संस्थापन पक्षले महत्व नदिएपछि अर्जुननरसिंह केसी शेरबहादुर देउवाको पक्षमा लाग्दा २०७२ फागुन २४ गते सभापतिमा चुनिए देउवा। त्यसयता पार्टीमा देउवाको हालीमुहाली चलिरहेकै छ। समयमा महाधिवेशन गर्न नसकेकोदेखि निर्वाचनमा नराम्ररी हारेको कलंकको टीका देउवाले लगाएका छन्।
खेर गयो देउवाको दौडाहा, चुनावी सभामा देउवा पुगेका २५ जिल्लाबाट आएन कांग्रेसलाई एउटा पनि सिट
तथापि देउवाले पार्टीमा थप सशक्तमात्र भएका छैनन् उनले आफू इतरका संगठनलाई तितरबितर बनाउन बेलाबेला विभिन्न अस्त्र प्रयोग गर्न भ्याएकै छन्। जुन महाधिवेशनको दिनसम्मै जारी रहन्न भन्न सकिन्न।
देउवाविरुद्ध उठेका आवाज दाबेको दब्यै
देश संघीयतामा गएपछि पहिलोपटक स्थानीय तहदेखि केन्द्रको निर्वाचन भयो। निर्वाचनमा कांग्रेस नराम्ररी हार्यो। कांग्रेस हारको मुख्य दोष देउवामाथि लगायो। यही दोषमाथि कांग्रेसभित्र लामै मन्थन भयो। देउवाले दोष स्वीकार गरेनन्। एमाले र माओवादी एकताका कारण निर्वाचन हारेको निष्कर्ष निकालियो।
त्यसपछि उठ्यो अर्ली महाधिवेशनको कुरा। पार्टीमा सशक्त नेतृत्व चाहिने भन्दै जिल्ला सभापतिहरुको भेलाले अर्ली महाधिवेशनको कुरा उठाएको थियो। यसलाई बाहिर सशक्त बनाउने काममा उभिए अर्जुननरसिंह। दुई वर्ष बित्दासम्म पनि महत्वपूर्ण मानिने उपसभापति, सहमहामन्त्रीहरु चयन भएको थिएन। तत्कालीन ४२ विभाग गठनको अत्तोपत्तो थिएन। त्यसैलाई आधार बनाएर पार्टी गिरोहले चलाएजस्तै भएकोले अर्ली अधिवेशनको आवश्यकता रहेको केसीको दाबी थियो।
कांग्रेसमा 'अर्ली महाधिवेशन'को माग : केसीले भने-पार्टी गिरोहले चलाए जस्तो भो
विधानमै नभएको 'अर्ली महाधिवेशन' माग्दै ५१ पन्ने सुझाव पेश गरे गगन थापाले
उनको आवाजलाई क्यारी गरे गगन थापा र रामचन्द्र पौडेलले पनि। तर, अर्ली महाधिवेशनको के कुरा टाइम्ली पनि भएन। त्यसपछि विभाग गठनको विरोध गर्दै देउवाविरुद्ध उनी इतरका जिल्ला सभापति उचालिए। झन्डै ४० भन्दा बढी देउवाइतरका जिल्ला सभापतिलाई पौडेलले सानेपामा स्वागत गरेका थिए। पछि देउवाले बुढानिलकण्ठमा ब्रेकफास्ट खुवाएर सभापतिहरुको मुख टालेर पठाइदिए।
'निर्वाचित सभापतिको विरुद्धमा हारेका मान्छेले बोलाउँदा आउने? यसरी छलफल हुँदै गर्दा मलाई किन नबोलाउनु भएको? मेरो चित्त दुखेको छ। तपाईँका विरुद्ध पनि जिल्लाका सचिव लागे भोलि के हालत हुन्छ?'
रामचन्द्र पौडेलले बोलाएको भेलाप्रति इंगित गर्दै देउवाले त्यतिबेला भनेका थिए। त्यसयता सभापतिहरु देउवाविरुद्ध देखिएका छैनन्।
ब्रेकफास्ट भेलामा देउवाले भने : पार्टी सबैको हो, मिलेर जानुको विकल्प छैन
रामचन्द्रको उक्साहटमा मच्चिएका कांग्रेस जिल्ला सभापतिहरु देउवाकहाँ पुगेपछि के थच्चिएका हुन्?
हेटौँडमा भएको सभापतिहरुको भेलामै देउवाको हस्तक्षेपकारी भूमिकाले पौडेल पक्षका सभापति पौडेलसँग मुर्मरिएका थिए। उक्त भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल नरम बनेपछि कृष्णप्रसाद सिटौलालाई मञ्च नै प्रदान गरिएन। त्यसयता सिटौला पक्ष नेता पौडेलपक्षसँग तर्किन थालेको छ।
हेटौँडा भेलाबाट देउवालाई राहत, पौडेलसँग बिच्किए सिटौला र प्रकाशमान, किन कमजोर पौडेल पक्ष?
ओत खोज्दै बुढानिलकण्ठ घुस्रने बढ्दा देउवालाई फाइदै फाइदा
१३ औं महाधिवेशनमा देउवाइतर पक्ष पनि बलियो देखिएको थियो। पौडेल धारको लाइन देउवाको हाराहारीमा थियो। तर जब देउवाले नेतृत्वको बागडोर सम्हाले। पौडेल पक्षका नेताहरु चोरिँदै गए। देउवाइतरकै सशक्त युवा नेता मानिने विश्वप्रकाश शर्मा पार्टीको लज्जाजनक हार पछि जागरण कार्यक्रम लिएर पूर्वपश्चिम दौडमा निस्कँदै थिए। उनलाई प्रवक्ताको पद थमाइयो। त्यसयता देउवा समूहमा शर्माको राम्रो पकड हुँदै आएको छ। यसो त शर्माले आफ्नो अभियानलाई पार्टीबाटै पारित गराएर देशभर जागरण अभियान त चलायो तर यसले पौडेल पक्षलाई ठूलो क्षति गरायो।
देउवालाई महाधिवेशनमा सहयोग गरेका कृष्ण सिटौला गुटलाई तेस्रो शक्तिका रुपमा हेरिन्छ। तर कृष्ण आफैँ सहयोगी नपाएर पछिल्लो समय रन्थनिन थालेका छन्। २९ पुस, २०७६ को एक भेलामा सिटौलाले भनेका थिए, , 'साथीहरुले कृष्ण बन्न भन्नुभयो। तर म अहिले कृष्ण बन्न सक्दिनँ।'
महाभारतमा कृष्णलाई अर्जुनले सहयोग गरेको उल्लेख गर्दै उनले अहिले आफूलाई अर्जुनले साथ छाडेको बताए। 'कृष्ण बन्नलाई अहिले अर्जुन छैन। यति भनेपछि कतिले बुझ्नुभयो अहिले मलाइ कसैको साथ छैन,' सिटौलाले यसरी पोखे दुखेसो।
कृष्ण सिटौलाको दुखेसो : पार्टीमा मलाई कसैले साथ दिएनन्
सिटौला पक्षबाट कोषाध्यक्षमा लडेका उमाकान्त चौधरी देउवासँग नजिकिएपछि उनले यस्तो बताएका थिए। अहिले सिटौलाको सारथी बनेका गगन थापा महामन्त्रीमा लड्ने भनिए पनि सिटौलाको गुटमा खुलेका छैनन्। यसले पनि सिटौला एक्लिँदै गएको देखाउँछ। बेलाबेला सिटौलाले आफ्नो समूह यथावत रहेको देखाउन राजधानीका पार्टी प्यालेसहरुमा भेला बैठक आयोजना गरिरहन्छन्। तर, उनको भेलामा गगन थापा र प्रदीप पौडेल कमै देखिन्छन्।
देउवाले पद बाँड्दा पौडेल पक्षका नेताहरु बेरोजगार
आफ्नो कार्यकाल सकिन लाग्दा देउवाले आफू पक्षका नेताहरुलाई मनलाग्दी पद बाँडे। मनलाग्दी विभाग गठन गरे। ती विभागहरुमा आफ्ना पक्षका अधिकांश नेताहरुलाई प्रशस्त पद बाँडे। ती विभागका नाममा विभाग प्रमुखहरुले काम गर्ने मौका पनि पाए। तर देउवाइतरले पदावधि सकिने बेला विभाग गठन गरेको भन्दै चर्को विरोध गरे र आफ्नो पक्षमा भागबण्डामा परेको विभागमा नेताहरुको नाम पठाएन। जसले गर्दा पौडेल पक्षका कसैले नेतृत्व सम्हाल्न पाएनन्।
देउवाले पार्टी उपसभापतिमा विमलेन्द्र निधि र विजयकुमार गच्छदारलाई मनोनयन गरे भने महामन्त्रीमा आफू पक्षकै पूर्णबहादुर खड्कालाई। सहमहामन्त्री पौडेल पक्षका लागि अफर गरिएको थियो। सानो पद भनेर पौडेल पक्षले त्यसलाई अस्वीकार गरे र उक्त पदमा डा प्रकाशशरण महत चयन भए। मुखमा आएको पद पनि आफ्नो पक्षकालाई दिन नसक्दा पौडेल पक्षका धेरै नेताहरु रुष्ट भएको बताइन्छ। २१ वैशाख २०७५ मा पदाधिकारी मनोनयन गरेका देउवाले गच्छदारलाई भने कात्तिक २० मा मात्र मनोनयन गरेका थिए। गोविन्दराज जोशीलाई कारबाही गरेर देउवाले पौडेलमाथि अर्को झड्का दिएको बताइन्छ। पौडेललाई गृह जिल्लामा निर्वाचनमा पराजित गराउन मुख्य भूमिका खेलेको अभियोग जोशीलाई लगाएको थियो। महाधिवेशन मिति घोषणा हुनसाथ जोशीलाई कारबाही गरियो। जोशीलाई कारबाही गर्दा पौडेल खुसी देखिए पनि यसको असर महाधिवेशनमा पौडेलमाथि नै हुने देउवाको आकलन रह्यो।
जोशीलाई कारबाहीपछि कांग्रेसमा किचलो, महाधिवेशनको माहोल बिग्रने डरले तैँ चुप मै चुप
महामन्त्री कोइराला नै देउवाको समर्थनमा
देउवालाई अर्को हाइसञ्चो भनेको आफूइतरबाट निर्वाचित महामन्त्री आफ्नै पक्षमा उभिँदा हो। पौडेल खेमाबाट महामन्त्रीको उम्मेद्वारी दिएर महामन्त्री बनेका डा शशांक कोइरालाको पदीय भूमिकामाथि उनी पक्षकै नेताहरुले प्रश्न उठाइरहे।
हुन पनि कोइरालाले देउवाको कदममा खासै प्रश्न उठाएनन्। देउवाको मनलाग्दी कार्यमा सशक्त प्रतिकार हुनसक्थ्यो। चुनावी हारको समीक्षामा शशांकले देउवाको बचाउ गरेका थिए। टिकट वितरणमा नेतृत्व तह नै हुने भएको उल्लेख गर्दै उनले देउवाको बचाउ गरेका थिए। यद्यपि उनले पार्टीमा देखिएको गुट उपगुटबाट जोगाउन देउवालाई साथ दिएको स्पष्टीकरण दिन्छन्।
देउवाकालमा के के भए?
देउवाले आफ्नो कार्यकालमा केही चर्चामा छाउने काम पनि गरे। २०७६ जेठ ६ गते छाया सरकार गठन गरेर देउवा चर्चामा आएका थिए। सभापति देउवाको नेतृत्वमा ५८ जना सांसदलाई विभिन्न मन्त्रालयको जिम्मेवारी प्रदान चर्चामा छाए। त्यो चर्चा धेरै दिन टिक्न पाएन।
यो कार्यकालमा कांग्रेसको संघीय विधान जारी भयो। यसैको जगमा १४औँ महाधिवेशन हुँदैछ। यद्यपि भ्रातृ संस्थालाई भने देउवाले लथालिंगा नै बनाइछाडे। अहिले नेविसंघमा एक अध्यक्ष र आधा दर्जन महामन्त्रीबाहेक अन्य पदमा कसैलाई राखिएको छैन। तरुण दलको अवस्था त्यस्तै छ। कार्यकाल सकिन लाग्दा मनलाग्दी विभाग थपेर आफ्ना गुटका नेताहरुलाई पद बाँडे।
महासमितिबाट पारित कांग्रेसको संघीय विधान लागू कहिलेबाट?
भित्र्याए गच्छदार र सुनिलबहादुरलाई
देउवाको नेतृत्वमा कांग्रेस छाडी लोकतान्त्रिक फोरम बनाएका विजयकुमार गच्छदार फर्किए। उनी सिंगै पार्टी लिएर २०७४ असोज ३० गते कांग्रेस भित्रिएका हुन्। त्यसको पुरस्कारस्वरुप गच्छदारले उपसभापति पाए भने संसदीय दलमा उपनेता। यसैगरी देउवाको नेतृत्वमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा खेमाको राप्रपा कांग्रेसमा मिसियो। केही केन्द्रीय सदस्यसहित थापा २०७७ साउन १३ गते कांग्रेस पसेका हुन्। थापालाई सहमहामन्त्रीमा मनोनयन गरिएको छ। यसपटक यसरी भित्रिएका नेताहरुबाट पनि देउवाले प्रशस्त लाभ लिने देखिन्छ।
देउवाइतर समूहमा नेतृत्वको आकंक्षी नै बढी
अहिले सभापतिको दाबेदारहरु कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चित समाचार हेडलाइन हो। त्यसमा पनि आधिकारिक घोषणा गर्ने समय त आइसकेको छैन। तर स्वघोषणा गर्नेहरुको नाम हो, वर्तमान सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङ, गोपालमान श्रेष्ठ।
कृष्ण सिटौलाले यसपटक प्रतिस्पर्धा गर्ने आकंक्षा देखाएका छैनन्। यसो त उनको नाम सबैले जोड्ने गरेका छन्। पौडेल, शशांक, शेखर र प्रकाशमानको सशक्त दाबी देखिएको छ। चारै उम्मेद्वारले आफूले देउवालाई हराउने तर्क प्रस्तुत गरिरहेका छन्।
आफ्नो समूहमा सभापतिको यति धेरै आकंक्षी देखेर पौडेलसमेत आत्तिएका छन्।
जसलाई पदको भागबण्डा मिलाउन नै पौडेललाई मुस्किल हुने देखिन्छ।
पौडेल पक्षका कतिपय सभापतिका उम्मेद्वाहरुको दाबीसहितका समाचारमा कार्यकर्ताको तिखो टिप्पणी हुन्छ : सम्झने पानी छम्कने?
ढुक्क देउवा!
बानेश्वरमा पाँच दलले असार १२ गते आयोजना गरेको पत्रकारसँगको छलफलमा देउवाले वरिष्ठ नेता पौडेललाई व्यंग्य गर्न भ्याए। 'पार्टीको महाधिवेशन आएको छ। मैले उठ्ने विचार गरेको छु। देशभरका साथीहरुले सहयोग गरे पार्टी सभापति बनुँला। रामचन्द्रजीले गर्नुभयो कि भएन थाहा भएन मैले त गरिसक्या छु,'पौडेलतिर हेर्दै देउवाले भनेका थिए।
देउवा यो भनाईबाट पनि सभापतिमा पुन दोहोरिनेमा ढुक्क देखिन्छन्। उनले आफूलाई जिताउन भन्दै सातै प्रदेशका आफ्ना 'लाइटम्यान'सँग छलफल गरिसकेका छन्। कांग्रेसमा बलिया मानिने र आफ्नो सबैभन्दा नजिकका मानिएका उपसभापति निधि भने देउवाको विपक्षमा उभिएका छन्। देउवा समूहमा निधिले सशक्त दाबी गरेका छन्। उनीबाहेक देउवामाथि धावा बोल्ने उनको समूहबाट कोही छैनन्।
निधिले उम्मेद्वारीबाट पछि नहट्दे देउवा लाइनका नेताहरुसँग बताइसकेका छन्। यसले भने देउवालाई अप्ठेरो पर्ने देखिन्छ। यद्यपि देउवा भने भएको निधिलाई कुनै महत्व नदिएर आफूइतरकै नेताहरुलाई लाइन मार्ने दिनको पर्खाइमा देखिन्छन्। जसरी १३ औँ महाधिवेशनमा अर्जुननरसिंहलाई आफूतिर बनाएका थिए। उनै अर्जुननरसिंह अहिले देउवाइतरका नेताहरुलाई भेला गराएर संयुक्त रणनीति बनाउने छलफलमा जुटेका छन्। शुक्रवार अनुमप फुडल्यान्डमा त्यो दृश्य देखियो। देउवालाई नेतृत्वमा निरन्तरता दिनुहुन्न भन्ने आवाज बलियो भए पनि उनीइतरमा गुट नै बढी छ।
यसको फाइदा देउवालाई उठाउन नदिने हो भने पक्कै पनि पौडेलले आफूसँग बिच्किएका नेताहरुलाई मनाउन कसरत गर्नैपर्छ।
देउवाको विकल्प दिने हो भने उनीइतरको आकंक्षी एक हुनुको विकल्प छैन। यसका लागि पौडेल कसरी अघि बढ्ने हुन् र अरु आकंक्षी कसरी बढ्ने हुन्, लक्ष्य रणनीतिमै भर पर्ने देखिन्छ।
यस्तो थियो १३औँ महाधिवेशन
१३औँ महाधिवेशमा पहिलो चरणको मतदानमा निर्वाचित हुन देउवालाई ११ भोट पुगेन।
२३ फागुन, २०७४ मा भएको मतदानमा कूल खसेको ३ हजार १०८ मतमध्ये कांग्रेसको विधान अनुसार देउवालाई १५ सय ७५ मत आवश्यक थियो। तर उनले १५ सय ६४ मत मात्रै ल्याउन सके।
पौडेलले ११ सय ५२ मत ल्याउँदा सिटौलाको मत ३२४ रह्यो। कूल १०७ मत बदर भयो।
दोस्रो चरणको निर्वाचनमा देउवाले १८ सय २२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी रामचन्द्र पौडेलले १२ सय ९६ मत ल्याए। सिटौलाको साथबाट निर्वाचित भएका थिए देउवा।