PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?



सविन ढकाल

आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?
पाण्डेलाई पक्राउका लागि दवाव दिन आयोजित प्रदर्शनीको दृश्य।

काठमाडौं : बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले केही भिडियो पोस्ट गरिन्। बिहीवार बिहान हुन नपाउँदै भिडियोले समाजिक सञ्जाल ततायो। उनले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेकी थिइन् त्यसबाट।

भिडियो यसरी भाइरल भयो कि प्रहरी नै नै दवावमा पर्ने अवस्था आयो। मानिसहरुले न्यायको खोजीमा प्रहरीको उपस्थिति खोजे। प्रहरीमाथि आलोचना यसरी हुन थाल्यो कि बिहीवार जसरी पनि युवतीलाई शोषण गर्ने युवकलाई पक्राउ गर्नपर्ने दवाव बन्यो। २०७१ साल भदौमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा नयाँ बानेश्वरको एभरेस्ट होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी थिइन्। मनोज पाण्डे नाम गरेका युवकले ८ वर्ष अगाडि उनीमाथि यौन हिंसा गरेका थिए।

प्रहरीलाई अन्य घटनामा जस्तो नाम सार्वजनिक हुने बित्तिकै पाण्डेलाई समात्ने आधार थिएन। आठ वर्ष अघिको घटनाबारे भिडियोमा आएकै कुराको भरमा कसरी समात्नु? फेरि प्रहरीको उही पुरानो संरचना, पीडितले उजुरी नगरी किन अघि सर्ने? यही प्रश्न थियो जसले प्रहरीलाई तत्काल एक्सनमा उत्रिन रोक्यो।

तर, भिडियो र त्यसपछि प्रतिक्रियाका ओइरो यसरी आउन थाल्यो कि प्रहरी केही नगरी अडिने स्थिति रहेन। प्रहरीले कानुनमा भएको छिद्र अर्थात् हद म्याद र पीडितबाट उजुरी समेत नपरेको भन्दै 'टाइम बाइ' गरिरहेको देखिन्थ्यो। यसो हुँदाहुँदै पीडित र पीडकबारे सूचना चाहिँ आफ्नै ढंगबाट प्रहरीले बटुलिरहेको थियो।

यही मुद्दालाई उठाएर शुक्रवार घटनाको विषय झनै तात्यो। जनस्तरबाट चर्को दवाव, प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन, प्रतिनिधिसभामा सांसद गगन थापाको माग र सभामुख अग्नि सापकोटाको निर्देशन – एक पछि अर्को। त्यसपछि गृह मन्त्रालयले छानविनका लागि समिति नै गठन गर्‍यो। महानगरीय अपराध महाशाखाका प्रमुख बसन्त कुँवरको नेतृत्वमा पाँच सदस्य अनुसन्धान टोली गठन भयो। शुक्रवार नै टोलीले पीडित युवतीको घरमा पुगेर उनीसँग छलफल गर्‍यो। यति हुँदा बाहिर र सामाजिक सञ्जालको महोल लगातार तातिरहेकै थियो। कानुमा हद म्यादको व्यवस्थालाई लिएर प्रश्न उठ्न थालेको थियो भने प्रहरीको सक्रियता नभएको भन्दै आलोचना पनि।

मुलुकी अपराध संहिता २०७४ मा बालबालिका सम्बन्धी ऐनले हद म्याद तोकिदिएको छ। नाबालिगका हकमा बालिग भएको एक वर्ष हद म्याद तोकिएको छ। उनी घटना हुँदा १६ वर्ष भएकाले त्यतिखेरको कानुन अनुसार उनी नबालिग थिइन्। तर, जतिखेर उनले यो विषय सार्वजनिक गरिन्, समय धेरै बितिसकेको थियो।

'अरुको मोबाइलमा नै फोन आउँथ्यो। त्यतिमात्र होइन, घरमा र आफन्तले पनि किन नसमातेको भन्दै दवाव दिएका थिए,' यो केसलाई हेरिरहेका एक प्रहरी अधिकृतले सुनाए।

कानुनी प्रकृयाका बारेमा प्रहरीले कानुन विद्हरुसँग छलफल गरिरहेको थियो। आरोपी पाण्डे भने प्रहरी निगरानीमा परिसकेका थिए। उनी शुक्रवार  काठमाडौंभित्र नै लुकेर बसेका थिए। उनले चलाउने मोबाइलको स्विच अफ थियो। प्रहरीले उनी रहेको स्थान लोकेट गरिसकेको थियो।

गृह मन्त्रालयको निर्देशन र जनस्तरबाट आएको चर्को दवावपछि प्रहरीले पाण्डेलाई शनिवार दिउँसो स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लियो। अब प्रहरीले घटनाबारे थप अनुसन्धान गर्नेछ।

अब कसरी बढ्छ अनुसन्धान?

सम्भवत आठ वर्ष अगाडि भएको यौनशोषण र सामाजिक सञ्जालबाट आएको हद म्याद विरुद्धको चर्को दबाबका कारण अभियुक्त सामातिएको यो पहिलो घटना हो। कानुनमा हद म्याद भए पनि सर्वोच्च अदालतका पहिलेका नजिरलाई टेक्दै थप व्याख्या सहित नयाँ नजिर बनाउने घटना पनि बन्नसक्ने देखिन्छ। त्यसैले पनि यस घटनामा प्रहरीको अनुसन्धानको लागि चुनौती र यस्ता घटना अनुसन्धान गर्ने आगामी दिनको लागि अवसर पनि बन्ने देखिन्छ।

त्यस्तै, कानुन संशोधनदेखि न्याय मर्दैन भन्ने कुराको पुष्टि गर्न अदालतको लागि पनि यो घटना नयाँ बन्ने देखिन्छ। प्रहरीले पक्राउ गरेपछि थप अनुसन्धान गर्ने छ। जसको लागि प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका समिति बनेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाउन पीडित युवतीबाट जाहेरी लिनेछ। भोलि जाहेरी लिने तयारी प्रहरीको छ। त्यसपछि प्रहरीले अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट म्याद लिने छ। २४ घण्टा भन्दा बढी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दा अदालतबाट अनुमति लिनुपर्ने हुन्छ। आइतवार सार्वजनिक बिदा भएकाले सोमवार मात्र प्रहरीले म्याद लिनेछ।

जिल्ला अदालत काठमाडौंले म्याद दिन अस्वीकार गर्‍यो भने हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो बन्द हुनेछ। प्रहरीले म्याद थप गर्दा कुन घटनामा गर्ने भन्ने विषयमा समेत कानुनविद्सँग राय लिनेछ यसबिचमा। जवर्जस्ती करणीमा हद म्याद लाग्ने देखिन्छ। त्यसैले मानव बेचविखनमा समेत मुद्दा चलाउने विषयमा छलफल भइरहेको छ। प्रहरीले पाण्डेलाई हिरातमा राख्न जिल्ला प्रशासन कार्यालयबाट पनि अभद्र व्यवहार केसमा म्याद थप्न सक्छ।

तर मानव बेचबिखनमा यौनशोषणको विषय पनि जोडिएकाले मुद्दा चलाउन मिल्ने कानुनविद्ले प्रहरीलाई राय दिएका छन्।प्रहरीले मानव बेचबिखन तथा ‌ओसारपसार ऐन, २०६४ अनुसार प्रमाण संकलन गर्न सुरु गरेको छ। ऐनको दफा ४ उपदफा २ (ख) मा मानवबेचबिखन तथा ओसारपसार गरेको मानिने भनि परिभाषित गरिएको छ।

अदालतले म्याद दिएमा प्रहरीले थप २४ दिनसम्म पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ। यदि मानब बेचबिखन मुद्दामा म्याद लिएर संगठित अपराध गरेको देखिएमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ प्रहरीले। त्यसपछि भने प्रहरीले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँछ। सरकारी वकिल कार्यालयले अनुसन्धान फाइल हेरेर मुद्दा चल्ने देखिएमा मात्र अदालतमा मुद्दा लिएर जान्छ। अदालतमा मुद्दा पुगेपछिमात्र घटनाको अन्तिम टुङ्गो लाग्नेछ।

के छ प्रहरीसँग प्रमाण?

आठ वर्ष पुरानो घटना भएकाले प्रमाण संकलन गर्ने प्रहरीको लागि चुनौतिको विषय बनेको छ। युवतीले दिएको बयान एउटा मुख्य प्रमाण हो अनुसन्धानका लागि। २०७१ सालमा घटना भएको भनिएको छ। घटना नयाँ बानेश्वरको एभरेष्ट होटलमा भएको छ। यदि घटना भएको दिन होटलमा पीडित र पीडक उपस्थित भएको प्रमाण फेला पार्नसके त्यो पनि गतिलो प्रमाण हुनेछ।

पाण्डेले होटलमा करणी गरेको युवतीले भनेकी छिन्। त्यसपछि उनले त्यो घटनाको जानकारी पूर्व मिस नेपाल माल्भिका सुब्बालाई गराएको बताएकी छिन्। जुन कुरा सुब्बाले पनि सामाजिक सञ्जालमै स्वीकारेकी छिन्। अब प्रहरीले पूर्व मिस नेपाल माल्भिका सुब्बासँग पनि बयान लिने तयारी भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए। त्यस्तै, घटनाबारे जानकार फोटोग्राफर र पीडित युवतीका प्रेमीसँग पनि बयान लिनेछ। उनीहरुको बयान पनि प्रमाणका रुपमा प्रहरीले पेस गर्नेछ।

सम्बन्धित समाचार

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

'हद म्याद'बारे नेपालमा न्याय : आँखा बन्द, हात बाँधिएको ​

​ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

न्याय माग्दै स्वतस्फूर्त बालुवाटार घेर्न पुगे युवा : यौन हिंसाविरुद्ध प्रदर्शन

हदम्याद सम्बन्धी कानुन पुनर्विचार गर्न गगन थापाको माग

किशोरी बलात्कार प्रकरण : स्वयम्भूबाट समातिए मनोज पाण्डे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell