काठमाडौं : नेपाली कांग्रेसको प्रदेश अधिवेशन प्रदेश २ बाहेक अरुमा सकिएको छ। अन्य पदाधिकारी तथा सदस्यहरुको मत परिणाम आउने क्रम जारी रहेपनि प्रदेश सभापतिको परिणाम भने आइसकेको छ।
प्रदेश नम्बर १ को आन्तरिक निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उद्धव थापा र उनको समूहले बहुमतका सिटमा विजय हाँसिल गरेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला समूहका सभापतिका आकांक्षी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा जितेका हुन्। विजयी पदाधिकारीमध्ये १ महामन्त्री उमेश थापामात्र संस्थापनइतरका छन्। जितेका बहुमत सदस्य थापा पक्षकै छन्।
प्रदेश २ मा अधिवेशन कहिले हुने? अझै निश्चित भएको छैन।
वाग्मती प्रदेशको कांग्रेस सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
देउवा पक्षका बानियाँ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै वाग्मती कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्।
बानियाँले १०८५ मत पाएका छन्। केसीले ९२७ मत पाएका छन्।
दोस्रो चरणको मतदानमा उनलाई कृष्णप्रसाद सिटौला पक्षका भीमसेनदास प्रधान समूहले साथ दिएको थियो।
गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अग्रता कायम गर्दै गण्डकी कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्।
उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्व आफ्नो हातमा पारेका हुन्। शर्माको ६ सय १२ मत आउँदा उनका उनका प्रतिद्वन्दी अर्जुन जोशीले ५ सय २८ मत ल्याएका छन्। विजयी भएका जोशी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने अर्जुन जोशी शेरबहादुर देउवा पक्षका हुन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए।
पुनले ८५२ मत पाएका छन्। शाहले ७६७ मत पाएका छन्। पुनले मत गणनाको सुरूवाती चरणबाटै अग्रता लिएका थिए। प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतवार बिहानबाट मात्रै मतगणना सुरु भएको थियो । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा देउवा पक्षका ललितजंग शाही निर्वाचित भएका छन्। सभापति लागि भएको त्रिपक्षीय भीडन्तमा उनले पहिलो मतदानमै सहजै जित निकालेका हुन्। जुम्लाका शाही २०७० सालमा संविधान सभा सदस्य थिए।
ललितजंगले ४२२ मत पाउँदै ५१ प्रतिशत मत कटाएर कर्णाली कांग्रेसको नेतृत्व पक्का गरेको निर्वाचन समितिले जनाएको छ।
संस्थापन पक्षकै भनेर चिनिएका निधि निकटका मोतीराज बममा ७ मतमात्र पाए। संस्थापनइतर भुपेन्द्रजंग शाहीले ३१७ मत प्राप्त गरे। पदाधिकारीमा पनि संस्थापन पक्षकै जित भएको छ।
सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। सुदूरपश्चिममा देउवा पक्षकै बलायरको प्यानलले नै जित निकालेको छ।
शनिवार भएको मतदानमा कुल १ हजार ३ मत खसेको थियो। जसमा बलायरले ६८८ मत ल्याउँदै विजयी भएका हुन्। सभापतिका प्रत्यासी नारायण दत्त मिश्रले २८० मत प्राप्त गरे।
