संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ।
 

४. संसद् विघटन, मध्यावधि निर्वाचनको घोषणा

प्रचण्ड निकट नेता तथा नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले संसद् विघटनसँगै ओलीले मध्यावधि निर्वाचनको मिति तोकेर प्रस्ताव लिएको र राष्ट्रपतिले केही बेरमै जारी गर्न लागेको जानकारी दिएका थिए। उनले भनेकै केही बेरमा सबैतिर समाचार आयो प्रधानमन्त्रीले मध्यावाधि निर्वाचनबारे प्रस्ताव गरेको।

प्रचण्ड निकट नेताहरुको लाइन खुमलटारमा लागेपछि त्यहाँको महालो तातिरहेकै थियो। त्यतै दौडिएँ म पनि। बाटोमा सुरक्षा कडा। मन्त्री र नेताहरुका गाडी ओहोरदोहोर गरिएको पनि देखियो। प्रचण्ड निवासमा पनि अरु बेलाको भन्दा सुरक्षा तैनाथी बढाइएको थियो। सूचना संकलन गर्न पुगेकाहरु सडकमै उभिरहेका। भित्र पाँच भाइको मिटिङ चलिरहेको थियो। प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छलफलमा थिए। गेटमा भएका सुरक्षाकर्मीलाई पनि चासो थियो। उनीहरुले पनि बेला बेलामा पत्रकारलाई बोलाएर सोध्थे- सर के भएको हो।

उनीहरु संसद् विघटनबारे जानकार थिएनन्। एक जना गेटमा उभिएका सुरक्षाकर्मीले भने,'हामीलाई त के थाहा हुनु। जे-जे भन्यो त्यही गर्ने हो। भित्र नेताहरु त हुनुहुन्छ को-को हुनुहुन्छ थाहै हुँदैन। गाडीको नम्बर टिप्ने ढोका बन्द चालु गर्ने त हो हाम्रो काम।'

सुरुमा वैशाख २३ गते आमचुनाव हुने भनिए पनि राष्ट्रपति कार्यालयबाट प्रमाणित पत्र आयो - आम निर्वाचन २०७७ वैशाख १७ र वैशाख २७ गरी दुई चरणमा गर्ने।

५. संवैधानिक निकायका सबै पदमा नाम सिफारिस

यही बीचमा संवैधानिक परिषदल् संवैधानिक निकायमा रिक्त रहेका सबै पदमा सिफारिस गर्‍यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायतका संवैधानिक नियाकमा रिक्त रहेका पदहरुमा नाम सिफारिस गरी संसद्मा पठाइयो।

संसद विघटन भएपश्चात संसदीय सुनुवाइ समितिमा सिफारिसमा परेका व्यक्तिहको सुनुवाइ हुने छैन। ४५ दिनसम्म सुनुवाइ नभए नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

६. ओली–प्रचण्डको भेट

जसरी खुमलटारमा के हुँदैछ भन्ने चासो थियो बालुवाटारमा पनि के हुँदै होला भन्ने आम मानिसलाई चासो थियो। छलफल चलिरहेकै बेला साढे एक बजेतिर प्रचण्ड फुत्त निस्किए। पत्रकारलाई पनि पत्तो थिएन। धेरैले लख काटे कोही अरु नै नेता निस्कियो। तर बालुवाटार पुगेपछि मात्रै धेरैले चाल पाएका थिए प्रचण्ड नै निस्के। प्रचण्डलाई अरु बेलाको जस्तो स्कर्टिङ थिएन।

अघि सेतो कार र पछि एउटा प्रहरीको भ्यान थियो। त्यसैले पनि प्रचण्ड नै हुन भन्ने धेरैलाई जानकारी भएन। तर प्रचण्ड निकट स्रोतले जानकारी दिइसकेको थियो, 'प्रचण्ड बालुवाटारमा ओलीलाई भेटिरहेका छन् भनेर।

प्रचण्डको उद्देश्य थियो- ओलीलाई आग्रह गर्ने। तर ओलीले मानेनन्।

अघिसम्मको खुमलटारको माहोल एकै छिनमा सुनसान भयो। भटाभट निस्किए प्रचण्ड गुटका नेताहरु। बालुवाटरको यात्रा तय भयो। निस्किँदै गर्दा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिक्रिया दिए,'आज स्थायी कमिटी बैठक बस्छ, ओलीको कदम अस्वीकार गर्छ।'

हामी पनि बालुवाटार तिरै लाग्यौँ। बाटोमा केहीबेर अघिसम्मको सुरक्षा स्थिति अझ फेरिएको थियो। माइतीघरमा प्रहरीका भीड नियन्त्रण गर्ने सवारी तैनाथ थिए।

साढे २ बजे बालुवाटार पुग्दा निकै चहलपहल देखियो -३ नम्बर गेटमा। नेताको मात्रै होइन कर्मचारी र सुरक्षा निकायका गाडीको ओहोरदोहोरले माहोल निकै तातेको थियो। सडकमा बाक्लो रुपमा सशस्त्र प्रहरी तैनाथ थिए।

७ . सात मन्त्रीको राजीनामा

सिंहदरबार पनि आज चहलपहलको केन्द्र बनेको थियो। नेकपाभित्रको हलचलले सिंहदरबार टाढा रहने कुरा पनि भएन। बालुवाटार बाहिरको सडकमा बसेर अनेकथरि समाचार सुनिन्थ्यो। एकै छिनमा स्थायी कमिटीकै एक सदस्यले जानकारी दिए,'प्रचण्ड-नेपाल निकटका मन्त्रीले सामूहिक राजीनामा गर्दैछन्। उनीहरुको राजीनामा आएपछि मात्रै बैठक सुरु हुन्छ,' उनले भनेका थिए।

नभन्दै सात जना मन्त्रीको राजीनमा भएपछि स्थायी कमिटी सुरु भयो। कमिटी बैठक सुरुमात्रै के भएको थियो सिंहदरबार बाट हुर्रिँदै बालुवाटार पुगेका थिए मन्त्री।

८. ओलीलाई कारबाहीको प्रस्ताव

बैठकको सुरुमै नेताहरुले प्रस्ताव गरे ओलीलाई कारबाही गरौं। त्यही पारित भयो। जुन अपेक्षित थियो संसद् विघटनपछि।

बैठक सकिनासाथ सूचना संकलनका लागि पत्रकारको लछारपछार नै भयो। तर बालुवाटारले भित्र पस्ने लागेका पत्रकारलाई गेटमै रोकिदियो। 'भित्र आउनु दिनु भन्ने निर्देशन छैन,'गेटमा बसेका सुरक्षाकर्मीले सुनाए। केही समयअघि बालुवाटारभित्रै पुगेर समाचार संकलनका लागि अनुमति थियो पत्रकारका लागि। तर पछिल्ला दिनमा नेकपाको विवाद बल्झिएपछि ओलीको सचिवालयले गेटभित्र पस्न रोकेको थियो पत्रकारलाई। बरु बैठक सकिएपछि केही समयका लागिमात्रै भनेर भित्र पस्न अनुमति दिएको थियो। आइतबार भने त्यसमा पनि कडाइ गर्‍यो बालुवाटारले। अनि प्रवक्ता नारायणकाजी श्रेष्ठले गेट बाहिरै आएर दुई पान्नामा हातले लेखेका अक्षरलाई पढेर सुनाए।

प्रधानमन्त्रीमाथिको कारबाहीलाई अनुमोदन गर्न ७ गते नेकपाको केन्द्रीय कमिटीको बैठक, कृष्णबहादुर महरालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न प्रस्ताव।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्ममा लगभग लोकतन्त्रलाई उलटपुलट गर्ने कदममा प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय रुपमा सहभागी भए। आफूलाई कारबाहीको प्रस्ताव गरिएको बैठक चलिरहँदा ओली भने सुरक्षा परिषद्को बैठकमा अध्यक्षता गरिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell