PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस पाँचथरमा स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि



कांग्रेस पाँचथरमा स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि

पाँचथर : पाँचथरका आठमध्ये नेपाली कांग्रेसले तीन स्थानीय तहमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ। बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनोट भएको छ। नेतृत्वमा अधिकांश युवा र जनप्रतिनिधिले स्थान पाएका छन्।    
    
जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा कांग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको हो। चौध वडा रहेको फिदिम नगरपालिकाको कांग्रेस सभापति पदमा फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङ र फिदिमका नगरप्रमुख ओनाहाङ नेम्वाङका सल्लाहकार केशव नेम्वाङको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो। दुई ६१ जना क्षेत्रीय प्रतिनिधि रहेकामा २६० जनाले मतदानमा भाग लिएका थिए। नगर कार्यसमितिको सभापतिमा वडाध्यक्ष गुरुङ १४९ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिद्वन्द्वी नेम्वाङले १०८ मत प्राप्त गरे।    
    
फिदिम नगर कार्यसमितिको उपसभापतिमा बालकृष्ण लावती र सुकपाल तुम्बापो विजयी भए। उनीहरुले समान १३७ मत प्राप्त गरे। उपसभापतिका अर्का उम्मेदवार श्रीप्रसाद घिमिरेले १३२ मत प्राप्त गरे। यस्तै नगर कार्यसमितिको सचिवमा नरेन्द्र गुरुङ र अविनाश भट्टराई विजयी भए। उनीहरूले क्रमशः १५८ र १३६ मत प्राप्त गरे। यस्तै सहसचिवमा नवीनकुमार तुम्बापो र कुशल राई विजयी भए। नगर कार्यसमितिका सात निर्वाचित पदाधिकारीमध्ये सभापति, दुईजना उपसभापति र सचिव नरेन्द्र गुरुङ गरी चारजना वडाध्यक्षहरू हुन्। उपसभापतिमा पराजित घिमिरेसमेत वडाध्यक्ष हुन्।    
    
यस्तै कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिको सभापति सुकवीर नेम्वाङ विजयी भए। आइतबार राति सम्पन्न मतगणनाअनुसार नेम्वाङले ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमपी चेम्जोङले ४४ मत प्राप्त गरे। सात वटा वडा रहेको फाल्गुनन्दमा कांग्रेसका १३२ जना क्षेत्रीय प्रतिनिधि रहेकामा १२२ जना मतदान प्रक्रियामा सहभागी थिए। गाउँ कार्यसमितिका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ।    
    
यस्तै याङवरक गाउँपालिकामा समेत चुनावमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। यहाँ गाउँ कार्यसमितिको सभापतिमा ५४ मत प्राप्त गर्दै शेरबहादुर नुगो सभापति निर्वाचित भए। उनका प्रतिद्वन्द्वी सबिन माबोले ५१ मत प्राप्त गरे। यस्तै सचिवमा समान ५७ मत प्राप्त गर्दै रामचन्द्र ढुङ्गेल र कृष्णप्रसाद प्याकुरेल निर्वाचित भए। उनीहरूका प्रतिद्वन्द्वी सुभाषचन्द्र काम्बाङ र खगेन्द्र सिग्देलले क्रमशः ४० र ३८ मत प्राप्त गरे।    
    
यस्तै सहसचिवमा समेत मतदानमार्फत नै तिलबहादुर राई र कृष्ण कोइराला विजयी भए। उपसभापतिमा भने प्रेमराज काफ्ले र देउकुमार योङहाङ सर्वसम्मत निर्वाचित भए। उक्त कार्यसमितिका अधिकांश पदाधिकारी युवा छन् भने उपसभापति योङहाङ याङवरक–२ का वडाध्यक्ष हुन्।    
    
बाँकी पाँचवटा गाउँपालिकामा सहमतिमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। जसअनुसार फालेलुङ गाउँपालिकाको सभापति वीरविक्रम थाम्सुहाङ, हिलिहाङ गाउँपालिकाको सभापतिमा सन्तोष लिङदेन, कुम्मायक गाउँपालिकाको सभापतिमा दुर्गाप्रसाद बम्जन, तुम्बेवा गाउँपालिकाको सभापतिमा बाबुराम खड्का र मिक्लाजुङ गाउँपालिकाको सभापतिमा सन्तकुमार शेर्मा (सन्तोष) को नेतृत्वमा सहमतिमा नयाँ कार्यसमिति गठन भएको कांग्रेस पाँचथरमा जनाएको छ। यी कार्यसमितिका अधिकांश पदाधिकारीहरू युवा छन्।    
    
कांग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ। उनीहरूमध्ये कतिपय जनप्रतिनिधिसमेत छन्। आठमध्ये चार स्थानीय तहका सभापति वडाध्यक्ष छन्। फिदिम नगरका सभापति गुरुङसहित फालेलुङका सभापति थाम्सुहाङ, फाल्गुनन्दका सभापति नेम्वाङ र मिक्लाजुङका सभापति शेर्मा वडाध्यक्ष हुन्। कांग्रेसको जिल्ला कार्यसमिति सभापतिमा कांग्रेसका पुराना नेता पूर्वसचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूबीच प्रतिस्पर्धा हुनेछ। दुवै समूहले जिल्ला कार्यसमितिका पदाधिकारीमा प्यानल नै खडा गरी प्रतिस्पर्धा गर्न लागेका छन्। रासस

सम्बन्धित समाचार

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?

कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन

डोटी कांग्रेसको गाँउ/नगर अधिवेशन सम्पन्न, नेतृत्वमा को - को?

नुवाकोट कांग्रेसको गाउँ/नगर अधिवेशन सम्पन्न : कुन तहको नेतृत्वमा को?

झापा कांग्रेसको १५ पालिकामा नेतृत्व चयन, कमलमा बराबर मत खसेपछि आधाआधा कार्यकाल

कांग्रेस गाउँ/नगर अधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन

भक्तपुर कांग्रेसको चारवटै नगरमा देउवा क्याम्पको वर्चश्व

ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन

बैतडीमा कांग्रेस गाउँ/नगर अधिवेशन : दशवटै पालिकामा नयाँ नेतृत्व
कांग्रेस पाँचथरमा स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि
बाग्लुङमा कांग्रेस पालिका अधिवेशन : नेतृत्वमा महिला शून्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell