PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यौन अपराधलाई 'आइसब्रेक' गर्ने सुन्दरी प्रतियोगिता प्रकरण जसले जुटाउँदैछ अरुमा पनि बोल्ने साहस, खुलासा हुँदै अन्य 'केस'



सविन ढकाल

यौन अपराधलाई 'आइसब्रेक' गर्ने सुन्दरी प्रतियोगिता प्रकरण जसले जुटाउँदैछ अरुमा पनि बोल्ने साहस, खुलासा हुँदै अन्य 'केस'

काठमाडौं : उनलाई आफूमाथि भएको यौन शोषणको पर्दाफास गर्न पूरै आठ वर्ष कुर्नुपर्‍यो। जब उनले साहस जुटाएर आफ्नो विषयलाई भिडियोबाट प्रकट गरिन्, सडकदेखि सदनसम्म उनको पक्षमा आवाज बुलन्द हुन थाल्यो। १६ वर्षकै उमेर बेहोस बनाएर बलात्कार पछि पनि डरत्रास र विभिन्नखाले प्रलोभन उनी यौन हिंसाको सिकार भइरहिन्। त्यसैले उनलाई 'डिप्रेसन'मा धकेल्यो, आत्महत्याको प्रयाससम्म पुर्‍यायो।

त्यो अबोध मस्तिष्कले के गर्ने? सोच्न सकेन। बल्लतल्ल हिम्मत जुटाएर कसैलाई सुनाइन्। उनको प्रतिक्रिया वा उदासीनताले फेरि कसैलाई सुनाउने हिम्मत रहेन। समय बित्यो तर मनको घाउ निको भएन। निको हुने प्रकृतिको पनि थिएन त्यो। त्यसैले २४ वर्षको उमेरमा उनले पीडा बाहिर ल्याउने हिम्मत जुटाइन्।

साथीभाइ, समाजमा कहलिएका व्यक्ति, कानुनीबाटो भन्दा पनि पहिले सामाजिक सञ्जालबाट उनले आफ्ना लागि न्यायको स्वर बुलन्द बनाइन्। सौन्दर्य प्रतियोगिता संचालन गर्ने मनोज पाण्डेबाट बलात्कृत भएको घटना उजागर गरिन्। उनले बाहिर ल्याएको घटनाले छोटो अवधिमै उनीप्रति सहानुभूतिका स्वर र दोषीविरुद्धको अभिमत ह्वात्तै बढ्यो। सांसददेखि सडकसम्म उनको न्यायका लागि आवाज उठ्यो।

त्यही बलमा हो, आठ वर्ष पुरानो केसमा आरोपी भनिएका मनोज पाण्डे शनिवार समातिए। अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। आरोपीका विरुद्ध प्रहरीले प्रमाण जुटाउन थालिसकेको छ। सँगै उजुरीको समय सीमामा रहेको कानुनी छिद्र छरपस्ट भयो र त्यसलाई सुधार्न पनि आवाज उठ्यो।

आठ वर्ष अगाडि भएको घटना जसरी बाहिर आयो र जसरी कारबाहीको प्रक्रिया अगाडि बढेको छ यसले अन्य यस्तै विभिन्न कारणले दबिएका घटनाहरु बाहिर ल्याउने हिम्मत बढाएको छ। यस घटना बाहिर आएर न्यायको प्रकृयामा जानुले गुम्सिएर बसेका धेरै पीडितका लागि कानुनी बाटो खुल्ने समाजशास्त्री डा. मीना उप्रेती बताउँछिन्।

'यो घटनाले धेरैलाई आँट दिएको छ। यसरी नै सबैले यस्ता घटनामा साथ दिने हो हो अरु धेरै यस्ता घटना बाहिर आउनेछन्,' उनले भनिन्, 'पीडितले न्याय र पीडकले सजाय पाउने हो भने भोलिका दिनमा यस्ता हर्कत गर्न मानिस डराउनेछ।'

किशोरावस्थामै सुन्दरी प्रतियोगितामा लागेर शोषित भएकी युवतीको यही हिम्मतका कारण हुनुपर्छ, आइतवार सामाजिक सञ्जालमा फेरि अर्को 'डरलाग्दो' घटना बाहिरिएको छ। सोसल मिडियाबाटै एक युवतीले सात वर्ष अघि विद्यालयका प्रिन्सिपलले गरेको अपराधको खुलासा गरेकी छिन्। प्रिन्सिपलबाटै बलात्कार, त्यसको फोटो र भिडियो देखाएर 'ब्ल्याकमेलिङ' भएको उनको दावी छ। र, यसरी अभिव्यक्ति दिने युवतीले प्रिन्सिपलको फोटो सहित घटनाको सविस्तार व्याख्या गरेकी छिन्।

उनको पोस्टलाई आधार मान्ने हो भने घटना २०७२/७३ मा भएको हो। होस्टेलमा बसेर कक्षा नौ मा पढ्दा उनी प्रिन्सिपलबाटै बलात्कृत भएको दावी गरिएको छ। यतिसम्म कि विरामी पर्दा स्कुलका प्रिन्सिपलले होटेलमा पुर्‍याएर बलात्कार गरेको उनको दावीले सोसल मिडियालाई तरङ्गित बनाएको छ फेरि। उनले पनि आफूमाथि भएको घटना कसैले नपत्याएको पीडा पोखेकी छिन्।

उनले पनि दुई पटकसम्म आत्महत्याको प्रयास गरेको बताएकी छिन्। सौन्दर्य प्रतियोगिताको नाममा पीडित बनेकी युवतीले आफूमाथि भएको हिंसा खुलासा गरेपछि आएको अर्को अभिव्यक्ति स्वतन्त्र रुपमा पुष्टि भने भइसकेको छैन।

'हाम्रो समाज महिला र किशोरी यौनका विषयमा फ्रेन्डली छैनन्। त्यसैले पनि घटना भएको समयमा तत्कालै उनीहरु खुल्ने अवस्था नहुन पनि सक्छ। ज्यान मार्ने केसमा २०/३० वर्षपछि पनि कानुनी बाटो खुल्न हुन्छ। तर यो मृत्युभन्दा पनि डरलाग्दो विषय हो। यहाँ त पीडित प्रत्येक पल मर्दै बाँच्दै गरेको हुन्छ,' समाजशास्त्री उप्रेतीले भनिन्।

आठ वर्ष अगाडि सौन्दर्यको नाममा भएको अपराधको घटना अहिले प्रहरी कहाँ पुगेको छ। यसले उजागर गरेको कानुनी कमजोरी अर्थात् 'हदम्याद' को प्रावधानलाई कसरी व्याख्या गर्छ? प्रतीक्षाको विषय बनेको छ। त्यसले पनि निर्धारण गर्नेछ आगामी दिन यसरी गुम्सिएर लुकेका अपराधका घटना यसैगरी बाहिर आउन सक्ने या नसक्ने भन्ने।

मुलुकी अपराध संहिता २०७४ मा बालबालिका सम्बन्धी ऐनले हद म्याद तोकिदिएको छ। नाबालिगका हकमा बालिग भएको एक वर्ष हद म्याद तोकिएको छ। कानुनमा हदम्यादको विषय भए पनि यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने धेरैले बताउँदै आएका छन्।

हद म्यादमाथि यसअघि भएका फैसलाका नजिर पनि स्मरण योग्य छन्। तिनैमध्येको एक हो - २०७३ वैशाख १५ गते सर्वोच्च अदालतले जवर्जस्ती करणीको एक घटनामा पुरानो नजिरलाई आधार बनाएर सुनाएको फैसला। सुन्दरी प्रतियोगितासँग जोडिएको केसमामा पनि सर्वोच्च अदालतका न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ र न्यायाधीश चोलेन्द्र शमशेर जबराको संयुक्त इजलासले हद म्यादको नजिर देखाएर गरेको फैसलामा टेक्नुपर्ने सुझाव कानुन व्यवसायीको छ।

अहिले प्रहरीले घटनाको प्रमाण जुटाइरहेको छ। यदि प्रहरी र अदालतबाट मात्र होइन ८ वर्षपछि साहस गरेर घटना बाहिर ल्याएकी उनलाई समाज र अन्य तप्काले पनि सहयोग नगरे उनी जस्ता धेरै पीडितहरुको आवाज दमित भएरै रोकिनेछन्।

'यी किशोरीलाई भोलि अनुसन्धानपछि न्याय दिन नसके यसको जिम्मेवारी सरकार, समाज र न्यायालयमा रहेकाहरुले लिनुपर्छ,' समाजशास्त्री उप्रेती भन्छिन्, 'किनकि यस्ता घटना बाहिर ल्याउने आँट बोकेर बसेका धेरै पीडितको साहसको अन्त्य हुनेछ।'

सम्बन्धित समाचार

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

'हद म्याद'बारे नेपालमा न्याय : आँखा बन्द, हात बाँधिएको ​

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

न्याय माग्दै स्वतस्फूर्त बालुवाटार घेर्न पुगे युवा : यौन हिंसाविरुद्ध प्रदर्शन

आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?

आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?

​ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell