PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना संक्रमणबाट १० जनाको मृत्यु, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि



सहयोग रञ्जित

कोरोना संक्रमणबाट १० जनाको मृत्यु, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि

काठमाडौं : कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले ७३ दिन अघि लकडाउन घोषणा गरेको थियो। लकडाउन शुरु हुँदा नेपालमा भाइरसबाट दुई जना मात्रै संक्रमित थिए। एक जना डिस्चार्ज भइसकेका थिए भने काठमाडौंमा कोभिड-१९ को एक मात्रै पोजिटिभ केस थियो। हाल संक्रमितको संख्या २६ सय नाघिसकेको छ।

संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। एक हप्तामा नै एक हजारभन्दा बढीमा संक्रमित देखिएको छ। सँगै मृतकको संख्यापनि बढ्दै गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश ५ को पाल्पामा ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ। उनको २० गते पाल्पाको मिसन अस्पतालमको आइसोलेसन कक्षमा मृत्यु भएको थियो। बिहीवार उनमा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ।

सात वटा प्रदेशमध्ये प्रदेश ५ मा कोरोना संक्रमणका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। यहाँ संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ। यस्तै, वाग्मती प्रदेशमा ३ जना संक्रमितको मृत्यु हुँदा प्रदेश २, सुदूरपश्चिम र कर्णाली प्रदेशमा एक/एक जनाको मृत्यु भएको हो।

हाल नेपालमा संक्रमणका कारण मृत्यु हुने अधिकांशमा कोभिड-१९ भएको पुष्टि उनीहरुको मृत्युपछि मात्रै भएको छ।

नेपालमा जेठ १ गते कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो। तर, उनको मृत्युबारे र कोरोना संक्रमण रहेको पुष्टि मृत्युको तीन दिनपछिमात्रै भएको थियो

वाग्मती प्रदेशको सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-९ की एक महिलाको श्वासप्रश्वास समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। अस्पतालले महिलाको स्वाव परीक्षण गर्दा उनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो।

जेठ ४ गते प्रदेश ५ को बाँकेमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भयो। नरैनापुर गाउँपालिकाको एक क्वारेन्टाइनमा रहेका व्यक्तिको क्वारेन्टाइनमा नै मृत्यु भएको थियो। मृत्युपछि मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भयो

जेठ ८ गते प्रदेश ५ कै रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। स्वास्थ्य अवस्था असामान्य भएपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार गरिएको थियो। सोही क्रममा उनमा कोभिड-१९ पुष्टि भएको थियो। उनमा मृत्युअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो

कोरोनाका कारण चौथो मृत्यु प्रदेश २ मा भयो। बाराको कलैया उपमहानगरपालिका-७ का ७० वर्षे वृद्धको मृत्यु जेठ ४ गते भएपनि जेठ १२ गते मात्रै उनमा संक्रमण पुष्टि भएको थियो। जेठ ४ गते मृत्यु भएता पनि उनमा कोरोना संक्रमण रहेको पुष्टि जेठ १२ गते मात्रै भएको थियो। त्यो बेलासम्म उनको दाहसंस्कार समेत भइसकेको थियो

जेठ १४ गते वाग्मती प्रदेशमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भयो। ललितपुरमा कोभिड-१९ को संक्रमणबाट किस्ट अस्पतालमा उपचाररत ५७ वर्षे पुरुषको मृत्यु भएको थियो। उनलाई जेठ ११ गते ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएको थियो। जेठ १२ गते स्वाब परीक्षणका लागि पठाइएको थियो। मृत्यु भएपछि मात्रै उनको रिपोर्ट आएको र त्यसमा कोरोना पोजिटिभ देखिएको थियो

जेठ १६ गते प्रदेश ५ कै अर्घाखाँचीमा कोरोना संक्रमणबाट छैटौं व्यक्तिको मृत्यु भयो। भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमापारी मृत्यु भएको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। मृत्यु भएसँगै उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो

जेठ १७ गते कर्णाली प्रदेशको दैलेखमा संक्रमणका कारण सातौं व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो। दुल्लु नगरपालिकास्थित क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनमा कोरोना संक्रमण देखिएको पुष्टि मृत्यपछि भएको हो

जेठ १८ गते बाजुरामा २ वर्षीय बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो

जेठ २१ गते बुधवार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो। काठमाडौं मेडिकल कलेजमा शल्यक्रियापछि उनलाई टिचिङ लगिएको थियो। १५ गते उनको स्वाब परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई टिचिङ लगिएको थियो। आइसीयूमा रहेका उनको बुधवार मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको थियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell